• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नेपालमा काेभिड देखिएका १० जनामा देखियाे कालो ढुसी, जाेगिन के गर्ने ?

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । नेपालमा अहिलेसम्म १० जना काेभिड संक्रमितमा कालो ढुसी अर्थात म्यकुरमाइकोसिस देखिएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले साे जानकारी दिनुभएकाे हाे । मन्त्रालयकाे नियमित काेभिड ब्रिफिङमा प्रवक्ता डा.पौडेलले भन्नुभयाे - 'नेपालमा हालसम्म करिब १० जनामा कालो ढुसी अर्थात म्यकुरमाइकोसिस देखिएकाे छ ।'  कोरोना संक्रमण भई उपचाररत र निको भएका गरी दश जनामा कालो ढुसीको संक्रमण देखिएकाे उहाँले बताउनुभयाे । 

कालाे ढुसीको संक्रमण भएका बिरामीहरुमा ज्वरो निरन्तर आइरहने, अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने, नाकबाट रगत बग्ने, बाक्लाे सिंगान बग्ने, दाँत दुख्ने लगायत लक्षण देखिने पाैडेलले बताउनुभयाे ।

४५ देखि ६५ उमेर समूह, मधुमेह तथा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु, धेरै किसिमको एन्टीबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेहरुमा याे संक्रमण देखिन सक्ने उहाँले बताउनुभयाे । 

यो संक्रमण कमै मात्र देखिने भन्दै पाैडेलले संक्रमण गम्भीर भए प्राणघातक समेत हुन सक्ने बताउनुभयाे । कालाे ढुसी एक जनाबाट अर्काेमा सर्ने नभइ राेग प्रतिराेधात्मक क्षमता कमजाेर भएका अवस्थामा माैका छाेपेर हुने संक्रमण भएकाे डा.पाैडेलले बताउनुभयाे ।

यसबाट जाेगिन सरसफाइमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयाे । एन्टीबायोटिक र स्टेरोइड औषधि चिकित्सकको परामर्श अनुसार मात्र प्रयोग गर्न उहाँले अनुराेध गर्नुभयाे । यसबाट बच्न सफा र सुख्खा मास्कको प्रयोग गर्न, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्न, नियमित रुपमा हात धुन, धेरै धुलो भएको र ओसिलो ठाउँमा नजान, जथाभावी एन्टीबायाेटिक प्रयाेग नगर्न, नुनपानीले नाक र घाँटी सफा गर्न, हाेम आइसाेलेशनमा बस्नेहरुसहित सबैले सरसफाइमा ध्यान दिन उहाँले आग्रह गर्नुभयाे ।

प्रतिकृया दिनुहोस