इङ्लिस प्रिमियर लिगमा लिभरपुलकाे विजयी सुरुआत
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा साविकको उपविजेता लिभरपुलले सानदार सुरुआत गरेको छ । नयाँ सिजनको पहिलो खेलमा नर्विच सिटीलाई ४–१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले शानदार शुरुवात गरेको हो ।
घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले पहिलो हाफमा नै ४–० को अग्रता बनाएको थियो ।
दोस्रो हाफमा लिभरपुलले गोल गर्न सकेन । नर्विचले भने एक गोल फर्कायो ।
लिभरपुलले उपहार गोलको मद्दतमा १–० को अग्रता लिएको थियो । खेलको सातौं मिनेटमा नर्विचका कप्तान ग्रान्ट हेन्लीले आफ्नै पोष्टमा गोल गरेपछि लिभरपुलले अग्रता लिएको हो ।
यो सँगै प्रिमियर लिगकै उद्घाटन खेलमा भएको पहिलो गोल नै आत्मघाती भएको छ ।

मोहमद सलाहाले १९ औ मिनेटमा गोल गर्दैै लिभरपुलको अग्रतालाई दोब्बर बनाए ।
भर्जिल भान डिजिकले २८ औ मिनेटमा लिभरपुलका लागि तेस्रो गोल गरे । कर्नरबाट आएको बललाई उनले हेडमार्फत गोल गरेका थिए ।
डिभोक ओरिजीले ४२ औ मिनेटमा लिभरपुललाई ४–० को स्थितिमा र्पुयाए । ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डको लामो पासलाई सदुपयोग गर्दै ओरिजीले गोल गर्न सफल भएका थिए ।
६४ औ मिनेटमा नर्विच सिटीका लागि टिमु पुक्कीले गोल गरेका थिए ।
जितसँगै प्रिमियर लिगको उपाधि दाबेदार लिभरपुलले ३ अंक जोडेको छ ।
लिग अन्तरगत आज शनिबार ६ खेल हुँदैछन् ।
इङ्लिस प्रिमियर लिग फुटबल हिजोदेखि सुरु भएको हो ।


प्रतिकृया दिनुहोस