• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

झुठो प्रतिवेदन बनाउने मानवअधिकारवादीलाई सरकारले कारवाही गरेन

सनराईज खबर संवाददाता

सनराईज खबर संवाददाता

काठमाडौं । निर्मला पन्त हत्याकाण्ड प्रकरणमा सरकारको लाचारीका अनेक पक्ष देखिएको छ । तीमध्येको एउटा हो– हत्याकाण्डको अनुसन्धानलाई गलत मोड दिन एउटा मानवअधिकारवादी संस्थाले गरेको हर्कतमा कारवाही नगर्नु । 

निर्मला हत्याकाण्डलाई सुनियोजित रुपमा गलत मोड दिने कार्यमा नेपाल मानव अधिकार संगठनले भूमिका निर्वाह गरेको प्रष्ट भइसकेको छ । तैपनि सरकारले यो संस्थालाई न कारवाही गरेको छ न सचेत बनाउन कुनै प्रकृया नै अपनाएको छ । 

प्रतिवेदनले गरेको अपराध

यो संगठनले निर्मला पन्त हत्याकाण्डको स्थलगत अध्ययन गरेर तयार पारेको भनिएको प्रतिवेदनले हत्याकाण्डबारे अनेक अफवाह र भ्रम फैलाएको थियो । संगठनले आफ्नो स्थलगत प्रतिवेदन गत असोज २० मा सार्वजनिक गरेको थियो । 

प्रतिवेदनमा किरण विष्ट र आयूष विष्टको नाम हत्याका आशंकितका रुपमा किटान गरिएको छ । हत्यामा यी व्यक्तिको संलग्नता कुनै पनि कोणबाट पुष्टि भएन । उनीहरुले हत्यामा आफ्नो कुनै पनि सम्वन्ध रहेको प्रमाणित गर्न सार्वजनिक चुनौती दिइसकेका छन् ।

हत्यामा उनीहरुको संलग्नता छ भन्ने आधार प्रमाण स्थलगत अध्ययनमा के देखियो ? संगठनको प्रतिवेदनले खुलाएको छैन ।

हत्याका मतियारका रुपमा प्रतिवेदनले वविता वम र रोशनी वमको नाम उल्लेख गरेको छ । वविता होटलकी डान्सर भनी प्रतिवेदनमा उल्लेख छ । तर, वविता डान्सर नै नभएको पुष्टि भइसकेको छ । त्यसैगरी निर्मला वेपत्ता भएको दिन वम दिदीबहिनीको घर नजिकै भैंसी ब्याएको भनी घटनालाई तिलस्मी रुप दिन प्रतिवेदनले प्रयास गरेको थियो । तर, उनीहरुको घर नजिकै भैंसी व्याएको पनि पुष्टि भएन । 

संगठनले हत्याकाण्डभित्रका सुक्ष्म तथ्यहरुलाई तोडमरोड गरेर समाजलाई भ्रमित पार्ने र उत्तेजना फैलाउने नियत बोको देखिन्छ । खासगरी निर्मलाको साइकल सम्बन्धमा प्रतिवेदनमा सुनियोजित रुपमा गलत तथ्य प्रस्तुत गरिएको छ ।

निर्मलाको साइकल उनी वेपत्ता भएको भोलिपल्ट भेटिएको भनी प्रतिवेदनमा उल्लेख छ । साधारण लाग्ने यो गलत तथ्यले घटना सम्बन्धमा समाजमा ठूलो भ्रम सिर्जना भएको थियो । निर्मलाको साइकल अघिल्लो दिन नै घटनास्थलमा देखिएको पुष्टि भइसकेको छ । साइकल अघिल्लै दिन घटनास्थलमा देख्ने स्थानीयवासीहरुको बयान पनि बाहिर आइसकेको छ । 

साइकल अघिल्लै दिन फेला पर्नु र भोलीपल्ट फेला पर्नुको खास अर्थ रहेको छ । अघिल्लै दिन फेला पर्नुको अर्थ घटनामा वम दिदी बहिनीको कुनै संलग्नता नरहेको झन धेरै पुष्टि हुनु हो । 

वास्तविक हत्यारा लुक्ने वातावरण बनाएर निर्मला प्रकरणलाई राजनीतिक मोड दिने र अपराधी कहिल्यै फेला पार्न नसकिने दिशातिर अनुसन्धानलाई मोड्न संगठनले यस्तो प्रतिवेदन बनाएको आशंका हुन थालेको छ । 

प्रतिवेदनले निर्मला हराएको रात महेन्द्रनगरको ओपेरा होटलमा एक वर्थडे पार्टी भएको र त्यसमा घटनासँग सम्वन्धित मानिसहरु भएको उल्लेख गरेको छ । प्रतिवेदनमा उल्लेख भएको यो कुराले पनि निर्मला हत्या प्रकरणमा समाजमा अनेकौं अफवाह र उत्तेजना फैलाउने काम गरेको थियो । 

निर्दाेषलाई अपराधी बनाउन संगठनले खडा गरेको काल्पनिक कथ्य सवै झुठो रहेको स्पष्ट भइसकेको छ । 

नेपाल मानवअधिकार संगठनले सुनियोजित रुपमा गलत प्रतिवेदन तयार पारी समाजलाई गुमराहमा राख्ने तथा उत्तेजना फैलाउने नियत राखेको प्रष्ट भइसकेको छ । तैपनि सरकारले यो संगठनलाई कुनै कारवाही गरेको छैन । 

कसको दुर्नियत ?

निर्मला हत्याकाण्डको स्थलगत अध्ययन प्रतिवेदनले नेपालमा मानवअधिकारवादी संस्थाहरुले कति हचुवा प्रतिवेदन बनाउँछन् भन्ने उदांग बनाएको छ । यस्ता स्थलगत अध्ययनहरु मानवअधिकारको रक्षा र प्रवद्र्धनका लागि भन्दा कुत्सित राजनीतिक उद्देश्य पूर्तिका लागि हुने गरेको तथ्य पनि उजागर भएको छ ।

संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल, महासचिव महामूनीश्वर आचार्य र संगठनका कञ्चनपुर अध्यक्ष त्रिभुवन भट्टले ‘स्थलगत’ अध्ययनबाट प्रतिवेदन तयार पारेको भनिएको छ । तर, उनीहरु वम दिदीबहिनीको घर पनि नपुगेको र छरछिमेकमा समेत नपुगी प्रतिवेदन तयार पारेको पुष्टि भइसकेको छ । 

निर्दाेषलाई फसाउँदै सामाजिक इज्जत प्रतिष्ठामा क्षति पुर्याउने र त्यसैको आडमा अपराधी लुक्ने आधारभूमि खडा गर्ने काम उक्त प्रतिवेदनले गरेकाले संगठनका अध्यक्ष अर्याल र उनको टोलीमाथि कारवाही हुनुपर्ने माग भइरहेको छ ।

प्रतिवेदन निहित उद्देश्य राखेर कोठामै तयार पारिएको प्रष्ट भइसकेको छ । तर, संगठनले अहिलेसम्म माफी माग्ने र प्रतिवेदन सच्याउने काम गरेको छैन । ‘मानवअधिकार संगठनले हाम्रो मानवअधिकार हनन गर्यो,’ वम दिदीबहिनीले सार्वजनिक रुपमै भनिसकेका छन । 

‘यो प्रतिवेदनमा नेपाल मानवअधिकार संगठनलाई मुछ्न पाइँदैन’– नेपाल मानवअधिकार संगठनका एक पूराना सदस्यले सनराइज खबरसँग भने । उनका अनुसार यो प्रतिवेदन उपर संगठनभित्रै ठूलो विवाद छ । सिके राउतको रिहाईका लागि चलाइएको अभियान, निर्मला हत्याकाण्डको प्रतिवेदन लगायतका विषयमा संगठनका अध्यक्षको नियत ठिक नभएको र त्यसमा पूरै संगठनलाई मुछ्न नपाइने उनको दावी छ । 

तर, संगठनकै नाममा प्रतिवेदन आइसकेको हुनाले कोही सदस्य असहमत हुँदैमा प्रतिवेदनलाई वेवास्ता गर्न सकिँदैन । यो विवादास्पद प्रतिवेदन संगठनको वेवसाइटमा अझै राखिएको छ । निर्मला हत्याकाण्डको प्रतिवेदनमा इन्द्रप्रसादको दुर्नियत रहेको उनको पृष्ठभूमिले पनि देखाउँछ । विखण्डनकारी सिके राउतको पक्षमा इन्द्रप्रसाद खुलेआम उभिने गरेका छन् । त्यसैगरी फ्रि तिब्बत अभियानमा पनि इन्द्रको संलग्नता रहँदै आएको छ । 

कस्तो मानवअधिकार संगठन ?

नेपाल मानवअधिकार संगठन पञ्चायतकालमै गठन भएको हो । यसको स्थापनामा हृ्रषिकेश शाह, पद्मरत्न तुलाधर, प्रकाश काफ्ले लगायतले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए । नेपालमा मानवअधिकारको क्षेत्रमा यो संगठनलाई अग्रणी मानिन्थ्यो । पछि यो संगठनका अध्यक्ष सुदीप पाठक भए । उनी अहिले मानवअधिकार आयोगका सदस्य छन् । सुदीपको पालामा संगठनमा आन्तरिक विवाद बढ्यो । पूराना धेरैले संगठन छाडे । संगठनभित्र भ्रष्टाचारको कुरा उठ्यो । सुदीपले संगठनलाई निजीकरण गरेको आरोप लाग्यो । 

इन्द्रप्रसादको पालामा संगठन झन् विवादास्पद बन्यो । इन्द्रले विखण्डकारी सिके राउत र फ्रि तिब्बतको पक्ष लिएपछि विवाद बढेको हो । उनले मानवअधिकार संगठनको तर्फबाट सिकेको रिहाईका लागि विज्ञप्ति समेत जारी गरेका थिए । यो विषयमा संगठनभित्र ठूलो विवाद रहेको छ तर इन्द्रप्रसाद र उनको टोलीले संगठन पूर्ण रुपमा क्याप्चर गरेको छ । त्यसैले त्यहाँभित्र विरोधको कुनै अर्थ हुँदैन ।

नेपालमा विभिन्न कारणले मानवधिकारवादी संगठनहरु वदनाम हुँदै आएका छन् । यसको पछिल्लो कडी निर्मला पन्त प्रकरणमा संगठनले तयार पारेको तथ्यहीन प्रतिवेदन पनि बनेको छ । 

झुठो र तथ्यहीन प्रतिवेदन तयार पारेर समाजमा भ्रम फैलाउने, तथ्यलाई तोडमरोड गर्ने काम गरेकोमा संगठनलाई कारवाही गर्न जनस्तरबाट माग भइरहेको छ । तर, ओली सरकारले अहिलेसम्म यो विषयमा चुँ सम्म गरेको छैन । भुठो प्रतिवेदनका बारेमा अहिलेसम्म ओली सरकारका मन्त्रीहरु कोही पनि बोलेका छैनन् । 

प्रतिकृया दिनुहोस