• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

विश्वप्रकाशलाई कांग्रेस प्रवक्ताबाट हटाउने प्रयास 

विक्रम केसी

विक्रम केसी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा अप्ठेरोमा फसेका छन् । विप्लव समूहसँग ‘वार्ता हुनुपर्छ’ शब्द उच्चारण गरेकाले अप्ठेरोमा फसेका हुन् ।

शर्मालाई प्रवक्ता पदबाट हटाउन सभापति शेरबहादुर देउवामाथि दवाब बढेको छ । स्रोत अनुसार सभापति निकटहरुको एउटा जमातले शर्मालाई प्रवक्ताबाट हटाउन पहिले देखि नै प्रयास गरिआएको थियो । 

शर्माले बुधबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा विप्लव समूहसँग वार्ता गरिनुपर्छ भन्ने धारणा राखेका थिए । सोही दिन पार्टी सभापति शेरबहादुर देउवाले विराटनगरमा सञ्चारकर्मीहरुसँग बोल्दै विप्लव समूहको गतिविधिमा रोक लगाउने सरकारको निर्णयको समर्थन गरेका थिए ।

शर्माले पनि सरकारले गरेको निर्णयको विरोध गरेका थिएनन् तर वार्ता हुनुपर्छ पनि भनेका थिए । सभापतिले ‘वार्ता हुनुपर्छ’ शब्द उच्चारण नगरेको अवस्थामा प्रवक्ताले किन उच्चारण गरे ? यही प्रश्नमा अहिले विवाद झिकिएको बुझिन्छ ।

खेल के हो ?

देउवा र शर्मा बीच ‘वार्ता’ शब्दको मात्र फरक छ । सभापति देउवाले ‘वार्ताको पनि प्रयास हुनुपर्छ’ भन्नासाथ कांग्रेसको आधिकारिक लाइनमा धेरै फेरबदल आउँदैन । तर, देउवा यसका लागि तयार छैनन् । किनभने उनले विराटनगर विमानस्थलमा वार्ता हुनुपर्छ भनेका थिएनन् । 

यही बहानामा प्रवक्ता शर्मालाई हटाउने प्रयास सुरु भएको बुझिन्छ । कांग्रेसका एक केन्द्रीय सदस्यले सनराइज खबरलाई बताए विप्लव समूहको गतिविधिमा रोक लगाउने सरकारी निर्णय आएपछि शेरबहादुर देउवालाई ०५८ सालमा लिएको लाइन अहिले पनि नछाड्न उनी निकटहरुले सुझाव दिइरहेका छन् । 

०५८ मंसिरमा माओवादी जनयुद्धलाई कारण देखाउँदै पहिलो पटक संकटकाल लगाइँदा देउवा प्रधामन्त्री थिए । ६ महिना भन्दा संकटकाल नथप्ने पक्षमा गिरिजाप्रसाद कोइराला पक्ष उभियो, कांग्रेस केन्द्रीय समितिले संकटकाल नथप्ने निर्णय गर्यो । देउवाले पार्टी निर्णय विपरित संकटकाल थप गरे। फलत कांग्रेस फुटेको थियो । कांग्रेस फुट्दा गिरिजाप्रसादको पक्षमा थिए विश्वप्रकाश ।

देउवा त्यसबेला लिएको लाइन अहिले पनि छाड्ने पक्षमा छैनन्, त्यसैले प्रवक्ता शर्माले वार्ता हुनुपर्छ भन्नुलाई आपत्तिको विषय मान्छन् ।

देउवालाई पहिले नै थाहा थियो

उच्च राजनीतिक स्रोत अनुसार विप्लव समूहका गतिविधिमा रोक लगाउने निर्णय बारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिले नै  देउवालाई कन्भिन्स गरेका थिए । प्रचण्डले देउवालाई पनि साथमा लिएर गएर प्रधानमन्त्री ओलीसँग भेटेका थिए । त्यसपछि मात्र विप्लव समूहको गतिविधिमा रोक लगाउने निर्णयमा ओली अगाडि बढेका थिए ।

यो कुरा विश्वप्रकाशले बुझेनन् ।

यो कारण वार्ताको कुरा गर्न हुँदैन भन्ने धारणा देउवाका निकटहरुको छ । तर, देउवा निकटहरुमध्ये बालकृष्ण खाँड चाहिँ वार्ता हुनुपर्छ भन्ने पक्षमा उभिएका छन् । विश्वप्रकाशलाई प्रवक्ताबाट हटाउने मामिलामा भने उनी पनि देउवा निकटहरुकै पक्षमा उभिएको बुझिन्छ ।

‘शर्माले देउवालाई टेरेनन्’

प्रवक्ता विश्वप्रकाश शर्मा सनराइज खबरसँग भन्छन्– ‘कुनै विवाद छैन । कांग्रेसले विप्लव समूहलाई हेर्ने र वार्ताको विषयमा विवाद छ भन्ने कुरा तपाईंको मुखबाट सुने ।’

शर्माले अस्वीकार गरे पनि या त उनले वार्ता भन्न छाड्नुपर्ने, या सभापतिले वार्ताको लाइन लिनुपर्ने दुईमध्ये एक अवस्था आएको छ । ‘सभापतिसँग फरक मत राखेर प्रवक्ता बस्न मिल्दैन, विश्वजीले राजीनामा दिनुपर्छ’– एक केन्द्रीय सदस्यले सनराइज खबरसँग बताए ।

प्रवक्ता बनेपछि विश्वप्रकाश कांग्रेसमा हावी बनेको, सभापति देउवालाई नटेरेको आरोप लाग्दै आएको छ । कांग्रेसले विभिन्न जिल्लामा गरिरहेको आमसभा तथा अन्य कार्यक्रममा विश्वप्रकाशको उपस्थिति अनिवार्य जस्तै भइसकेको छ । कार्यक्रमहरुमा बोलाइने पहिलो नम्बरमा विश्वप्रकाश हुने गरेका छन् । 

कांग्रेसमा महाधिवेशनको दौड सुरु भइसकेको छ र विश्वप्रकाशको बढ्दो शक्तिमा ब्रेक लगाउन पनि उनलाई प्रवक्ताबाट हटाउन खोजिएको बुझिन्छ । विश्वप्रकाश महामन्त्रीको उम्मेदवार मानिएका छन् तर देउवा समूहप्रति उनको निष्ठा शंकास्पद मानिँदै आएको छ ।

याे समाचारकाे पछिल्लाे अपडेट- देउवाकाे दृष्टिकाेण फेरियाे, विश्वप्रकाशको पद जोगियो

प्रतिकृया दिनुहोस