• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

प्रधानमन्त्री ओलीले पनि भने– जनमत संग्रह होइन

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनमत संग्रह बारेमा फैलिएको अफवाहको खण्डन गरेका छन् । प्रधानमन्त्री ओलीको भनाई छ– राष्ट्रिय अखण्डताको बिषयमा जनमत संग्रह हुनै सक्दैन ।

राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको १८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं परिषदका अध्यक्ष ओलीले पृथकतावादी समूह सानो भए पनि त्यो विशाक्त हुने भएकाले बेलैमा नियन्त्रण गर्नु सरकारको दायित्व हो भने । 

उनले भने– ‘पृथकतावाद सानो भए पनि त्यो घातक हुन्छ । त्यसैले यसलाई सरकारले महत्व दिएर नै निस्तेज पारेको हो ।’ 

सिके राउतसँग जनमत संग्रहमा सहमति भएको भनी फैलिएको अफवाहको गृहमन्त्री रामबहादुर थापाले पनि आइतबार प्रतिनिधिसभा वैठकमा खण्डन गरेका थिए । आज प्रधानमन्त्री आफै खण्डन गर्न अग्रसर भएका हुन् । प्रधानमन्त्री ओलीले प्रष्ट पार्दै भने– ‘राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह हुनै सक्दैन । यस बिषयमा कसैले चिन्ता नगरे हुन्छ ।’

पृथकतावादको अन्त्य हुँदा एकथरी मान्छे मुरमुरिएको देखेर आफू आश्चर्यमा परेको ओलीले बताए । 

‘नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छे पानी बिनाको माछा जस्तो भुटभुटिएका छन्’– प्रधानमन्त्री ओलीले भने– ‘राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा आँच पु¥याउने कुरामा जनमत संग्रह गर्ने भन्ने कुरा सोच्न पनि मिल्दैन ।’

विभिन्न आवरणमा चन्दा लिने, लुटपाट गर्ने कार्य सरकारलाई  मान्य नहुने भन्दै प्रधानमन्त्री ओलीले भने– ‘देशको  शान्ति सुरक्षा र अमनचयन खल्बल्याउने कुनै गतिविधि सरकारलाई मान्य हुँदैन ।’ 

‘कोही मृत संस्था जिवित गराउने सपना देख्छन्, कोही क्रान्तिका नाममा जनता अल्मल्याउने कुरा गर्छन् । ती दुवै कुराहरुलाई निस्तेज पारिन्छ’– ओलीले भने । उनले देशको अखण्डता, सार्वभौमसत्ताको रक्षा र राष्ट्रिय सुरक्षाका लागि सुरक्षा परिषदले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । 

प्रतिकृया दिनुहोस