काठमाडाैंका एसएसपीको प्रश्न : करोडौंको घर बनाउँदा एउटा सीसीटीभी राख्न सकिँदैन ?
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) उत्तमराज सुवेदीले शान्ति सुरक्षा मजबुत् बनाउन समाजका सबै नागरिक उत्तिकै जिम्मेवार हुनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौं महानगरपलिका–१० बुद्धनगरमा आयोजित ‘शान्ति सुरक्षाबारे नागरिक सुनुवाइ’ कार्यक्रममा बोल्दै सुवेदीले भने, ‘डेरामा बस्नेको रेकर्ड हरेक घरधनीले राखेमा अपराध अनुसन्धान सहज हुन्छ । आफ्नै घरमा भाडामा बस्ने मान्छेले के पेसा गरिरहेको छ, कहिल्यै चासो राख्नुभएको छ ?’
घरधनीहरूले भाडावालाहरूको रेकर्ड राखेमा प्रहरीलाई पनि अपराध अनुसन्धानमा त्यस्तो रेकर्ड सहयोगी हुने र अपराध नियन्त्रण सहज हुने उनको भनाइ थियो ।
‘करोडौं खर्चेर घर बनाउनुभएको छ, अनि घरअगाडि सीसीटीभी राख्नुपर्दैन ?’, एसएसपी सुवेदीले भने, ‘तपाईंको सानो खर्चले सीसीटीभी राखिदिएमा त्यहाँ अपराध भएका अनुसन्धान गरेर चाँडो अपराधीसम्म पुग्न प्रहरीलाई सहज हुन्छ ।’
पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग काठमाडौं प्रहरीका लागि टाउको दुखाइको विषय बनेको उल्लेख गर्दै सुवेदीले भने, ‘सामाजिक सञ्जालको दुरुपयोग ठूलो रोग भएको छ, चोरी र बलात्कारका घटना सामाजिक सञ्जालका कारण बढ्दै गएको छ ।’
‘समाजिक सञ्जालमा हाई–हेलोबाट सुरु भएको कहानी कर्तव्य ज्यानमा गएर अन्त्य भएका उदाहरण धेरै छन्’, उनले भने, ‘त्यसैले सामाजिक सञ्जाल प्रयोगमा आफू र आफ्ना बालबालिकालाई सचेत बनाऔं ।’
महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा सुवेदीले आत्महत्या नयाँ रुपमा देखापर्न थालेको बताए ।
‘१० वर्षको बालकदेखि ५० वर्ष उमेर समूहका समेत आत्महत्या गर्न थालेका छन्’, उनले भने, ‘पहिले दीर्घरोग, प्रेम र पारिवारिक कलहका कारण मानिसहरू आत्महत्या गर्थे । अहिले पढाइमा कमजोर भएको फिल हुँदा वा कसैले पढाइको टिप्पणी गर्दासमेत विद्यार्थीहरू आत्महत्याको बाटो रौज्दै छन् । यो गम्भीर विषय हो ।’
हरेक वर्ष हुने नागरिक सुनुवाइमा उठेको सुझावका आधारमा रात्रिकालीन व्यवसाय, खाजा घर र होस्टलमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सोही क्षेत्रका व्यवसायीलाई समेत जिम्मेवार बनाएर प्रहरीले काम गरिरहेको उनले बताए ।

हस्पिटल र नर्सिङ होममा आउने गरेको समस्याबारे पनि अस्पताल सञ्चालकहरूलाई नै जिम्मेवार बनाइएको छ । ‘कसैको बच्चा जन्मेको केही समयमा नै अस्पतालबाट हराउँछ भने, त्यसमा नर्सिङ होम जिम्मेवार हुनुपर्छ’, सुवेदीले भने ।
महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दुर्गा रेग्मीले आमनागरिकसँग हातेमालो गरेर नै शान्ति सुरक्षा चुस्त बनाउन सकिने बताए ।
बाटैमा पार्किङ किन ?
नागरिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले बानेश्वर–कोटेश्वर क्षेत्रका मूल सडक र भित्री बाटोमा समेत बाटोमा पार्किङ गर्दा ठूलो समस्या हुनेगरेको गुनासो गरेका छन् ।
‘संविधानसभा भवनपछाडि देउराली क्लबसँगै ठूला गाडी पार्किङ गरेर राखिएको हुन्छ’, स्थानीय गणेश केसीले भने, ‘फुटपाथ मिचेर पार्किङ गर्दा पैदलयात्री हिँड्न पाएनन् । त्यसले जामको समस्या पनि बढेको छ ।’
स्थानीय गोमा बरालले पनि सडक पर्किङ स्पटमा परिणत हुँदै गएको गुनासो गर्दै भनिन्, ‘हामी ट्राफिक प्रहरीलाई सहयोग गर्न तयार छौं, सडकबाट पार्किङ हटाइदिनुस् ।’
बानेश्वर–कोटेश्वर क्षेत्रको ट्राफिक व्यवस्थापनको जिम्मा लिएका महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका निरीक्षक सुरेश ठाकुरले दैनिक ५० वटाभन्दा बढी मोटरसाइकल उठाएर बग्गीखाना पठाउने गरेको जानकारी दिँदै भने, ‘म भर्खरै आएको हुँ, तपाईंहरूलाई परिवर्तनको आभाष गराउँछु ।’
जथाभावी पार्किङ गर्ने चार पांग्रे सवारीलाई मेनपावरले भ्याएसम्म ह्विल लक लगाउने गरेको जानकारी दिँदै उनले भने, ‘कसैले तपाईंको घर अघिल्तिर सडकमा पार्किङ गरेमा नराख्न भन्दिनु प¥यो । त्यो तपाईंहरूको पनि दायित्व हो ।’
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस