राष्ट्रियताको सम्मान कसरी गर्ने ? कामनपाले अपनायो यस्तो उपाय
काठमाडौं–
काठमाडौं महानगरपालिकाले राष्ट्रियताको सम्मान गर्न फरक उपाय अपनाउने भएको छ । विद्यालयस्तरबाट सुरु गरिने यस कार्यक्रम आगामी शैक्षिक सत्रदेखि लागु हुने भएको छ ।
सबै विद्यालयमा राष्ट्रिय झण्डा अनिवार्य राख्नै पर्ने र सबै विद्यालयको नाम देवनागरि लिपिमा हुनै पर्ने महानगरपालिकाको कार्यक्रममा रहेको छ । पछिल्लो समय अधिकांश विद्यालयले अङ्ग्रेजी नाम राखेको हुँदा देवनागरि लिपि अनिवार्य गर्नुपरेको महानगरपालिकाले बताएको छ ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले भने, ‘राष्ट्रियताको सम्मानका लागी निजी तथा सामुदायिक सबै विद्यालयले अनिवार्य रुपमा विद्यालयको प्राङ्गणमा झण्डा राख्नुपर्ने छ ।’
यसका साथै महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि नै सबै सामुदायिक र निजी विद्यालयमा अनिवार्य स्थानिय पाठ्यक्रम लागू गर्ने भएको छ । स्थानियको सबै आवश्यकता केन्द्रिय पाठ्यक्रमले पूरा गर्न नसक्ने भएकाले स्थानिय पाठ्यक्रम आवश्यक रहेको महानगरपालिकाले बताएको छ ।
जसअन्तर्गत, कामनपाले छनोट गरेको पाँच विषयहरु – नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापन र काठमाडौंको पुरानो भाषा र संस्कृतिमध्ये इच्छा अनुसार विद्यालयले एक विषय छनोट गर्न सक्नेछ ।
हाल काठमाडौं महानगरपालिकामा ९१ वटा सार्वजनिक र करिव छ सय ४३ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् भने तिनमा करिव एक लाख ६५ हजार बालबालिका अध्ययनरत छन् ।


प्रतिकृया दिनुहोस