• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

निजी वनका नमुना किसान प्रसाईं

रासस

रासस

झापा । आफ्नो चार बिघा क्षेत्रफलमध्ये अढाइ बिघा क्षेत्रफलमा  निजी वन लगाएर जिल्लाकै उदाहरणीय कृषकका रुपमा परिचित हुनुहुन्छ झापा कनकाई नगरपालिका– ६ निवासी शान्तिराज प्रसाईं । 

०७० मा पाथीभरा निजी वनबाटिका तत्कालीन जिल्ला वन कार्यालय झापामा दर्ता गर्दै उनले निजी वन लगाउन शुरु गरे । चार बिघा क्षेत्रफलमा निजी वन लगाउने सोच बनाउनुभएका उनले पहिलो चरणमा अढाइ बिघा क्षेत्रफलमा मात्रै निजी वन लगाए ।

झण्डै १५ लाख रुपैयाँ लगानी गर्दै प्रसाईंले धान खाने खेत मासेर बिरुवा रोपे । शुरुमा उनलाई धेरैले पागलको सङ्ज्ञासमेत दिनपछि परेनन् तर निरन्तरको मेहनत र लगनशीलताका कारण प्रसाईं दम्पती (शान्तिराज–कुसुम) लाई वन तथा वातावरण मन्त्रालयले देशकै उत्कृष्ट कृषकका रुपमा सम्मान गरेसँगै प्रसाईं दम्पतीको चर्चा नगर, जिल्ला हुँदै देशभर फैलियो ।

]निजी वनको व्यवस्थापन, संरक्षण, सम्वद्र्धन र व्यवस्थापनबाट वन पैदवार आपूर्ति तथा स्थानीय रोजगारीमा अभिवृद्धि एवं जैविक विविधताको संरक्षणमा योगदान पुर्‍याएको भन्दै वन तथा भू–संरक्षण विभागसमेतले असार ३१ गते काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच नगद रु ७५ हजारसहित पुरस्कृत गरेसँगै शान्तिराजले लगाएको निजी वन हेर्न आउनेको लर्काे नै लागेको छ ।

दुई वर्षअघि जिल्ला वन कार्यालय झापाबाट निजी वन प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभएका प्रसाईंले भिन्न अवधारणाका साथ वनसँगै आयमूलक व्यवसायसमेत शुरु गरेकाले यतिका धेरै सफलता प्राप्त गरेको डिभिजन वन कार्यालय झापाका डिभिजनल वन अधिकृत विष्णुलाल घिमिरेले बताए । 

प्रसाईंले अहिले आफ्नो निजी वनभित्र जडीबुटीसहित कागती र फलफूलखेती गर्नुभएको छ । उनले झण्डै एक हजार बोट कागती लगाएका छन् भने वन क्षेत्रभित्र केरा खेतीसमेत गरेका छन् । जसबाट वर्षेनी मनग्य आम्दानी लिने गरेको उनको भनाइ छ । 

योसँगै उनले बेसार, अदुवा, तरकारीखेती पनि गर्दै आउनुभएको छ । स्थानीय बेरोजगार युवालाई समेत रोजगारी दिलाएर निजी वनभित्र उहाँले तीन सय लोकल कुखुरासमेत पालेका छन् ।

वनभित्रै कुखुरापालन व्यवसाय गर्दा कुखुरा पनि फष्टाउने र वनलाई समेत मल हुने भन्दै उनले लोकल कुखुरा पाल्नुभएको हो । 
कुखुरा मात्र होइन प्रसाईंले हाँस र गाईसमेत पालन गर्नुभएको छ । जसबाट उनले मनग्य आम्दानी लिने गरेको बताइन्छ । 

पछिल्लो समय झापामा निजी वन लगाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । झापामा झण्डै पाँच सय निजी वन दर्ता भएका छन् । प्रसाईंले थोरै क्षेत्रफलमा निजी वन लगाए पनि भिन्न अवधारणाका साथ शुरु गरेको वनले छोटो समयमा धेरै आम्दानी दिन थालेपछि उनको सिको गर्ने किसानको सङ्ख्यासमेत बढ्दो छ ।
 

प्रतिकृया दिनुहोस