एएफसी फुटसल छनोट : नेपालको पहिलो खेल ताजिकिस्तानसँग
काठमाडौं । एएफसी फुटसल च्याम्पियनसिपको छनोटको पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग खेल्ने भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले २३ अक्टोबरमा पहिलो खेल ताजिकिस्तानसँग खेल्ने भएको हो ।
अक्टोबर १६ देखि २७ सम्म हुने छनोटमा नेपाल कठिन समूह ‘ए’ मा परेको छ । सेन्टर र साउथ जोनमा रहेको नेपालको समूहमा उज्वेकिस्तान र अफगानिस्तान छन् ।
दोस्रो खेलमा नेपालले २४ अक्टोवरमा उज्वेकिस्तानसँग खेल्ने छ । त्यसैगरी समूहको अन्तिम खेल अन्तर्गत नेपालले २५ अक्टोबरमा अफगानिस्तानको सामना गर्ने छ ।
छनोट प्रतियोगिताबाट शीर्ष टोली फाइनल चरणमा पुग्ने छन् । फाइनल खेल फेब्रुअरी २७ देखि मार्च ८ सम्म तुर्केमिनिस्तानमा हुने छ ।
च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ अन्तर्गतको फुटसल कमिटीले खेलाडी छनोट प्रक्रिया सुरु गरेको छ ।
एन्फाका अनुसार छनोट भएका उत्कृष्ट ३० खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर फेरि अन्तिम चरणको छनोट गरिने छ । एएफसी फुटसल च्याम्पियनसिपका लागि छनोट खेल इरानमा हुनेछ ।
नेपालमा पछिल्लो समय फुटसल पनि पुटबल र क्रिकेट जस्तै लोकप्रिय बन्दै गएको छ । नेपालमा २०६८ सालदेखि फुटसल सुरु भएको हो ।



प्रतिकृया दिनुहोस