सम्झौता विपरित काम गरे सिके राउत समूहलाई कारवाही
दाङ । महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले सम्झौताविपरीत काम गरे सिके राउतकाे समूहलाई कानूनी दायरामा ल्याइने बताएका छन् । उनले भने- “अहिले उक्त समूहसँग सम्झौता भएपछि सरकार छ, कि छैन भनेर प्रश्न उठिरहेको छ, यदि अखण्ड नेपाललाई कसैले टुक्र्याउन खोज्छ भने राज्य र अदालतले कानूनी दायरामा ल्याउँछ ।”
कानून उल्लङ्घन गरे फेरि पनि साे समूहलाई कानूनी दायरामा ल्याइनेसमेत खरेलले बताए ।
महान्यायाधिवक्ता खरेलले अविभाज्य तथा अखण्ड नेपाललाई कसैले टुक्र्याउन खोजे कानूनी दायरामा ल्याइने बताए । नेपाल सरकार र सिके रावत समूहबीच भएको सम्झौतालाई विभिन्न कोणबाट विश्लेषण हुने गरेको भन्दै सम्झौताविपरीत काम गरे उक्त समूहलाई कानूनी दायरामा ल्याइने बताउनुभयो ।
उच्च सरकारी वकिल कार्यालय तुलसीपुरको नयाँ कार्यालय भवनको आज उद्घाटन गर्दै उनले पीडितलाई न्याय दिलाउन मुद्दा गम्भीर भएर अभियोजन, अनुसन्धान भए मात्र अदालतले पीडितका पक्षमा फैसला गर्ने भएकाले तीनवटै निकायबीच प्रभावकारी समन्वय हुनुपर्ने बताए ।
रु चार करोड ३९ लाख ६५ हजार लागतमा निर्माण भएको साे भवन निर्माणको काम विसं २०७४ पुसमा सम्पन्न भएको हो । चार तला रहेको उक्त भवनका ४३ कोठा रहेका शहरी भवन डिभिजन कार्यालयका प्रमुख परीक्षित कदरियाले बताए । उच्च सरकारी वकिल कार्यालयसँगै सत्यनिरुपण तथा मेलमिलाप आयोगको प्रदेश कार्यालय पनि सञ्चालित छ ।
उच्च सरकारी वकिल कार्यालय पीडितको अड्डा भएकाले पीडितलाई न्याय र पीडकलाई कानूनी दायरामा ल्याउने कार्यमा थप प्रभावकारीरुपमा काम गर्नेुपर्ने बताए ।
उनले न्यायलयले न्यायपूर्ण समाज निर्माण गर्ने भएकाले सबैलाई न्यायपूर्ण काम गर्नसमेत आग्रह गरे । सहन्यायाधिवक्ता थलराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नेकपा संसदीय दल सचेतक शान्ता चौधरीले न्यायालय जनताप्रति बफादार हुनुपर्ने बताइन् ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश नहकुल सुवेदी, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललगायतले नयाँ भवन निर्माणसँगै सेवालाई पनि चुस्त बनाउन अनुरोध गरे । सहन्यायाधिवक्ता ईश्वरीप्रसाद बञ्जाडेले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण सहन्यायाधिवक्ता हरिभक्त पुन मगरले गरेका थिए । त्यस अवसरमा उत्कृष्ट कर्मचारीका रुपमा कार्यालय सहयोगी बुद्धिराम चौधरीलाई सम्मान गरिएको थियो ।


प्रतिकृया दिनुहोस