• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

प्रचण्ड एक महिनादेखि वालुवाटार धाउँदै

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री निवास वालुवाटारमा करिब एक महिनादेखि लगातार गइरहेका छन् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । अर्का अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच सरकार सञ्चालन सम्वन्धमा छलफल त हुन्छ नै, तर उनी एक महिनादेखि लगातार वालुवाटार जानुको कारण चाहिँ पार्टी एकता प्रकृया हो ।

‘काठमाडौं उपत्यका बाहिर गएको बेलामा बाहेक हरेक दिन वालुवाटार गएर प्रधानमन्त्री ओलीसँग छलफल गरिरहनुभएको छ,’ प्रचण्ड निकट एक नेताले बताए । 

एक महिनादेखि छलफल गरे पनि पार्टी एकीकरण प्रक्रिया अगाडि बढेको छैन । पार्टीका तल्ला तह र कमिटीहरु तथा भ्रातृ संगठनहरुको एकीकरण हुन सकेको छैन । यही एकीकरणका लागि दुई नेता निरन्तर वैठक गरिरहेका छन् । 

‘बिहीबार पनि दुई अध्यक्षबीच वालुवाटारमा वैठक थियो’– प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए– ‘दुई अध्यक्षले वालुवाटारमा धेरै पटक सँगै खाना खाइसक्नुभएको छ।’

नेकपाको एकीकरण प्रकृयालाई पूर्णता दिन एक कार्यदल पनि बनाइएको थियो तर कार्यदल असफल भयो । पार्टीभित्रका विभिन्न गुटले आफ्नो स्वार्थ हेर्दा एकीकरण प्रकृया अगाडि नबढेको प्रष्ट छ । कार्यदलले पनि एकीकरणका लागि सैद्धान्तिक मापदण्ड बनाउन सकेन । बरु, आफ्ना मानिस पदमा पुग्ने गरी मापदण्ड बनाउन खोज्दा कार्यदल असफल भयो ।

प्रचण्ड केही दिनमा निजी भ्रमणमा अमेरिका जाँदैछन् । पत्नी सीता दाहालको उपचारका लागि जान लागेका हुन् । जानकार स्रोतहरुका अनुसार अमेरिकाको भीसा प्राप्त भइसकेको छ र अमेरिकाले पनि ‘कुनै खतरा छैन, आए हुन्छ’ भनेको छ । उपचारका लागि जाने भएकाले प्रचण्डको बसाई लामै हुने देखिएको छ । यही कारण प्रचण्ड अमेरिका जानु अघि नै एकीकरणलाई पूर्णता दिने र मन्त्रिमण्डल पुर्नगठन गर्ने पक्षमा छन् । 

नेकपाका उच्च नेताहरुका अनुसार एकीकरणमा गुटको लडाईं केपी र प्रचण्डबीच मात्र छैन, माधव खेमा पनि जमेर लागेको छ । अर्थात्, मुख्य तीन पक्षमा सन्तुलन मिलाउन मुश्किल भएको छ ।

‘एकले अर्काे पक्षलाई गलाउने र लतार्ने प्रयास भइरहेको छ, यही कारण एकीकरण प्रकृयालाई अन्तिम रुप दिन नसकिएको हो’– ती नेताले भने । तर, एकले अर्काेलाई जति लतार्न खोजे पनि एकीकरणको मापदण्ड र व्यक्ति चयनका धेरै काम सकिएको बताइन्छ । 
    
‘केही दिनमा एकीकरण प्रकृयाले सार्थक रुप पाउने छ’– नेकपाका नेताहरुको दावी छ ।
 

प्रतिकृया दिनुहोस