प्रचण्ड र माधव दुवैजना विप्लव समूहलाई प्रतिबन्धको समर्थनमा
काठमाडौं । विप्लव समूहको गतिविधिमा मन्त्रिपरिषदले रोक लगाएको भोलिपल्टको वैठकले नेकपा अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डलाई निक्कै अप्ठेरो पार्यो । आफ्नै निवास खुमलटारमा माधव कुमार नेपाल सहित बसेको वैठकले प्रचण्डलाई समस्यामा पारेको थियो ।
सो वैठक लगत्तै माधवले विप्लव समूह विरुद्ध लगाइएको रोक पार्टीमा छलफल नगरी गरिएको निर्णय भनेका थिए । माधवले आफूसँग तथा कमिटीमा छलफल नगरी निर्णय लिएकोमा विरोध गरेका थिए । उनले विप्लव समूहलाई प्रतिवन्ध लगाउने निर्णयकै विरोध भने गरेका थिएनन् ।
तर, विप्लव समूहलाई लगाइएको प्रतिवन्धकै विरुद्ध माधव उभिएको भनेर प्रचार भएको थियो । यसले गर्दा माधवलाई दुईटा अप्ठेरो परेको थियो भनी उच्च राजनीतिक स्रोतहरुले जानकारी दिएका छन् । प्रचण्डको पहिलो अप्ठेरो थियो– माधव नेपाल सहित पूर्व एमालेका नेताहरुको वैठक राखेर गुटवन्दी गरेको सन्देश र दोस्रो अप्ठेरो हो– विप्लव समूह विरुद्ध लगाइएको रोक विरुद्ध आफू उभिएको सन्देश ।
यी दुवै प्रकारको सन्देश दिने पक्षमा प्रचण्ड थिएनन् र छैनन् पनि । प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी ओली विरुद्ध गुटवन्दी गरेको कुनै पनि प्रकारको सन्देश दिने पक्षमा प्रचण्ड छैनन् । तैपनि सो वैठकले गुटवन्दी गरेको सन्देश गएको थियो । विप्लव समूह विरुद्ध आफू धेरै बोल्न नपरोस्, पूर्व एमाले र माओवादीकै अरुले बोलुन् भन्ने प्रचण्डको चाहना थियो । तर, माधवको अभिव्यक्ति विप्लवलाई प्रतिवन्धको विरोधमा गएजस्तो ठानियो ।
त्यसैले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा केपी ओली सहित बसेको वैठकमा प्रचण्डले यसबारे प्रष्टिकरण दिएको बुझिन्छ । उनले वैठक लगत्तै सहिद तथा वेपत्ता परिवारको कार्यक्रममा विप्लव समूहको ठाडै विरोध गरे । उनले विप्लवलाई लगाइएको प्रतिवन्ध ‘राज्य र संविधानले आफ्नो काम गर्छ’ भन्दै औचित्यपूर्ण भएको सन्देश दिए । प्रचण्डकै जोडबलमा विप्लव समूहका गतिविधि प्रतिवन्धित गर्ने निर्णय गरिएको सार्वजनिक भइसकेको छ ।
स्रोत अनुसार नेकपाका नेता माधव कुमार नेपाल पनि विप्लव समूहलाई लगाइएको प्रतिवन्धकै पक्षमा उभिएका छन् । उनले त्यस्तो निर्णय गर्दा आफूसँग छलफल नगरिएकोमा मात्र असन्तुष्टि रहेको आज बसेको नेताहरुको वैठकमा बताएका छन् । यसमा वामदेव गौतमको भने केही फरक धारणा रहेको बताइएको छ ।
यसै बीच नेपाल सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई लाई वैधानिक रुपमा नचिनेको पुष्टि भएको छ । चन्दको समूहलाई रोक लगाउने मन्त्रिपरिषदको निर्णयमा कुनै पनि कोणबाट पार्टीको मान्यता दिएको छैन । सञ्चारमन्त्री गोकुल वास्कोटाले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको विवरण अनुसार चन्दको समूहलाई पार्टी भनिएको छैन, समूह भनिएको छ ।


प्रतिकृया दिनुहोस