• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

साढे दुई करोड नेपाली इन्टरनेटको पहुँचमा

समाचार

समाचार

काठमाडाैं । नेपालमा साढे दुई करोड जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुगेको पाइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो सात महिना (साउन–माघ) को तथ्यांक अनुसार नेपालमा २ करोड ५४ लाख १९ हजार बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो ।

गत पुस महिनाको तुलनामा माघ महिनामा ६ लाख ८३ हजार बढी इन्टरनेट प्रयोगकर्ता थपिएका छन् । गत पुस महिनासम्म कूल २ करोड ४७ लाख ३५ हजार ६ सय ५० जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ । कूल जनसङ्ख्याको ८४ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्यांकमा उल्लेख छ ।

प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर उक्त प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या २ करोड ९८ लाख ७६ हजार ५ सय ३१ लाई आधार बनाएको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । माघसम्म मोबाइल इन्टरनेटको हिस्सा ६१ दशमलव ४७ प्रतिशत छ । १ करोड १३ लाख बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको र यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ८६ लाख ६० हजार र एनसेलको २४ लाख ९१ हजार रहेको छ । त्यस्तै फोरजी प्रयोगकर्ता ७० लाख ९२ हजार र इभिडियो प्रयोगकर्ता एक लाख ३६ हजार पाँच सय ७३ छन् ।

फोरजी प्रयोगकर्तामध्ये सबैभन्दा धेरै एनसेलका छन् । माघ मसान्तसम्म एनसेलका फोरजी प्रयोगकर्ता ४३ लाख २५ हजार नाै सय ३६ रहेका छन् । नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता २५ लाख ४४ हजार ७२४ र स्मार्ट टेलिकमका दुई लाख २२ हजार छन् । फिक्स ब्रोडब्याण्डको हिस्सा २१ दशमलव ८५ प्रतिशत छ । यसमा एडिएसएलका आठ लाख ३७ हजार र एफटिटीएच इन्टरनेट प्रयोगकर्ता ५७ लाख ६८ हजार छन् ।

–रासस
 

प्रतिकृया दिनुहोस