फेरियो मधेस : ओलीको अर्थपूर्ण मधेस सभा
काठमाडौं । केही महिना अघिसम्म केपी ओलीलाई मधेस विरोधी नेता भनेर शशक्त प्रचार गर्ने गरिएको थियो । खासगरी तत्कालीन एमाले र ओली विरुद्ध तराईमधेसमा घृणा अभियान चलाइएको थियो । यो घृणा अभियान यति शशक्त थियो कि तत्कालीन एमालेले चलाएको मेची महाकाली अभियानमा सप्तरीको राजविराजमा सुनियोजित हिँसा समेत गराइएको थियो ।
खासगरी मधेस आधारित पार्टीका नेताहरुले एमाले, एमालेमा पनि खासगरी केपी ओली ‘मधेस विरोधी’ हुन् भन्दै अनेक आरोप लगाउने गरेका थिए । एउटा आरोप निकाल्थे, ओली र एमालेले खण्डन गथर््यो, खण्डन गर्नासाथ अर्काे आरोप लगाउँथे । आफू ‘मधेस विरोधी होइन’ भन्दाभन्दा तत्कालीन एमाले आजित भएको थियो । एमाले र ओली मधेस विरोधी हुन्, जनजाति विरोधी हुन्, दलित र महिलाका विरोधी हुन् भन्ने आरोपको वर्षा हुने दिन थिए ती, अनि खण्डनमा एमालेको दिन बित्थ्यो ।
एमालेलाई तराईमा निषेध गर्ने अभियान मधेस आधारित दलका खासखास नेताहरुले चलाएका थिए । एकीकरणपछि एमाले नेकपामा परिणत भइसकेको छ र मधेस आधारित दलका खासखास नेताहरुले लेखट्नसम्म लखेटेका ती केपी ओली अहिले प्रधानमन्त्री छन् ।
तिनै ओली शनिवार सिराहा पुग्दा उनको कुरा सुन्न ठूलो संख्यामा मानिस उपस्थित भए ।
अर्थात्, दिन फेरियो, राजनीति फेरियो । राजनीति र पानी कहिल्यै स्थिर हुँदैन भन्ने भनाई त्यसै चलेको होइन ।
सिराहामा ओलीले मधेसको विकासको जिम्मा आफूले लिएको र आफूले जति मधेसको हित कसैले नगर्ने ठोकुवा मात्र गरेनन्, केही उदाहरण पनि दिए । उनले दिएको मुख्य उदाहरण थियो— तराईका जिल्ला सरमुकामहरुलाई महेन्द्र राजमार्गसम्म जोड्ने राजमार्गको स्तरोन्नति । राजमार्ग स्तरोन्नति परियोजनाले मधेसको विकासमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ । यसबाहेक ओलीले अरु अनेक विकास परियोजनाका उदाहरण दिए ।
राजमार्ग स्तरोन्नतिको परियोजना ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा थालेका थिए । एकातिर ओलीले मधेसको विकासमा क्रान्तिकारी सावित हुने परियोजना अगाडि सारे, अर्कातिर उनी ‘मधेस विरोधी हुन्’ भन्ने अभियान झन जोडतोडसाथ चलाइएको थियो ।
आफूहरु विरुद्ध चलाइएको अभियानको काउन्टरमा एमालेगण भन्थे— ‘चुनावमा हामी देखाइदिन्छौं, मधेसमा हामी नै मुख्य शक्ति हौं ।’ एमालेको यस्तो दावी नपत्याउनेहरुको बोलवाला थियो । नभन्दै चुनावमा मधेसमा, खासगरी दुई नम्बर प्रदेशमा एमाले बलियो शक्ति ठहरियो ।
दुई नम्बर प्रदेश तथा समग्र मधेसमा माओवादीको अवस्था नराम्रो थिएन तर एमाले विरोधी अभियान भने निकै कडा थियो । दुई नम्बर प्रदेशका चुनावी सभामा ओली देखिएका थिएनन् । संविधान जारी भएको केही महिनासम्म घृणा अभियान चल्यो, चुनावी अभियानको गति बढेसँगै घृणा अभियान निस्तेज हुँदै गयो ।
अब ती दिन लगभग सम्झनामा मात्र सीमित रहने अवस्था आएको छ । शनिवार ओलीको सिराहा सभामा ठूलो संख्यामा मानिस उपस्थित थिए । पार्टी एकीकरणपछि नेकपाको संगठनात्मक शक्ति बढ्नु स्वाभाविक हो । तर, मधेसमा ओलीको उपस्थितिलाई विगतसँग पनि जोडेर हेर्नुपर्ने हुन्छ । त्यतिविध्न घृणा अभियान चलाइएका तथा त्यस्तो अभियानका सिकार बनेका ओली मधेसमा ‘हाईहाई’ हुन थालेका छन् ।
ओलीले सिराहा सभामा एउटा खास घोषणा गरेका छन्— वृद्धभत्ता बढाउने । उनले यस्तो घोषणा काठमाडौंमै अथवा सिंहदरबारमा बसेर पनि गरिदिन सक्थे तर मधेस नै छान्नुलाई अर्थपूर्ण मान्न सकिन्छ । ओलीले आउँदो आर्थिक वर्षबाट वृद्धभत्ता बढाइने बताएका छन् । यसको अर्थ आउँदो वजेटबाट वृद्धभत्ता बढाइने छ ।
नेपाली समाजमा विगतमा सुनियोजित रुपमा चलाइएको घृणा अभियानको एउटा अध्याय सकिएको छ । ओलीको सिराहा सभाले मधेसको मानसिकता फेरिएको र घृणा अभियान चलाउनेहरु कमजोर बनेको संकेत गरेको छ ।
याे पनि पढाैं-


प्रतिकृया दिनुहोस