• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

विप्लव समूहले जन्ती बस समेत जलायो

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । विप्लव समूहले जन्ती बसमा समेत आगजनी गरेकाे छ । आज बिहान कैलालीको राजीपुर जङ्गल नजिककाे सडकमा विप्लव समूहका कार्यकर्ताले जन्ती बसमा आगजनी गरेका हुन् ।

जन्तीका ब्याण्डबाजा बजाउने १२ जना व्यक्ति सवार रहेको म १ ख ४४१ नं को साे बसलाई राजीपुरको जङ्गलमा बिहान चार बजे रोकेर नौ जनाको समूहले आगाे लगाएकाे राष्ट्रिय समाचार समितिले जनाएकाे छ । साे समूहले डिजेल छर्केर बसमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताएका छन् । 

भजनीबाट भीमदत्तनगरतर्फ गैइरहेको उक्त बसमा सवार चालक सहचालक सबै सकुशल छन् । आजै बिहान कैलालीको गोदावरी नगरपालिका–४, गोदावरीमा रोकिराखेका बस जलाइदिन्छौँ भन्ने समूहका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । 

पक्राउ पर्नेमा कञ्चनपुर बेतकोटका कोषराज भट्ट, भीमदत्तनगरका सुशिला चन्द र डोटी विपीनगरका धनबहादुर बम रहेका छन् । 

यसै गरी कैलालीको जोशीपुर, सुखड र साडेपानीमा बम जस्तो देखिने शंकास्पद बस्तु राखिएको फेला परेपछि स्थानीय जनजीवन आतङ्कित बनेको छ । 

विप्लव समूहले काठमाडाैंकाे अनामनगरमा बुधबार राति वम राखेकाे थियाे । आज बिहान पोखराको सभागृह चोक र भण्डारढीकमा शंकास्पद बस्तु फेला परेको जानकारी दिँदै कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले दुवै ठाउँका शंकास्पद वस्तु निस्क्रिय गरिएको बताए । 

विप्लव समूहले कैलालीमा पनि एउटा माइक्राे बस जलाएकाे छ । गाेरखा नगरपालिकामा एउटा कुकर वम सेनाले निष्क्रिय पारेकाे छ । त्यसैगरी हेटाैंडा औधोगिक क्षेत्रकाे महेन्द्र राजमार्गसँग जाेडिएकाे मूलगेटमा पनि बम फेला परेकाे छ । 

प्रतिकृया दिनुहोस