• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

तरकारी, फलफूल र खाद्यान्नकाे विषादी जाँच्न प्रयाेगशाला राखिने

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

– कृष्ण दवाडी /

कास्की । तरकारी, फलफूल, खाद्यान्नमा भएकाे विषादी परीक्षण गर्न गण्डकी प्रदेशका दुई प्रमूख नाका तनहुँको आँबुखैरेनी र स्याङ्जाको मालुङ्गामा विषादी मापन प्रयोगशाला स्थापना गरिने भएको छ । विषादी अवशेष पत्ता लगाउने प्रयोगशाला स्थापना गरीे प्रदेशमा भित्रिने तरकारी तथा फलफूलको गुणस्तर परीक्षण गर्ने भएको हो । 

सरकारले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी मापदण्डभन्दा बढी विषादी प्रयोग भएका पाईएमा नष्ट गर्ने उद्धेश्य राखेको छ । तरकारी, फलफूल, खाद्यान्नको विषादी परीक्षणका साथै निर्धारित गुणस्तर अनुसारका पशुपंक्षी तथा पशुजन्य पदार्थको मात्र आयात गर्ने तयारी सरकारको छ । 

प्रयोगशालाको लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले स्याङ्जाको मालुङ्गामा १४ रोपनी जमीनको व्यवस्था गरेको जनाएको छ । प्रयोगशाला राख्न जमीनको प्रबन्ध भएपनि पूर्वाधार निर्माणमा समय लाग्ने भएकोले तत्कालका लागि घर भाडामा लिएर चैत दोस्रो हप्ताभित्रमा प्रयोगशाला स्थापना गर्ने मन्त्री लेखबहादुर थापाले जानकारी दिए । 

आँबुखैरेनीमा पनि प्रयोगशाला राख्ने तयारी गरिएको छ । गोरखालाई पनि समेट्नुपर्ने भएकाले मुग्लिन पुलदेखी आँबुखैरेनीसम्मको क्षेत्रमा प्रयोगशाला स्थापनाको काम अघि बढेको उनले बताए । उनका अनुसार उक्त क्षेत्रमा सार्वजनिक जमीन खोजी भईरहेको र तत्कालका लागि घर भाडामा लिएर भएपनि प्रयोगशाला स्थापना गरिनेछ । 

सरकारले दुवै स्थानमा प्रयोगशालाका लागि चालू आर्थिक वर्षमा रु एक करोड बजेट बिनियोजन गरेको छ । मन्त्री थापाले भने, “विषादी प्रयोग गरिएका तरकारीबाट मानव स्वास्थ्यमा गम्भिर असर पर्ने भएकाले त्यसको रोकथाम गर्न यहाँ भित्रिने फलफूल, तरकारी, खाद्यान्नमा प्रयोग भएको विषादीको मात्रा पत्ता लगाउन प्रयोगशाला स्थापना गर्न लागेका हौँ ।” 

हाललाई तरकारी र फलफूलको परीक्षण गर्ने प्रयोगशालाको रुपमा प्रयोग गरेपनि आगामी वर्षमा प्रदेशको आन्तरिक क्यारेन्टाईन चेक पोष्टको रुपमा विकास गरिने मन्त्रालयका कृषि महाशाखा प्रमुख माधव लम्सालले जानकारी दिए- “प्रयोगशालामा तरकारी र फलफूलको नमूना लिएर परीक्षण गर्छौँ ।” 

लम्सालका अनुसार सरकारले जारी गरेको मापदण्डमा तरकारीमा विषादीको निषेध दर ३५ प्रतिशतसम्म भेटिएको अवस्थामा त्यसलाई खानयोग्य हुने मानिएको छ । त्यस्तै ३५ देखि ४५ प्रतिशतसम्म भेटिएमा त्यस्ता तरकारी केही समय चिस्यान केन्द्रमा राखेर पखालेर खान उपयुक्त हुन्छ । विषादीको दर ४५ प्रतिशतभन्दा बढी भेटिएमा त्यसलाई तत्काल नष्ट गर्नुपर्ने उल्लेख छ । 

प्रयोगशालामा प्राविधिकसहित हाललाई सात जनाको दरबन्दी रहने मन्त्रालयले जनाएको छ । प्रदेशको राजधानी पोखरामा रहेको कृषि उपज थोक बजारमा दैनिक १०० देखी १२० मेट्रिक टन सम्म तरकारी भित्रिने गरेको निमित्त बजार व्यवस्थापक रुपा दाहालले जानकारी दिए । 

त्यस्तै फलफूल दैनिक ७० देखी ८० मेट्रिक टन आउने गरेको छ । धादिङ, चितवन, मकवानपूर, सर्लाही, कपिलबस्तु र पाल्पाबाट सो बजारमा फलफूल र तकारी आउने दाहालले बताए । सरकारले प्रदेशका नाकामा प्रयोगशाला स्थापना गरेपनि गाउँगाउँबाट कृषकले बजारमा बिक्रीवितरणका लागि ल्याउने तरकारीको विषादी मापन गर्ने भनेपनि प्रदेशभित्रै उत्पादन खाद्यान्नको विषादी परीक्षण भने चूनौतीपूर्ण छ । 

प्रतिकृया दिनुहोस