• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

विगतको माओवादीकै जस्तो विप्लवको एउटा रणनीति

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । विगतमा जनयुद्ध गर्दा तत्कालीन माओवादीले अपनाएको जस्तै रणनीति विप्लव माओवादीले अपनाउन थोलेको देखिएको छ । त्यसबेला मूलधारको राजीनीति गर्ने दलहरुमा आफूलाई हेर्ने दृष्टिकोणमा एकरुपता हुन नदिन माओवादीले यथासम्भव प्रयास गथर््यो । र, मूलधारका दल तथा नेताहरु पनि माओवादीलाई हेर्ने दृष्टिकोणमा विभाजित हुन्थे । 

अहिले पनि त्यस्तै हुने लक्षण देखिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको गतिविधिको क्रियाकलापमा सरकारले रोक लगाएपछि विभिन्न खाले प्रतिक्रिया आएको छ । मूलधारका नेताहरुको प्रतिक्रिया विभाजित देखिएको छ । नेकपाका नेता माधवकुमार नेपालले पार्टीमा छलफल नै नगरी विप्लवको गतिविधिमा रोक लगाउने निर्णयमा असन्तुष्टि जनाएका छन् । 

उनले संसद भवनमा संचारकर्मीहरुलाई पार्टीमा छलफल नगरी निर्णय लिइएको बताए । विप्लवको समूहमाथि प्रतिवन्ध लगाउनु उचित हो कि होइन भन्ने सम्वन्धमा चाहिँ उनले ठोस धारणा राखेनन् ।

मन्त्रिपरिषदको मंगलबारको वैठकले विप्लव समूहको क्रियाकलापमा रोक लगाउने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णय औपचारिक रुपमा भोलि बिहिबार संचार मन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक गर्ने भएका छन् । 

विप्लव समूह राजनीतिक पार्टीका रुपमा दर्ता छैन । यो तथ्यलाई ध्यानमा राखेर मन्त्रिपरिषदले निर्णय गरेको उच्च स्रोतले जानकारी दिएको छ ।

याे पनि पढाैं- विप्लव समूहमाथि प्रतिवन्धको अन्तर्कथा

क्रियाकलापमा रोक लगाउने सरकारी निर्णयबारे विप्लव समूहले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । तर, सो समूहको अपेक्षा विपरित नेपाली कांग्रेसले सरकारी निर्णयको खुलेर स्वागत गरेको छ । सभापति शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्माले विप्लव समूह उपर लगाइएको रोकको स्वागत गर्दै वार्ता गर्न पनि सुझाएका छन् । 

तर, कांग्रेसकै अर्का प्रभावशाली नेता वालकृष्ण खाँडले भने विप्लव समूह उपर प्रतिवन्ध लगाएर सरकारले निषेधको राजनीति गरेको आरोप लगाएका छन् । संसद भवनमा संचारकर्मीहरुसँग कुराकानी गर्दै खाँडले सो समूहलाई वार्ता र संवादको माध्यमबाट राजनीतिक मूलधारमा ल्याउन सकिने सम्भावना हुँदाहुँदै प्रतिवन्ध लगाउनु गलत भएको बताएका छन् । 

विप्लव समूहले नेकपामा रहेका पूर्व माओवादी नेता तथा कार्यकर्ताहरुमाथि भौतिक आक्रमण थालेपछि सो समूहको क्रियाकलापमा रोक लगाउन सरकारलाई दवाब परेको थियो । विप्लव समूहले पूर्व माओवादी तथा हाल नेकपामा समाहित नेताहरु विरुद्ध घृणा अभियान चलाइरहेको छ । 

नेकपाकै अर्का नेता देवेन्द्र पौडेलले विप्लव समूहलाई विद्रोही समूह मान्न नमिल्ने धारणा राखेका छन् । संसद भवनमा संचारकर्मीहरुसँग कुरा गर्दै पौडेलले सो समूहलाई हतारमा प्रतिवन्ध लगाइएको टिप्पणी गरेका छन् । 

विप्लव समूहले केन्द्रिय स्तरबाट आधिकारिक विज्ञप्ति विरलै दिने गरेको छ । विभिन्न ठाउँमा लुटपाट र वम विष्फोटको घटना गराउँदा पनि विप्लव समूहले आधिकारिक रुपमा जिम्मेवारी लिने गरेको छैन । केही दिन अघि ललितपुरको नख्खुमा एकजनाको ज्यान लिएको वम विष्फोटको घटना आफूहरुले गरेको भनी सो समूहका नेताहरुले स्वीकार गरे पनि पार्टीको तर्फबाट आधिकारिक विज्ञप्ति दिइएको थिएन ।


 

प्रतिकृया दिनुहोस