• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

ओलीको भाषण विश्लेषण : हल्ला र सल्लाह धेरै नगरी मन्त्रिमण्डल पुनर्गठन

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता


काठमाडौं । सदाबहार विषय हो मन्त्रिमण्डल पुनर्गठन । यो विषयलाई निरन्तर निस्तेज बनाइरहेका छन् प्रधानमन्त्री केपी शर्मा ओलीले । आइतबार विराटनगर पुगेर प्रधानमन्त्री ओलीले भाषण गरे– मन्त्रिमण्डल फेरबदल हुँदैन ।

०६३ सालपछि ओली नै यस्तो प्रधानमन्त्री हुन् जसले मन्त्रिमण्डललाई यति लामो समय स्थिर राखेका छन् । केपी ओली प्रधानमन्त्री बनेको १३ महिना भयो । यति लामो अवधी पुर्नगठनरहित मन्त्रिमण्डल चलाउने उनी पहिलो प्रधानमन्त्री हुन् ।

ओली मन्त्रिमण्डलले यस बीचमा दुईटा दुर्घटना भोग्यो । एउटा हो हेलिकोप्टर दुर्घटना, अर्काे हो जिब्रो दुर्घटना । हेलिकोप्टर दुर्घटनामा पर्यटन मन्त्री रविन्द्र अधिकारीले ज्यान गुमाए । जिब्रो दुर्घटनामा मन्त्रिमण्डलका प्रतिभाशाली र सक्षम सदस्य शेरबहादुर तामाङले पद गुमाए ।

यी दुई दुर्घटना बाहेक प्रधानमन्त्री ओलीले मन्त्रिमण्डललाई निरन्तर स्थिर राखेका छन् । ओलीले यो मामिलामा कीर्तिमान नै बनाइसकेका छन् ।

प्रधानमन्त्री बनेपछि ओलीले मन्त्रिमण्डल पुनर्गठनको हल्लालाई दुई पटक खण्डन गरेका छन् । 

पहिलो खण्डनको अन्र्तकथा

 २१ भदौमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जान त्रिभुवन विमानस्थल पुगे । विमानस्थलमा उनले सञ्चारकर्मीहरुसँग मन्त्रिमण्डल पुनर्गठन हुन लागेको बताए । 

प्रधानमन्त्री छन् केपी ओली, पुनर्गठन हुन लागेको बताउँछन् पार्टीका नेता । अनौठो अवस्था उत्पन्न भयो । 

नेकपाका एक प्रभावशाली नेताका अनुसार त्यसबेला अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई मन्त्रिमण्डल पुनर्गठन गर्न लगातार दवाब दिइरहेका थिए । प्रचण्डले गृहमन्त्री रामबहादुर थापा वादललाई हटाउन चाहेका थिए । ती नेताका अनुसार ओलीले आनाकानी गरिरहेका थिए । वादललाई हटाउँदा मन्त्रिमण्डलको सुस्थिरता भंग हुन्छ भन्ने चिन्ता थियो ओलीलाई तर वादललाई टिकाइरहनुपर्छ भन्ने पक्षमा पनि खासै थिएनन् ।

प्रचण्डले विमानस्थलमा मन्त्रिमण्डल पुनर्गठन हुने बताउनासाथ राजनीतिक वृत्तमा हलचल मच्चियो ।

उच्च स्रोतका अनुसार त्यो रात प्रधानमन्त्री ओली र गृहमन्त्री वादल बीच विशेष भेटघाट भयो । भोलिपल्ट गृहमन्त्री थापा गोरखा गए । दिउँसो गोरखा पुगेर उनले ‘मन्त्रिमण्डल पुनर्गठन हुँदैन’ भने । 

त्यहि दिन प्रधानमन्त्री ओलीले पनि भक्तपुरमा आयोजित एउटा कार्यक्रममा मन्त्रिमण्डल पुनर्गठनको हल्लाको पछाडि नलाग्नु भने । उनीहरुले मन्त्रीहरुलाई ढुक्कसँग काम गर्न पनि भने । 

भारतबाट फर्किएपछि प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन प्रधानमन्त्रीको विशेषाधिकार भएको र प्रधानमन्त्रीले नचाहनुभएपछि पुनर्गठन हुँदैन भने । यसरी मन्त्रिमण्डल पुनर्गठनको नाममा गृहमन्त्री थापालाई हटाउने प्रचण्डको प्रयास असफल भएको थियो ।

तुहिएको दोस्रो पुनर्गठन 

एक महिना यता मन्त्रिमण्डल पुनर्गठनको हल्ला जोडतोडसाथ चलिरहेको थियो । यसको कारण थियो– सरकारले एक वर्ष पूरा गर्नु । एक वर्ष पूरा भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्छ भन्ने धारणा नेकपाभित्र एकथरीले राखिरहेका थिए । 

अध्यक्ष प्रचण्ड पहिलेदेखि नै मन्त्रिमण्डल पुनर्गठनको पक्षमा थिए । तर, प्रधानमन्त्री ओली चाहिँ मन्त्रिमण्डल पुनर्गठन गर्ने हो भने अस्थिरता निम्तिन्छ र आफू कमजोर बनिन्छ भन्ने ठान्छन् । यही कारण उनी पुनर्गठन टार्दै आइरहेका छन् । 

पुनर्गठनका लागि शशक्त प्रयास पछिल्लो दिनमा पार्टी एकता प्रकृया अगाडि बढाइएसँगै भएको थियो । चैत १ भित्र पार्टी एकता प्रकृया पूरा गर्ने भनिएको थियो । अमेरिका उड्नु अघि नै मन्त्रिमण्डल पुनर्गठन गर्ने पक्षमा थिए अध्यक्ष प्रचण्ड । तर, प्रधानमन्त्री ओलीले पार्टी एकता प्रकृया टुंगोमा पुराएर मात्र पुनर्गगठन गर्न चाहे । 

प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन तत्काल नगर्ने स्पष्ट पारेका छन् । अर्थात्, १३ महिनामा उनले दोस्रो पटक खण्डन गरेका छन् मन्त्रिमण्डल पुनर्गठन विषयलाई । दोस्रो खण्डन पनि प्रचण्डको अभिव्यक्तिलाई लक्षित गरेर नै गरेका छन् । प्रचण्डले विराटनगरमा तीन दिन अघि मन्त्रिमण्डल पुनर्गठन बारेमा प्रधानमन्त्री ओलीसँग छलफल भइरहेको बताएका थिए । त्यसको खण्डन प्रधानमन्त्री ओलीले विराटनगर पुगेरै गरिदिएका छन् ।

पुनर्गठन हुँदैन त ?

मन्त्रिमण्डल पुनर्गगठन अपरिहार्य छ, प्रधानमन्त्री ओलीले पुनर्गगठनका लागि धेरै समय दवाब झेल्न सक्दैनन् । तर, उनी अहिले पुनर्गठन गर्न सक्ने अवस्था छैनन् । यसको मुख्य कारण हो केही दिनपछि हुन गइरहेको लगानी सम्मेलन । सो सम्मेलनमा धेरै मन्त्रालय र मन्त्रीहरुको प्रत्यक्ष संलग्नता छ । पुनर्गठन भयो भने पनि लगानी सम्मेलनपछि मात्र हुनसक्छ ।

ओलीले मन्त्रिमण्डल पुनर्गठनलाई आफ्नो रक्षा कवच बनाइरहेका छन् । प्रधानमन्त्री ओलीको स्वभावलाई निकटबाट नियालिरहेका उनको सचिवालयका एक सदस्य भन्छन्– ‘हल्ला र सल्लाह धेरै नगरी प्रधानमन्त्रीले पुनर्गठन गर्नुहोला जस्तो लाग्छ ।’

प्रतिकृया दिनुहोस