• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

विप्लवसँग सरकार झन आक्रामक : सरकारले वार्ता नै नगर्ने 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । हिंसात्मक गतिविधि गरिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग सरकारले वार्ता नगर्ने भएको छ । 

पछिल्लो समय विप्लव समूहले हिँसात्मक गतिविधि बढाएको छ । केही समय अघि यो समूहले ललितपुरमा वम विष्फोट गराएर एकजनाको ज्यान समेत लिएको थियो ।

विप्लव समूहले सेना गठन गरेको घोषणा गरेको छ भने हतियार सहित प्रदर्शन गरेर सभाहरु गर्ने गरेको छ । त्यसैगरी समानान्तर सरकारको रुपमा जनसरकार समेत गठन गरिरहेको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल विप्लव समूहसँग वार्ताको सम्भावनालाई इन्कार गरेका छन् । उनको भनाई छ– ‘ंिहँसा र  विस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता गर्दैन ।’

प्रधानमन्त्री ओलीले बैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधिमण्डलसँग सो कुरा बताएका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले भने– ‘जहाँजहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहाँ बम हान्नेहरुसँग के को वार्ता ? उनीहरुलाई कानून बमोजिम नियन्त्रणमा लिइन्छ ।”

विप्लव समूहले चन्दा उठाउन वैदेशिक रोजगार व्यवसायीहरुलाई धम्की दिइरहेको थियो । २४ फागुनमा संघका अध्यक्ष रोहन गुरुङको घरमा वम विष्फोट गराइएको थियो । सो विष्फोट विप्लव समूहले नै गरेको आरोप छ । विप्लव समूहले चन्दा माग्ने र नदिनेलाई वम आक्रमण गर्ने गरेको छ ।

वम आक्रमण तिव्र बनाएर विप्लव समूहले चन्दा नदिने सबैलाई तर्साइरहेको छ । यो समूहले चन्दा उठाउनकै लागि वम आक्रमण गर्दै आइरहेको छ । त्यसैले प्रधानमन्त्री ओलीले दुई दिन अघि विप्लव समूहलाई ‘चन्दा उठाउने समूह’ भनेका थिए ।

‘कतिपयले वार्ता गर्नुप¥यो भन्छन् तर के का लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने काम राजनीतिक हुन सक्दैन’ प्रधानमन्त्री ओलीले व्यवसायीहरुलाई भने ।

‘एउटा गिरोहले कम्यूनिष्टका नाममा घीनलाग्दो काम गरिरहेको छ’ ओलीको भनाई छ– ‘यहाँ त कम्यूनिष्टको नाममा यूवालाई लुट्न सिकाइरहेका छन् ।’

विप्लव समूहका नेता खड्कबहादुर विश्वकर्मालाई केही समय अघि प्रहरीले पक्राउ गरेको थियो । तर, उनलाई अदालतले रिहा गरिदियो । अदालतबाट रिहा हुनासाथ प्रहरीले पक्रने र रिहा गर्ने क्रम धेरै पटक चल्यो । उनको गिरफ्तारीको विरुद्ध मानअवधिकारकर्मीहरु उत्रिएका थिए । तर, उनी पनि भूमिगत भएका छन् 

प्रधानमन्त्री ओलीको यो भनाईसँगै सरकारले विप्लव समूहलाई कडाई गर्न थालेको छ । गत महिनाभरीमा करिब पाँचसय जना विप्लवका कार्यकर्ता पक्राउ परेका छन् । त्यसैगरी कपिलवस्तु स्थित विप्लवको घर तथा गाउँमा प्रहरीले खोजतलास अभियान चलाएको थियो । 

विप्लवसँग विगतमा सेना र प्रहरीले प्रयोग गर्ने हतियार रहेको गृह प्रशासनसँग सूचना रहेको बुझिन्छ । विप्लव समूहकाहरुबाट वरामद भएका हतियार विगतमा सेनाले प्रयोग गर्ने हतियार हो भनेका छन् जानकारहरुले । नेकपा अध्यक्ष तथा तत्कालीन माओवादीका सर्वाेच्च कमाण्डर पुष्पकमल दाहाल प्रचण्डले त्यसबेला क्यान्टोनमेन्टमा रहेका बाहेक अन्य हतियारको जिम्मेवारी आफूले नलिने बताइसकेका छन् ।

माओवाद मान्नेहरुको भावभूमि मानिने रोल्पामा विप्लव समूहले विगत माओवादी केन्द्रमा रहेकाहरुलाई आक्रमण गरिरहेको बताइन्छ । खासगरी वर्षमान पुन अनन्त निकटहरुलाई विप्लव समूहले टार्गेट गरिरहेको बताइन्छ ।

विप्लव समूहप्रति प्रधानमन्त्री ओलीका साथै प्रचण्ड लगायतका नेताहरुले  कडा अभिव्यक्ति दिइरहेका छन् । तर, विप्लव समूहको कुनै जवाफी प्रतिक्रिया आएको छैन । 
 

प्रतिकृया दिनुहोस