बजार क्षेत्रमा ‘फायर हाइड्रेन्ट’ नहुँदा आगलागीको जोखिम
कावासोती। बजार क्षेत्रमा कुनै आगलागीका घटना घट्यो भने दमकललाई पानी खोज्दै खोलातिर जानुपर्ने बाध्यता रहेको छ । नजिकै पानी भर्न मिल्ने कुनै स्रोत नहुँदा समयमा आगलागी नियन्त्रण गर्न नसकी थप क्षति हुने खतरा रहेको छ ।
दमकललाई पानी भर्न मिल्ने गरी ‘फायर हाइड्रेन्ट’ नहुँदा आगलागीका कुनै घटना घटे समस्या पर्ने देखिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका मुख्य बजार क्षेत्रमा ‘फायर हाइड्रेन्ट’ बनाइएको छैन ।
जिल्ला सदरमुकाम कावासोतीमा समेत फायर हाइड्रेन्ट छैन । यसअघि कावासोतीको फलफूल चोकमा एउटा ‘फायर हाइड्रेन्ट’ रहे पनि प्रयोगविहीन बनेको थियो । धेरै वर्षपहिले निर्माण गरिएकाले जीर्णभएको उक्त ‘फायर हाइड्रेन्ट’ अहिले नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बाटोमा पर्ने भएपछि उखेलिएको छ ।
दमकललाई पानी भर्न मिल्ने गरी प्रविधि जडान गरिनुलाई ‘फायर हाइड्रेन्ट’ भनिन्छ । ‘फायर हाइड्रेन्ट’ बाट दमकलका लागि सहजरूपमा पानी निकाल्न सकिने हुँदा बजार क्षेत्रमा कुनै आगलागीका घटना घटे समयमा निभाउन सकिन्छ ।
–रासस


प्रतिकृया दिनुहोस