नेपालमा काेभिड संक्रमणदर १७.५ प्रतिशतले घट्यो, जाेखिम कायमै
काठमाडाैं । नेपालमा काेभिड-१९ संक्रमितकाे संख्या घट्दै गएकाे छ ।
केही दिन यता दैनिक रुपमा कोभिड संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएकाे छ । पछिल्लो साता नेपालमा कोभिड संक्रमितको संख्या १७.५ प्रतिशतले कम भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको पत्रकार सम्मेलनमा धुलिखेल अस्पतालका सरुवा रोग विशेषज्ञ डा. विराज कर्माचार्यले अघिल्लो साता भन्दा यो साता १७.५ प्रतिशतले संक्रमितको संख्यामा कमी आएको बताउनुभयाे । ६ वटा प्रदेशमा संक्रमितको संख्या घटेपनि गण्डकी प्रदेशमा भने ५०.८ प्रतिशतले संक्रमितको संख्या बढेको उहाँले बताउनुभयाे ।
संक्रमण दर घट्दै गएपनि संक्रमणको जोखिम भने कम नभएको उहाँकाे भनाइ छ । नेपालमा अहिले पनि टेस्ट पोजेटिभिटी निकै नै धेरै भएको कर्माचार्यले बताउनुभयाे । नेपालको टेष्ट पोजेटिभिटि करिब ३७ दशमलव ७ प्रतिशत रहेकाे उहाँले जानकारी दिनुभयाे । अर्थात १ सय जनाकाे परीक्षण गर्दा ३७ जनामा संक्रमण देखिएकाे अवस्था अहिले रहेकाे बताउनुभयाे । उहाँका अनुसार छिमेकी भारतमा १० दशमलव ४ प्रतिशत छ । टेस्ट पोजेटिभिटी ५ वा त्यो भन्दा कम हुनुलाई राम्रो मानिने उहाँले बताउनुभयाे ।
टेस्ट पोजेटिभिटी बढी देखिनु भनेको समुदायमा संक्रमितको संख्या अझै धेरै छ भन्ने बुझिएकाले समुदायमा टेस्टकाे दायरा बढाउनुपर्नेउहाँले बताउनुभयाे । यसका लागि स्थानीय निकायहरु पनि सक्रिय हुनुपर्ने बताउनुभयाे । समुदायमा कन्ट्याक ट्रेसिङ पनि बढाउनुपर्ने कर्माचार्यले बताउनुभयाे ।
संक्रमण दर गत भन्दा कम हुन थालेकाे पुष्टि भएपनि जाेखिम कायमै रहेकाले सतर्क रहन उहाँले सुझाव दिनुभयाे । जनस्वास्थ्यका मापदण्ड पालना नगरे फेरि संक्रमण बढ्ने उहाँले बताउनुभयाे । संक्रमण कम हुँदै जाँदा ६ कुरामा ध्यान दिनुपर्ने उहाँले बताउनुभयाे ।
काेभिड संक्रमणकाे निगरानी गर्ने, जनस्वास्थ्य तथा स्वास्थ्य सेवाकाे क्षमता बढाउदै जाने, समुदायमा सावधानी बढाउने,सीमा व्यवस्थापनका उपाय अपनाउने, खाेपकाे व्यवस्था गर्ने र तथ्यांककाे संकलन र त्यसकाे सही उपयाेग गर्नुपर्ने उहाँले बताउनुभयाे ।


प्रतिकृया दिनुहोस