• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

'अब मेरा छोरीहरुले आत्महत्या गर्दैनन्, संघर्ष गर्छन्'

युवराज गिरी

युवराज गिरी


‘हाम्रो आँखामा आँशु सकियो’, वविता भन्छिन् । वविताको प्रतिवाद गर्दै रोशनी भन्छिन्, ‘आँशु सकिए पनि रगत सकिएको छैन, हामी रगतको आँशु रोइरहेछौं ।’

वविता दिदी, रोशनी बहिनी हुन् । यी उनै दिदीबहिनी हुन् जसलाई राजनीतिक दुष्चक्रमा परेर कतिपयले ‘वेश्या’ ‘ज्यानमारा’ ‘हत्याका मतियार’ जस्ता उपाधी कतिपयले दिए ।

यो दर्दनाक कथा सुरु हुन्छ साउन १० गते पन्त परिवारमा आएको महाभूकम्पबाट । १३ वर्षीय निर्मला पन्तको हत्या भयो । त्यो भूकम्पपछि आएको सुनामीले धेरैतिर असर गर्यो । सर्वाधिक असर गर्यो वम परिवारमा । यो हत्यापछि वम परिवार ज्यूँदो लाशमा परिणत भयो । 

निर्मलाको हत्याले पन्त परिवार पीडित हुने नै भयो, त्यो दुर्दान्त हत्याले पूरै देश रोयो । वम परिवार पनि रोयो । तर, वम परिवारको आँशुको अर्थ फरक थियो, आँशुको गहिराई र मर्म फरक थियो । 

निर्मला हत्या प्रकरणभित्र धेरै अध्याय छन् । तीमध्ये एउटा दर्दनाक अध्याय हो वम परिवारको पीडा । 

वम परिवारको कथा अर्थात् व्यथाको पहिलो अध्याय सुरु हुन्छ निर्मलाको हत्यासँगै । यसबारे सर्वत्र समाचार आइसकेको छ । व्यथाको दोस्रो अध्याय चाहिँ काठमाडौंबाट सुरु हुन्छ । 

इन्द्रको इन्द्रजाल, एउटा परिवारको काल

कुनै जमाना अग्रणी मानिन्थ्यो नेपाल मानवअधिकार संगठन । कालान्तरमा यसले साख गुमाउँदै गयो र बदनाम हुँदै गयो । अहिले अध्यक्ष छन् इन्द्रप्रसाद अर्याल । उनको नेतृत्वमा निर्मलाको हत्याको स्थलगत अनुसन्धान गर्न एउटा टोली कञ्चनपुर पुग्यो । 

टोलीले घटनाको दुई महिनापछि प्रतिवेदन सार्वजनिक गर्यो काठमाडौंमा । त्यसपछि निर्मला हत्याकाण्ड अनुसन्धनमा झन रहस्यमय मोड आयो । प्रतिवेदनले वम परिवारलाई ज्यूँदो लाश बनाइदियो । 

‘त्यो प्रतिवेदन आएपछि मिडियामा हामी वेश्या हौं भन्दै समाचार आउन थाल्यो, सामाजिक संजालमा हामीलाई वेश्या भन्न थालियो,’ वविता भन्छिन् । 

यी उनै वविता हुन् जसलाई प्रतिवेदनले डान्सर काम गर्ने भनी उल्लेख गरेको छ । प्रतिवेदनमा ववितालाई ओपेरा होटलको डान्सर भएको आशय देखाइएको छ । तर, प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा इन्द्रले ववितालाई ओपेरा होटलकै डान्सर भनेका थिए । 

‘मैले ओपेरा होटल बाहिरबाट देखेको हो, भित्र कहिल्यै पसेकी छैन,’ रुँदै भनिन् वविताले, ‘मलाई नाच्न अलिकति पनि आउँदैन, कहिल्यै नाचेकी छैन ।’

संगठनको प्रतिवेदनपछि वविता र उनकी बहिनी रोशनीलाई हत्यारा, हत्याका मतियार भन्दै समाचार आउन थाले, सामाजिक संजालमा अमर्यादित टिप्पणी हुन थाल्यो । वम दिदी बहिनीलाई पक्रेर हत्याको अनुसन्धान गर्नुपर्छ भन्दै माग हुन थाल्यो । सत्य चाहिँ के थियो भने हत्या लगत्तै यी दिदीबहिनीलाई प्रहरीले पक्रिसकेको थियो । १६ वर्ष नपुगेकी नाबालिका रोशनीलाई सात दिन र ववितालाई २० दिन थुनामा राखिसकेको थियो । 

वविता र रोशनीको ‘दोष’ के थियो भने निर्मला उनीहरुको घर आएकी थिइन् र त्यहाँबाट बाहिरिएपछि वेपत्ता भएकी थिइन्, पछि निर्मलाको लाश भेटियो । 

त्यो कालो दिन
 

निर्मला र रोशनी एउटै कक्षामा पढ्थे । त्यो दिन रोशनीको घर आइन् निर्मला । दिउँसो दुई बजेतिर फर्किइन् । त्यसपछि वविता र रोशनी दिदीबहिनीकोमा छिमेकीहरु आए, छिमेककी एक वालिका नाचिन्, उनीहरुले रमाइलो गरे । तर, त्यो रमाइलो धेरै समय टिकेन ।

निर्मला घर पुगिनन्, उनकी आमा खोज्न आइन् । त्यसपछि के भयो ? सर्वत्र मिडियामा आइसकेको छ ।

त्यसपछि वविता र रोशनीको घरबाटै निर्मला गायव भएको, हत्यामा उनीहरु मतियार भएको शंका गरियो । इन्द्रप्रसादको टोलीले झुठो र काल्पनिक प्रतिवेदन तयार पारेपछि त झन हत्याकाण्डको अनुसन्धान राजनीतिक विषय बन्यो ।

त्यो दिन निर्मला साइकल चढेर आएकी थिइन् । साइकल चढेरै फर्किएकी थिइन् । साँझ उखुबारी नजिक निर्मलाको साइकल भेटिएको थियो । तर, प्रतिवेदनमा भोलिपल्ट मात्र साइकल भेटिएको लेखियो । तथ्यलाई यसरी सुनियोजित रुपमा बंगाइएपछि वम दिदीबहिनी हत्याका मतियार हुन् भन्ने भ्रम झन चर्काेसँग फैलियो ।

यी दिदीबहिनीको हत्यामा कुनै संलग्नता नभएको पुष्टि भइसकेको थियो तर संगठनले एकाएक त्यस्तो प्रतिवेदन सार्वजनिक गरिदिएको थियो । 

‘प्रतिवेदनपछि हाम्रो जीवनमा, हाम्रो परिवारमा महाप्रलय आयो’ आमा इन्द्रादेवी भन्छिन् । 

इन्द्रजाल जस्तै जाली प्रतिवेदन ल्याएका थिए इन्द्रले । 

बुवा रोएको देख्दा

इन्द्रले तयार पारेको प्रतिवेदनले निर्मला हत्याकाण्डको अनुसन्धानलाई अत्यन्तै गलत मोड दिएको, हत्यारा पत्ता लाग्नै नसक्ने अवस्था सिर्जना गर्न खोजेको छ । हत्याकाण्डलाई राजनीतिकरण गर्न अरु पनि लागेका छन् । यो ‘राजनीति’ले सबैभन्दा बढी चाहिँ वम परिवारलाई ज्यूँदो लाश बनाएको छ । 

‘म दार्चुलाको दुहुँ गाउँपालिकाको वडा कार्यालयमा काम गर्छु, मेरा पति दीपेन्द्र शिक्षक हुनुहुन्छ, यी छोरीहरु भविष्यमा यस्तो होलान् भनेर अनेक सपना देख्थ्यौं,’ मजेत्रोले आँखा पुछ्दै आमा भन्छिन् ।

अहिले काठमाडौं आएका छन् वविता, रोशनी र आमा । तीनैजना डोट्याली भाषा मिश्रित नेपाली बोल्छन् । 

बविता भन्छिन्, ‘बुवा रुनुभएको पहिले कहिल्यै देखेकी थिइन, बुवा रोइरहनुहुन्छ, त्यो देख्दा मुटु चिरिएर आउँछ ।’

रोशनी भन्छिन्, ‘बुवा रुनुहुन्छ तर हामीलाई सम्झाउनु पनि हुन्छ । सत्यको जित हुन्छ, तिमीहरुले यो लान्छनाबाट मुक्ति पाउँछौ, चिन्ता नगर भन्नुहुन्छ तर बुवा आफै चाहिँ चिन्ताले सुकिसक्नुभयो ।’

इन्द्रादेवी र जनक दम्पत्ति दार्चुला बस्छन् । दुई छोरी, छोरा बुहारी र एक नातिनी महेन्द्रनगर बस्छन् । 

‘जागिरका लागि दार्चुला बस्नै पर्यो, उहाँ रातभरी सुत्नुहुन्न । राति म तर्र्संदै ब्यूँझन्छु, त्यसबेला उहाँ ओछ्यानमा वर्काे ओढेर टुक्रुक्क बसिरहनुभएको हुन्छ । न उहाँले मलाई सम्झाउनुहुन्छ, न मैले नै उहाँलाई सम्झाउन सक्छु’, आमा भन्छिन् ।

यो आँशुको नाता दार्चुलापारीको पिथौरागढमा एउटा घरसँग पनि जोडिएको छ । त्यो घर हो वविता र रोशनीकी हजुरआमाको । ‘मेरी आमा ७० वर्षभन्दा धेरै हुनुभयो, पिथौरागढमा एक्लै बस्नुहुन्छ, उहाँको पनि रोएर वेहाल छ, यो बुढेसकालमा मैले यो के भोग्नुपर्यो भनेर विक्षिप्त हुनुहुन्छ,’ इन्द्रादेवी भन्छिन् । 

सपनामा आउँछिन् निर्मला

रोशनीको सपनामा निर्मला आइरहन्छिन् । ‘निर्मलालाई चारपाँच पटक सपनामा देखिसकें,’ रोशनी भन्छिन्, ‘अस्ति एकदिन सपनामा निर्मला आइन्, किन रोएको रोशनी, नरोऊ, चिन्ता नगर भनिन् ।’

वविता भन्छिन्, ‘सपनामा निर्मला आएपनि विपनामा त मानवअधिकारवादी, पत्रकार, सामाजिक संजाल मात्र आउँछ । कसले के भन्ने हो, के लेखिदिने हुन् भनेर जतिबेला पनि आतंकित भएर बस्नुपरेको छ ।’

रोशनीले स्कूलमा मानवअधिकार भनेको सुनेको थिइन्, मानवअधिकारवादी राम्रा मान्छे हुन्छन् भन्ने लाग्थ्यो । ‘पहिलो पोष्ट अनलाइनका सविन ढकाल बाहेक हाम्रो घर टोलमा कोही पत्रकार पुगेको छैन, उहाँले सत्य लेखिदिनुभयो । अरु पत्रकार र मानवअधिकारवादी कोही पुगेका छैनन्, यी मिडिया र मानवअधिकारवादीले हुँदै नभएको कुरा लेखेर हाम्रो परिवारलाई ज्यूँदै मार्यो किन ?’

यो ‘किन’को जवाफ वम परिवारले पाउन सकेको छैन । इन्द्रप्रसादले प्रतिवेदन सार्वजनिक गर्दा वम दिदीबहिनीकोमा शक्तिशाली मानिसहरुको आउजाउ हुने बताएका थिए । वम दिदीबहिनीको यहाँ दिइएको तस्विर हेरौं, शक्तिशाली व्यक्तिहरु आउँथे कि आउँदैनथे, अनुमान गर्न गाह्रो छैन ।  

बन्द भयो मीठो झगडा 

‘हामी छिनछिनमा झगडा गरिरहन्थ्यौं,’ दिदीलाई देखाउँदै रोशनी भन्छिन्, ‘झगडा गथर््यौं अनि मिलीहाल्थ्यौं, रमाइलो थियो जीवन ।’

तर, आजकाल झगडा पर्दैन । दिदीबहिनी सधैं एउटै खाटमा सुत्थे, अहिले पनि एउटै खाटमा सुत्छन् । पहिले विजुली निभाएर सुत्थे अहिले विजुली नबाली सुत्न सक्दैनन् । राति कि दिदी तर्संदै उठ्छिन्, कि बहिनी तर्संदै उठ्छिन् । आमा भन्छिन्, ‘मेरा यी छोरीहरु छिनछिनमा झगडा गरिरहन्थे, हासिरहन्थे, मिल्थे । म कराइरहन्थें । अहिले मेरा यी अवोध छोरीहरु झगडा गर्दै मिलेको देख्न पाउँदिन, यिनले हासेको देख्न पाउँदिन । टिभी पनि हेर्दैनन् । दुवैजनाको पढाई पनि छुट्यो ।’

तर, यी आमाको ह्रदयमा दह्रो विश्वाश छ, भन्छिन्, ‘मेरा यी छोरीहरु खेलेको, हासेको अनि झगडा गर्दै मिलेको देख्ने दिन फेरि आउनेछ, मेरो परिवारमा खुसी फर्कनेछ । यी केही मानवअधिकार र केही पत्रकारहरुले हामीलाई गरेको अन्याय भगवानले देखिरहेछन् । हामीले न्याय पाउनेछौं, निर्मलाको हत्यारा फेला पर्नेछ ।’

आएन चाडवाड

निर्मलाको हत्या अनि वम परिवारमा आएको प्रलय पछि दशैं आयो, तिहार आयो, तीज आयो । तर, यो परिवारमा कुनै चाड आएन । ‘तिहारमा दिपावली पनि गरेनौं’, आमा भन्छिन् । रोशनी चाहिँ यसो भन्छिन्, ‘म पहिलेदेखि नै कृष्ण भगवान मान्थें, कृष्णजन्माष्टमीमा व्रत बस्थें तर यसपाली बसिन ।’ वविता भन्छिन्, ‘पहिलेपहिले तीजमा व्रत बस्थें, यसपाला बसिन ।’

किन व्रत नबसेको त ? यो प्रश्नको जवाफमा वविता भन्छिन्, ‘केही गर्न मन लाग्दैन, बाँच्नै मन लाग्दैन, मर्न मन लाग्छ तर बाँचेकै के छु र मर्नु भनेजस्तो हुन्छ । हाम्रो सबै सपना मरिसक्यो ।’

सपना मर्यो ? जब मानिसको सपना मर्छ तब उ ज्यँदो लाश सरह हुन्छ । वविता र रोशनी अनि वम परिवारमा खुसी फर्काउनु र सपना ब्यूँताउनु यो समाजको दायित्व हो । 

ती सपना..  

वविता भन्छिन्, ‘मेरो विहे हुनेवाला थियो, विहेपछि पनि पढ्छु, जीवनमा केही गर्छु भन्ने थियो तर विहे पनि रोकियो, मसँग सपना पनि छैन, भविष्यमा के गर्ने भन्ने योजना पनि छैन ।’ रोशनी भन्छिन्, ‘ नर्स बन्छु भन्थें, पढाई नै रोकियो । भविष्यमा के गर्छु भन्ने केही कुरा दिमागमा आउँदैन, निर्मलाको हत्यारा फेला पार्न पाए हुन्थ्यो भन्ने मात्र मनमा आइरहन्छ ।’

‘बुझ्नुभो अंकल, म स्कूलमा गीत गाउँथें, कविता भन्थें, नाटकमा भाग लिन्थें,’ रोशनीले उदास हुँदै भनिन् । 

‘अहिले कविता लेख्दैनौ रोशनी ?’

जवाफमा रोशनीले भनिन्, ‘लेख्दिन अंकल, कविता दिमागमै आउँदैन, गीत गाउन र सुन्न पनि मन लाग्दैन ।’ 

दोषी को ?

मर्नु न बाँच्नुको हालमा पुगियो– सुस्केरा हाल्दै इन्द्रादेवी भन्छिन् । 

यहाँनेर वविताको एउटा भनाईमा फेरि फर्काैं, माथि नै वविताले मर्न मन लाग्छ भनेको उल्लेख गरिसकियो । रोशनीले अर्काे दर्दनाक कुरा भनिन्, ‘पासो लगाएर मरौं जस्तो लाग्थ्यो । तर, मैले त्यसो गरें भने हामीलाई दोषी ठान्छन् ।’

आमाले कुरा खोलिन्, ‘मानवअधिकारवादीले प्रतिवेदन दिएपछि प्रहरीले फोन गरेर बोलायो । वविता रुन थाली, यस्तो यातना भोग्नुभन्दा बरु म पासो लगाएर मर्छु भन्दै अर्काे कोठामा गई । हामी सबैले समातेरा तान्यौं । पूरै परिवार वरिपरी बसेर धेरैबेर रोयौं ।’

‘मर्न पनि नसकिने, बाँच्न पनि नसकिने यो कस्तो हालतमा फसियो हजुर’– यति भनेर आमाले मजेत्रोले मुख छोपिन् । आमाको आँशुले वातावरण स्तव्ध भयो । वातावरण सहज पार्दै आमा बोलिन्, ‘अब मेरा छोरीहरुले आत्महत्या गर्दैनन्, यिनीहरुले न्याय पाउँछन्, अनुसन्धानले न्याय दिइसकेको छ, अब समाजले पनि हामीलाई न्याय दिनेछ । निर्मलाको हत्यारा फेला परेपछि हामीले पूरै न्याय पाउनेछौं ।’

वम परिवारमाथि यसबीचमा परिवारमा अर्काे विपत्ति आइलाग्यो । विपिन अर्थात् वविता र रोशनीका दाजु विरामी परे । २५ वर्षको कल्कलाउँदो उमेरमा उनलाई उच्च रक्तचाप भयो । अस्पताल पुराइयो । डाक्टरहरुले भने– तनावका कारण विपिनलाई गम्भीर ढंगको रक्तचाप भएको छ, तनाव घटाउनुपर्छ ।

आफ्ना कलिला बहिनीहरुलाई बदनाम गराइएको, पूरै परिवार ज्यूँदो लाश बनेको बेला एउटा जवान छोराले कसरी तनाव घटाउने होला ?

जागेको आशा

रात पछि दिन आउँछ नै, वम परिवारको पनि कालरात्री सकिने लक्षण देखिँदैछ । समाजका केही तप्का यो निर्दाेष परिवारलाई परेको अन्यायमा बोल्न थालेको छ । कतिपय मिडियाले यिनको पीडा लेखिदिन थालेका छन् । मिडियामा यिनका कुरा पनि आउन थालेको छ । प्रहरीले सार्वजनिक रुपमा नै वम दिदीबहिनी निर्दोष छन् भनिसकेको छ । 

तर, यति मात्र पर्याप्त छैन । यो परिवारको पीडामा मल्हम लगाउन समाजले थप केही गर्नुपर्छ । यसका लागि केके गर्नुपर्ला ? 

वविता भन्छिन्, ‘झुठा कुरा लेखेर हामीलाई यो हालतमा पुराउने मिडियामाथि कारवाही हुनुपर्छ । झुठो प्रतिवेदन तयार पार्ने इन्द्रप्रसाद अर्यालको टोलीलाई कारवाही हुनुपर्छ ।’ उनी थप्छिन्, ‘मुख्य कुरा, निर्मलाका हत्यारा पक्राउ पर्नुपर्छ । निर्मलाले न्याय नपाई हामीले न्याय पाउनुको अर्थ हुँदैन ।’

प्रतिकृया दिनुहोस