• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

सोमपालको टिमसँग हार्‍याे टोरन्टो, सन्दीपले लिए २ विकेट

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । स्टार लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टोरन्टो नेशनल ग्लोबल टी–ट्वान्टी क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । शुक्रबार बिहान भएको एलिमिनेटर खेलमा  विन्नीपेग होक्ससँग २ रनले हारेपछि टोरन्टो प्रतियोगिताबाट बाहिरिएको हो ।

विन्नीपेगबाट सोमपालले खेल्ने मौका भने पाएका थिएनन् । उनले टिमबाट अहिलेसम्म एउटा मात्रै खेल खेलेका छन् । 

टोरन्टोले दिएको २ सय ३९ रनको लक्ष्य पछ्याएको होक्सले १७ ओभर १ बलमा २ सय १ रन बनाउँदा मौसम खराब भएपछि खेल रोकियो  । पुनः खेल सुरु हुन नसकेपछि डकवर्थ लेविस नियमका आधारमा हक्स २ रनले विजयी भयो । होक्सका लागि जेपी डुमिनीले नटआउट ८५ रन बनाए ।

टिम हारेपनि सन्दीपले भने दुई विकेट लिन सफल भए । चार ओभर बलिङ गरेका सन्दीपले ३४ रन खर्चिएर दुई विकेट लिएका हुन् । तेस्रो ओभरमा बलिङमा आएका सन्दीपले पहिलो बलमा नै पाकिस्तानी खेलाडी उमर अकमललाई स्टम्पिङ आउट गराएका थिए । त्यसपछि उनले १३ औं ओभरमा २९ बलमा ३६ रन बनाएर खेलिरहेका भारतीय खेलाडी सन्नी सोहेललाई क्याच आउट गराए  ।

यो सँगै लिगमा ४ खेल खेलेका सन्दीपले अहिलेसम्म ५ विकेट लिए  । यसअघि उनले पहिलो खेलमा सन्दीपले ४ ओभरमा ४४ रन दिएर १ विकेट लिएका थिए । त्यस्तै दोस्रो खेलमा ४ ओभरमा २८ रन १ विकेट लिएका थिए । त्यसैगरी  तेस्रो खेलमा ३ ओभरमा २५ रन दिएर १ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको टोरन्टोले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो । उसका लागि हेनरिक क्लासेनले नटआउट १ सय ६ रन र रोड्रिगो थोमसले ७३ रन बनाए ।

होक्सले अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा ब्राम्पटन उल्भ्ससँग प्रतिष्पर्धा गर्नेछ । उल्भ्स बिहीबार राति भएको पहिलो क्वालिफायरमा भ्यानकुभर नाइट्ससँग ७७ रनले हारेको थियो । भ्यानकुभर प्रतियोगिताको फाइनलमा पुगिसकेको छ ।

प्रतिकृया दिनुहोस