प्रतिनिधि सभा वैठकमा बन्यो अर्काे नकारात्मक कीर्तिमान
काठमाडौं । प्रतिनिधिसभाले अर्काे एउटा नकारात्मक कीर्तिमान बनाएको छ । एकै दिन एउटै वैठकमा दुई पटक अवरोध भएको छ ।
पहिलो अवरोध राजपाले गरेको हो भने दोस्रो अवरोध प्रमुख प्रतिपक्षी कांग्रेसले गरेको हो ।
राजपाले तीन दिनदेखि प्रतिनिधिसभा वैठक अवरुद्ध गरिआएको थियो । गिरिशचन्द्र लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले वैठक अवरुद्ध गरेको थियो । सोमबार वैठकमा कानून मन्त्री भानुभक्त ढकालले प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता गरे ।
उनको प्रतिवद्धतापछि राजपाले अवरोध गरेन । अर्थात्, राजपाको अवरोध सकियो ।
तर, कांग्रेस सांसदहरु बसेको ठाउँबाट उठेर अवरोध थाले । सभामुख कृष्णबहादुर महराले ‘माननीय सदस्यहरुको केही छ ?’ भनेर सोधे ।
सभामुखले कांग्रेसका सञ्जय गौतमलाई बोल्न समय दिए । गौतमले प्रधानमन्त्रीले सदनलाई बेवास्ता गरेको, संसद वैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम रोकिएकोमा आपत्ति जनाए ।
गौतमले बोलिन्जेल कांग्रेस सांसदहरु बसे तर बोलिसक्नासाथ उभिए ।
त्यसपछि सभामुखले संक्षिप्त रुलिङ (निर्देशन) जारी गरे । उनले भने– ‘माननीय सदस्यहरु, नियमावलीको उक्त व्यवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदछु ।’
त्यसपछि महराले भने– ‘माननीय सदस्यहरु बसिदिनिुस् ।’ कांग्रेस सांसदहरु बसे । अवरोध सकियो । वैठक अगाडि बढ्यो । यसरी एकै दिन एउटै वैठकमा दुई फरक पार्टीले लगातार वैठक अवरुद्ध गरे ।
यो कीर्तिमान नै हो ।


प्रतिकृया दिनुहोस