सिके राउतसँगकाे सम्झाैतामा शंका नगराैं- प्रचण्ड
पोखरा । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का गर्नु नपर्ने बताएका छन् । प्रेस सङ्गठन नेपाल कास्कीले पाेखरामा आयाेजना पत्रकार भेटघाटमा उनले पृथकतावादी आन्दोलन गरिरहेको समूहलाई मूलधारमा ल्याउने प्रयास स्वरुप सम्झौता भएको दावी गरे ।
पार्टी बैठक र सरकारसँगको छलफल समेतका आधारमा संविधानको मूल मर्म र भावना, राष्ट्रिय एकता, स्वाधीनतालाई सम्मान गर्दै मूलधारको राजनीतिमा ल्याउने भावनामा सहमति भएको उनले बताए । सरकारले सबै राजनीतिक प्रवृत्तिलाई मूलधारको राजनीतिमा ल्याउनु जायज कुरा भएको बताउँदै प्रचण्डले समग्र राष्ट्रिय एकता, स्वाधीनता र सबैलाई समेट्न सरकार गम्भीर छ भन्ने देखाएको बताए ।
राष्ट्रिय एकताका लागि सकेसम्म सबैलाई समेट्ने लक्ष्यअनुरुप सम्झौता भएको बताउँदै उनले सम्झौताका भाषालगायतका विषयमा पनि धेरै विवाद गर्नुपर्ने अवस्था नरहेको जिकिर गरे । जनअभिमत, जनमत सङ्ग्रहजस्ता विषय संसद्को दुईतिहाइ बहुमतबाट निर्णय गर्नुपर्ने उनले बताए ।
सरकारले सबैलाई समेटेर अघि बढ्ने बताउँदै उनले विप्लव नेतृत्वको पार्टीलाई कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारसँग वार्ता गरी मूलधारको राजनीतिमा आउन आग्रह गरे । नेपालमा विस्फोट तथा हतियारको राजनीतिको अब कुनै अर्थ नरहेको बताउँदै उनले वर्तमान परिस्थिति गुणात्मकरूपमा परिवर्तित भइसकेको र विस्फोट तथा हतियारको राजनीति अब सम्भव नभएको र त्यस सम्बन्धमा राज्य चुप लागेर नबस्ने बताए ।


प्रतिकृया दिनुहोस