English

सम्पादकीय

नेकपा र कांग्रेस : जिम्मेवार बन, गति नछाड

sunrisekhabar

एक वर्षभन्दा धेरै भयो नेकपा एकीकरण भएको । तर, सबै तहको एकीकरणले पूर्णता पाइसकेको छैन । एकीकरणको नाममा नेकपाभित्र स्वार्थको फुटबल खेल भइरहेको प्रष्ट छ । सत्तारुढ पार्टीको यो हालत छ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पनि उस्तै हाल छ । पाँच वर्षभित्र हुनुपर्ने महाधिवेशन समयमै गर्ने कि नगर्ने भनेर कांग्रेसभित्र विवाद छ । 

नेकपा र कांग्रेस भनेका मुलुकका मियो हुन् । यी दुई पार्टी मुलुकका अगुवा हुन् । यी दुई पार्टीभित्रको आन्तरिक अवस्थाले समग्र मुलुकको राजनीतिक परिस्थिति निर्धारण गर्छ । यी दुईले बाटो बिराए भने मुलुकले बाटो बिराउँछ । त्यसैले यी दुई पार्टीभित्रको अवस्था स्वस्थकर हुन जरुरी हुन्छ । 

नेकपाको एकीकरण मुलुकका लागि ठूलो उपहार हो । एकीकरण भएको थिएन भने प्रतिनिधि सभा त्रिशंकु बन्थ्यो । अर्थात् कुनै पनि पार्टीको बहुमत हुँदैनथ्यो । त्यो अवस्थामा फेरि पनि अस्थिर सरकारको पीडा मुलुकले ब्यहोर्नुपर्ने थियो । सौभाग्यवश तत्कालीन एमाले र माओवादी एकीकृत भएर नेकपा बन्यो । अहिले नेकपाको बहुमतको सरकार छ । मुलुक, लोकतन्त्र तथा देशको दीर्घकालीन हितका लागि यो एकीकरण सौभाग्यको विषय बन्यो । 

तर, एकीकरणपछिको अवस्था के छ ? यो भने विचारणीय छ । अहिले के देखिन्छ भने सरकारको रक्षा गर्ने, सरकारलाई प्रोत्साहित गर्ने तथा सरकारको होस्टेमा हैंसे गर्ने काममा नेकपाको समग्र पार्टी पंक्ति लागेको देखिँदैन । आफ्नो सरकारलाई प्रोत्साहित गर्ने, सघाउ पुर्‍याउने तथा त्यसलाई टेवा दिने काममा पार्टी लाग्‍नुपर्ने हो । एकीकरणले पूर्णता नपाएकै कारणले यसो भएको हुनसक्छ । 

सत्तारुढ नेकपा भित्रैबाटै प्रतिपक्षी कित्ताको जस्तो आवाज आउने गरेको सुनिन्छ । आफ्नो पार्टीको नेतृत्वमा बहुमतको सरकार बनेको छ, तर, आफ्नै पार्टीको सरकारलाई छिर्के लगाउने काममा नेकपाकै कतिपय नेताहरु लागिपरेको देखिन्छ । यो अवस्थाको निराकरण अरुले गरेर हुँदैन, स्वयं नेकपाका नेताहरुले गर्नुपर्ने हुन्छ । त्यसो नगरेर एकीकरणका कतिपय चरणहरुलाई गोलमटोल बनाएर सरकारलाई प्रहार गर्ने, सरकारलाई असहयोग गर्ने दुष्कार्य नेकपा भित्रबाट भइरहेको द‍ृष्य जनताबाट छिपेको छैन । 

तथ्य के हो भने नेकपा र कांग्रेस मात्र होइन, संसद्‍मा प्रतिनिधित्व गर्ने कुनै पनि दल निजी हुन सक्दैनन् । ती दलभित्रका आन्तरिक मामिला ती दलमा लागेकाहरुको मात्र सरोकारको विषय हुन सक्दैन । संविधान अनुसार दर्ता भएर चुनावमा गएका हरेक पार्टीमाथि नेपाली जनताको अधिकार हुन्छ । ती दलभित्रको आन्तरिक हर्कतहरु जनताको सरोकारको विषय हुन्छ । यो अर्थमा नेकपा र कांग्रेसभित्र अहिले जेजे भइरहेको छ, त्यो जनसरोकारको विषय हो, जनताको चासोको मात्र नभएर चिन्ताको विषय समेत हो । 

सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षीको जिम्मेवारी पाएको कांग्रेस दुवै पार्टीले आदर्श राजनीतिक पार्टीको मानक स्थापित गर्न सक्नुपर्छ । यी दुई पार्टी निर्माणमा देशले सात दशक खर्च गरेको छ । यी दुई पार्टी संस्थागत नभई लोकतन्त्र संस्थागत हुन सक्दैन । तर, दुई पार्टी संस्थागत हुने बाटोमा छैनन्, दुवै दलमा आन्तरिक विग्रह प्रचुर छ । 

नेपालको लोकतन्त्रलाई विगतमा खाएको मुख्य राजनीतिक पार्टीका आन्तरिक विग्रहले हो । अब पनि लोकतन्त्रलाई पहिलो खतरा मुख्य दलहरुको आन्तरिक विग्रहले नै आउनसक्छ । लोकतन्त्र संस्थागत हुन कुनै पनि सरकारले पाँच वर्ष चल्न पाउनुपर्छ । स्थिर सरकार नै विकास र लोकतन्त्रको आधार हो । यो तथ्य नेकपा र कांग्रेसले विगतमा अनुभव गरिसकेका छन् । सुसंस्कृति लोकतन्त्र र स्थिर सरकारका लागि सत्तापक्ष र प्रतिपक्ष दुवैको जिम्मेवारी हुन्छ । अनुभव सिद्ध यो तथ्यलाई बिर्सिएर व्यवहार गर्नु तथा आन्तरिक कलहमा रुमल्लिनु नेकपा र कांग्रेसको गैरजिम्मेवारी हो । 
    
सत्तारुढ दल आन्तरिक विवादमा रुमल्लिएको छ, प्रतिपक्षीको पनि त्यही हालत छ । कांग्रेसमा आन्तरिक लोकतन्त्रको बेहाल अवस्था छ । पार्टीभित्र विधि र प्रकृया मिचिएको छ । पाँच वर्षभित्र गर्नुपर्ने महाधिवेशन निर्धारित समयमै नगर्ने लाजमर्दाे प्रपञ्‍च सो पार्टीभित्र भइरहेको छ । 

राजनीतिक दलका मानक भनेकै नेकपा र कांग्रेस हुन् । यी दुई पार्टीले नै बाटो बिराउँदा पाँच वर्ष सरकार चलोस् भन्ने जनचाहना कुठाराघात हुने अवस्था आउन सक्छ । लोकतन्त्रले बाटो बिराउन सक्छ । त्यसैले नेकपा र कांग्रेसले गति छाड्न भएन, जिम्मेवार बन्नुपर्‍याे, आन्तरिक विवाद समाधान गरेर मुलुकलाई सुशासन र विकासमा अगाडि बढाउनुपर्‍याे ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत