• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

क्लब डेजाभुका सञ्चालक एअरपोर्टमा ओर्लनासाथ पक्राउ 

राजेश भण्डारी

राजेश भण्डारी

काठमाडौं । दरबारमार्गमा रहेको क्लब डेजाभुका सञ्चालक मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठलाई आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्टरपोल शाखाको प्रहरीले पक्रेर काठमाडौं प्रहरीको जिम्मा लगाएको बताइएको छ । 

क्लब डेजाभुको अध्यक्ष हुँदा शेयर दिन्छु भन्दै विश्वराम श्रेष्ठसँग दुई करोड रुपैयाँ लिएका मनोजले पछि शेयर नदिएपछि विवाद भएको थियो । 

विश्वरामले रकम फिर्ता मागेपछि मनोजले क्लब डेजाभुकै नाममा रहेको दुई करोड रुपैयाँको चेक दिए । तर, चेक बाउन्स भएपछि मनोजविरुद्ध १३ पुस २०७५ मा विश्वरामले बैंकिङ कसुर र ठगीको जाहेरी हालेका थिए । 

प्रहरीले खोजी गर्दा हङकङमा लुकेर बसेको थाहा भएपछि काठमाडौं प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले डिफ्युजन नोटिस जारी गरेको थियो । 

मनोजलाई सोमबार उच्च अदालत पाटनमा उपस्थित गराइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) उत्तमराज सुवेदीले जानकारी दिए । पर्वत घर भएका उनी झम्सिखेल बस्दै आएका थिए । 

श्रेष्ठले सञ्चालन गरेको क्लब डेजाभुमा २८ मंसिर २०७४ मा अमेरिकन डिजे मार्समेलो ल्याउने भन्दै करोडौंको टिकट बिक्री गरिएको थियो । पछि मार्समेलो नआएपछि दर्शकहरुले क्लबमा तोडेफोड गरेका थिए । 

त्यतिबेला मार्समेलो ल्याउने भन्दै लाखौंको टिकट बेचेर ठगी गरेको भन्दै कार्यक्रम आयोजक रितेश मारवाडी, राजीव महर्जनसहितका क्लब सञ्चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।

प्रतिकृया दिनुहोस