क्रिकेट टोली भोली फर्किंदै, सन्दीप र सोमपाल क्यानडा जाने
काठमाडौं । टी–२० विश्वकप अन्तर्गतको एसियाली छनोट प्रतियोगिता खेल्न सिंगापुर गएको क्रिकेट टोली सोमबार नेपाल फर्किने तालिका रहेको छ ।
पाँच टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपाल तेस्रो बन्दै युएईमा आयोजना हुने आईसीसी ग्लोबल क्वालिफायरमा छनोट हुन सकेन ।
मलेसियन एयरलायन्सबाट फर्किन लागेको टोली सोमबार बेलुका १० बजेर ३० मिनेटमा आइपुग्ने जानकारी नेपाली क्रिकेट टोलीका व्यवस्थापक रमण शिवाकोटीले दिएका छन् ।
सन्दीप लामिछाने र सोमपाल कामी भने नेपाल नफर्किने उनले बताए । क्यानडामा जारी ग्लोबल टी–२० क्यानडाको लागि छानिएका सन्दीप र सोमपाल सिंगापुरबाट टोरन्टो लाग्ने यसअघि नै तय भएको थियो ।
क्यानडाको स्थानिय समयअनुसार सोमबार बिहान ८ः२५ मा यी दुई खेलाडी पुग्नेछन् ।
सोही दिनको बेलुका १० बजे सन्दीप र सोमपालको टोली एक आपसमा खेल्दैछन् । उक्त खेलको लागि दुबै खेलाडी उपलब्ध हुने पनि शिवाकोटीले बताए ।
क्यानडाको फ्रान्चाइज लिग प्रतियोगिताको लागि सन्दीपलाई टोरन्टो नेशनलले ६० हजार डलरको आधार मुल्यमा र सोमपाललाई विन्नीपिग हक्सले तीन हजार डलरको आधार मुल्यमा खरिद गरेको थियो । सन्दीपले यो प्रतियोगिता लगातार दोस्रो वर्ष खेलिरहेका छन् भने सोमपालको यो पहिलो फ्रान्चाइज प्रतियोगिता रहेको बताईन्छ ।


प्रतिकृया दिनुहोस