पाकेटमार, कारमा सरर !
काठमाडौं । कार चढ्ने पाकेटमार ? झट्ट सुन्दा जो–कोहीलाई अचम्म लाग्न सक्छ । तर, सत्य यही हो ।
काठमाडौंका सार्वजनिक बसमा पाकेट मार्ने धन्दा गर्नेहरू कार चढेर सानसाथ हिँड्छन् । उनीहरू बिहान–बेलुका बसहरूमा सर्वसाधारणको गोजी काट्छन् । बाँकी समय ठाँटिएर कारमा हिँड्छन् । मस्ती गर्छन् ।
खुसुक्क अर्काको पकेटमा हात लम्काएर कारमा सवार हुने व्यक्ति हुन्, सिन्धुपाल्चोकका हरिबहादुर तामाङ (नाम परिवर्तन) ।
बस चलाउन छाडेर पाकेटमार
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका घर भएका हरिबहादुर २०६४ सालमा काठमाडौं आए । गाउँको स्कुलबाट २ कक्षा पास गरेका हरिबहादुर काठमाडौं आएपछि कान्तिपुर यातायातको सहचालकको रुपमा काम गर्न थाल्छन् ।
सहचालकबाट उनी चालक भए । करिब दुई वर्ष कान्तिपुर यातायात चलाए । त्यतिबेला चक्रपथ रुटमा चल्ने कान्तिपुर यातायातमा पाकेट मार्ने धन्दा मौलाएको थियो ।
हरिबहादुरले गाडी चलाउँदाचलाउँदै लाखौं रुपैयाँ पाकेटमारी भएको घटना आफ्नै आँखाले देखे । चालक पेसाभन्दा सजिलो लाग्यो उनलाई यो पेसा । तुरुन्तै पैसा कमाउने बाटो देखेपछि ड्राभइरको सिटमा बसेरै उनले पाकेट मार्ने कला सिके ।
उनले बसको साँचो साहुलाई जिम्मा लगाए । आफू पाकेट मार्न निस्किए ।
पछिल्लो ११ वर्षयता काठमाडौंमा पाकेटर साम्राज्यका ‘डन’ मानिने हरिबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्रेपछि खुल्यो, उनले पाकेट मारेर के–के मात्रै गरेनन् ?
सिँगाने ग्याङको कमान्डर
पिक पकेटिङ (पाकेटमारी) को दुनियाँमा हरिबहादुरले आफूलाई कहिल्यै वास्तविक नामले चिनाएनन् । आफूलाई कहिले मानबहादुर तामाङ, कहिले राजु लामाको रुपमा परिचय दिने हरिबहादुरको ग्याङमा छ जना सदस्य छन् । पिक पाकेटिङको दुनियाँमा उनको समूहलाई ‘सिँगाने ग्याङ’ भनेर चिनिन्छ । उमेरले २८ वर्षका हरिबहादुर सिँगाने ग्याङका कमान्डर हुन् ।
असार दोस्रो सातादेखि महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा रहेका ‘सिँगाने’ ब्रान्डेड कपडा लगाउँछन् ।
प्रहरीसँगको बयानमा उनले दरबारमार्गस्थित ब्रान्डेड पसहरूबाट मात्रै आफूले लत्ताकपडा तथा जुत्ता किन्ने गरेको बताएका छन् ।
काठमाडौंको नयाँ बसपार्कलाई जक्सन बनाएर पाकेटमारी गर्दै आएका ‘सिँगाने’ कार चढ्छन् । उनले बा ५ च ४१७ नम्बरको टाटा इन्डिका कार चढ्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
उनी काठमाडौंका राम्रा क्लबहरूमा जिम गर्छन् । दैनिकजसो साओना, स्टिम लिन्छन् । सिँगाने ग्याङका सदस्यहरू हुन्, राजकुमार माझी, अनिल, अमित र विष्णु । उनीहरू सबै सिन्धुपाल्चोकका हुन् ।
प्रहरीले ‘सिँगाने ग्याङ’को फलो गरिरहेको थियो । ‘असार दोस्रो साता बिहान करिब साढे ४ बजे पकेट मार्न नयाँ बसपार्कतिर जाँदै गरेको अवस्थामा उनीहरूलाई हामीले पक्रियौं’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटी भन्छन्, ‘तर, उनीहरूबाट पैसा बरामद भएन ।’
पैसा बरामद नभएपछि प्रहरीले यो समूहलाई अभद्र व्यवहारमा मुद्दा चलाएको छ ।
रिङरोडमा आफ्नै बस
नयाँ बसपार्कलाई जक्सन बनाएर पिक पाकेटिङ गर्ने सिँगाने ग्याङका कमान्डर हरिबहादुरले बा १ ख ६८३२ नम्बरको बस किनेर चलाएका थिए ।
रिङरोड रुटमा चल्ने सो बसमा उनको समूहले दैनिक पाकेट मार्ने गर्थे । प्रहरीसँगको बयानमा उनले भनेका छन्, ‘आफ्नो बसमा पाकेट मार्दा जस्तो आनन्द अरु गाडीमा भएन ।’
पक्राउ पर्दै छुट्दै
सिँगानेलाई प्रहरीले १० पटकभन्दा बढी मुद्दा चलाएको छ । २० पटकभन्दा बढी प्रहरीको पन्जामा परेका उनले प्रहरीसँग भनेका छन्, ‘प्रहरीले कत्ति समात्यो समात्यो, लेखाजोखै छैन ।’
२०७० को आसपास ‘सिँगाने ग्याङ’ले दैनिक एक लाख रुपैयाँसम्म पाकेट मार्ने गरेको अनुसन्धानबाट खुलेको बताउँछन्, डिएसपी होबिन्द्र ।
डेबिट र क्रेडिट कार्डको जमाना आएपछि मानिसहरूले गोजीमा पैसा बोक्न छाडे । त्यसपछि भने ‘सिँगाने ग्याङ’को धन्दामा केही मन्दी छाएको छ ।
भक्तपुर सूर्यविनायक बस्दै आएका सिँगानेले अर्काको गोजीमा हात लम्काएर स्कुटर पनि जोडेका छन् । दुई छोरीलाई राम्रो स्कुलमा पढाएका छन् ।
सिँगाने पाकेटमारी र चोरीमा पटकपटक जेल बसिसकेका छन् । तर, उनले आफ्नो धन्दा छाडेका छैनन् ।
प्रहरी पन्जामा ‘ल्याक्टे ग्याङ’
हेर्दा हट्टकट्टा देखिने ‘सिँगाने’ जस्तै काठमाडौंको पाकेटमारी दुनियाको अर्को खतरनाक समूह हो– ल्याक्टे ग्याङ ।
गौशाला प्रहरीको हिरासतबाट केही दिनअघि मात्र छुटेका ‘ल्याक्टे’ पनि कार चढेर हिँड्छन् ।
‘ल्याक्टे’ को समूहमा पनि छ जना सदस्य छन् । सुकेधारा–गौशाला आधार क्षेत्र बनाएर पाकेटमारी गर्ने सो समूहले वीर हस्पिटल, टिचिङतर्फ जाने गाडीलाई बढी टार्गेट गरेर पाकेट मार्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
‘सिँगाने’ र ‘ल्याक्टे’ समूहले बिहान बसपार्कबाट छुट्ने गाडीका यात्रु र साँझ काठमाडौं बाहिरबाट बसपार्क भित्रिने गाडीका यात्रुलाई टार्गेट गरेर पाकेट मार्ने गरेका थिए ।
प्रहरीले ‘सिँगाने’ र ‘ल्याक्टे’ समूहमाथि एक्सन लिएपछि काठमाडौंको पाकेटमारी लगभग शून्यमा झरेको बताउँछन्, काठमाडौं प्रहरी प्रमुख (एसएसपी) उत्तमराज सुवेदी ।
सुवेदी भन्छन्, ‘काठमाडौंको पिक पाकेटिङ अहिले लगभग शून्यमा झरेको छ । केही पाकेटमार पहिचान भएका छन्, उनीहरूलाई पनि छिट्टै पक्रिन्छौं ।’
‘सिँगाने’ र ‘ल्याक्टे’ बाहेक काठमाडौंमा अन्य तीन वटा पाकेटमारको ग्याङ सक्रिय रहेको पाइएको छ । ‘अरु तीन समूहको पनि पहिचान खुलेको छ’, डिएसपी होविन्द्र बोगटी भन्छन्, ‘गोप्य अपरेसन चलिरहेको छ, उनीहरू छिट्टै समातिन्छन् ।’
कारबाहीमै समस्या
पाकेटमारको साथबाट सितिमिती पैसा बरामद हुँदैन । पाकेटमार निकै बाठा हुन्छन् । उनीहरू पैसा झिकेको केही मिनेटमै पैसा पास गरिसक्छन् । त्यस्तोमा प्रहरीले उनीहरुलाई पक्राउ गरिहाले पनि पाकेटमारी तथा चोरीमा मुद्दा चलाउन सम्भव हुँदैन ।
प्रहरीले काठमाडौंमा चलाएको गोप्य अपरेसनमा धेरै पाकेटमार रंगेहात फेला परेका छन् । तर, पीडितहरू जाहेरी दिएर मुद्दाको झन्झट बेहोर्न नचाहँदा पाकेटमारमाथि कारबाहीको समस्या हुने गरेको पाइएको छ ।
‘रंगेहात पाकेटमार पक्राउ गर्दा पीडितहरू कोही उपचार गर्न जान लागेका हुन्छन्, कसैको भोलिपल्ट विदेश उड्ने टिकट हुन्छ’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) बोगटी भन्छन्, ‘त्यस्तो अवस्थामा पीडितहरूले तत्काल पैसा चाहियो भन्छन्, अनि दसी नहुँदा पाकेटमारलाई अभद्र व्यवहारमा मुद्दा चलाएर छाड्नुपर्ने हाम्रो बाध्यता छ ।’
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस