प्रेमिका हत्याको १२ वर्षपछि ‘पाप करायो’ !
काठमाडौं । भनिन्छ– पाप धुरीबाट कराउँछ । काभ्रेको रोशी गाउँपालिका–३ का राजेश लामा ‘सानु’ को हकमा त्यस्तै भयो ।
उनले गरेको अपराध कर्मका कारण उनलाई १२ वर्षपछि प्रहरीको कस्टडीमा पुर्याएको छ ।
प्रेमपछि विवाहको योजना
काभ्रेका राजेश र मकवानपुरकी सुनिता लामा ‘तारा’ बीचमा प्रेम सम्बन्ध स्थापित हुन्छ । बिस्तारै प्रेमको गहिराइमा पुग्छन् । प्रेमलाई दिगो बनाउन विवाह बन्धनमा बाँधिने योजना बनाउँछन् । दुवै परिवारको स्वीकृतिमै उनीहरू विवाह गर्न सहमत हुन्छन् । टीकाटालो गर्छन् ।
तर, टीकाटालोपछि तारा र राजेशबीचमा सामान्य मनमुटाव सुरु हुन्छ । ताराले विवाह गर्न अस्वीकार गर्छिन् । विवाह ‘इन्कार’ गरेको झोँकमा राजेशले तारालाई छुरीले हानेर हत्या गर्छन् ।
एकाएक विवाह रद्द भएपछि
मकवानपुर फापरबारी घर भएकी ताराको उमेर त्यतिबेला २२ वर्ष थियो । इमाडोलमा डेरा गरी बस्ने तारा र सोही उमेरका राजुबीच घटना हुनुभन्दा करिब सात महिनाअघिदेखि प्रेम सम्बन्ध थियो ।
२८ मंसिर २०६४ मा सिन्दुरपोते गर्न प्रेमीको घर काभ्रेको साविक शिखर आम्बोटे जाने बारेमा प्रेमी–प्रेमिका र घरपरिवारमा समेत सल्लाह भएको थियो । तर, सिन्दुरपोते गर्न काभ्रे जाने तयारी भइरहेकै बेला १७ मंसिरबाट तारा कोठामा आउन छाडिन् ।
विवाह रद्द भयो । विवाह नहुने भएपछि गाउँमा बेइज्जत भएको महसुस गरी राजेशले तारालाई मार्ने योजना बनाएर एक हजार रुपैयाँमा छुरी किन्छन् ।
शरीरमै थियाे छुरी
२७ पुस २०६४ मा अभियुक्त छुरी बोकेर ताराको डेरामा पुग्छन् । त्यहाँ अपरिचित केटा मान्छेसँग तारालाई भेट्छन् । तारालाई केटाको बारेमा सोधेर फर्कन्छन् । दोस्रो पटक फर्केर जाँदा तारा कोठामा एक्लै हुन्छिन् ।
‘कोठामा एक्लै भएको मौकामा राजेशले ताराको शरीरमा छुरी रोपेरे हत्या गरेको खुलेको छ’, डीआईजी शाही भन्छन्, ‘कोखासहित छ ठाउँमा छुरीले रोपेर मृतकको शरीरमै छुरी छाडेर उनी भागेका थिए ।’
१२ वर्षपछि...
भनिन्छ, १२ वर्षमा खाेला फर्किन्छ । खाेला फर्किन्छ फर्किँदैन अलग कुरा तर १२ वर्षमा हत्यारा चाहिँ पक्राउ परेका छन् । २७ पुस २०६४ मा कोखामा छुरी रोपेर ताराको हत्या गरेपछि फरार भएका राजेश लामालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १२ वर्षपछि गत शुक्रबार पक्राउ गरेको छ ।
आइतबार हत्या अभियुक्त राजेशलाई सार्वजनिक गर्दै केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक डीआईजी निरज शाहीले भने, ‘ललितपुरको इमाडोलस्थित ताराको कोठमा पुगेर निरजले कोखासहित छ ठाउँमा छुरी रोपेको अवस्थामा शव फेला परेको थियो । हामीले लामो समयको प्रयासपछि हत्यामा संलग्न अभियुक्त सानु भन्ने राजेश लामालाई पक्रन सफल भएका छौं ।’
रङ लगाएर जीविकोपार्जन
हत्यामा संलग्न राजेश लामा अहिले ३७ वर्षका भए । तारालाई छुरी रोपेपछि राजु लामा नामको परिचय हटाएर उनी हेटौंडाको एक होटलमा काम गरेर बसे । सात महिना हेटौंडामा काम गरेपछि काठमाडौं फर्केर उनी विभिन्न होटलमा कुकको काम गर्न थाले । तर, ताराको हत्यापछि उनले कहिल्यै आफ्नो नाम राजु लामा बताएनन् ।
प्रहरीका अनुसार उनले विवाह गरेका छन् । साथमा एउटी छोरी छिन् । पछिल्लो समय घरमा रङ लगाउने काम गर्दै आएका राजुलाई ललितपुर जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धानका लागि ललितपुर प्रहरीलाई जिम्मा लगाइएको ब्युरोले जनाएको छ ।
हत्याको कारण खोज्दा...
ताराको हत्यापछि प्रहरीले हत्याको कारण खोज्न थाल्यो । सम्भाव्य हत्यारा पहिचान गरेपछि प्रहरीले राजेश लामालाई खोज्न थाल्यो । तर, उनी फेला परेका थिएनन् ।
‘हत्यामा संलग्न राजेश नै हुन्, विवाह गर्न नमानेका कारण उनले ताराको हत्या गरेको भन्ने कुरा यकिन भएपछि हामीले उनलाई नियन्त्रणमा लिएका हौं’, डीआईजी शाही भन्छन्, ‘प्रारम्भिक बयानमा उनले ताराको हत्या गरेको स्वीकार गरेका छन् ।’
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस