• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

शंका, षड्यन्त्र, धोकामा मलाई विश्वास छैन- प्रम ओली

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

२६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब पृथकतावादी आन्दोलन समाप्त भएको घोषणा गरेका छन् । ओलीले सिके राउत मूलधारको राजनीतिमा आउनु सफलता भएको बताए ।

आइतबार काठमाडौंमा किसान आयोगले आयोजना गरेको कार्यक्रममा ओलीले पृथकतावाद छाडेर मूलधारको राजनीतिमा आउनु सफलता नभएर के हो भनेर प्रश्न गरे । प्रधानमन्त्री ओलीले राउत समूहले आफ्ना आग्रह छोडेर मूलधारको राजनीतिमा प्रवेश गर्‍यौं भन्ने घोषणाका साथ सरकारसँग सहमति गरेको बताए । उनले भने, ‘अब कुनै पृथकतावाद छैन, पृथकतावादी आन्दोलन, समूह, संगठन केही छैन नेपालमा ।’

राउतसँगको सहमतिमा धोका, शंका र षड्यन्त्र भएको भनी प्रचार गरिएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘शंका, षड्यन्त्र, धोका जस्ता कुराप्रति मेरो विश्वास छैन।’

राउतले देशको अखण्डता स्वीकार गरिसकेको बताउँदै ओलीले भने,‘भन्नेले भनिरहेको छ फेरि पनि शंका ?’

त्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले ‘केही केही मान्छे कुना काप्चामा छट्पटाएका छन्। केके चित्त बुझेको छैन भनेका छन्।'

बिरालोले मान्छेलाई आक्रमण गर्न नसकेपछि खाबो चिथोर्ने गरेको सुनाउँदै ओलीले भने- 'सीके राउतले विखण्डनको कुरा छोडेर सरकारसँग गरेको सहमति केहीलाई चित्त बुझेको छैन । बिरालो रिसायो भने मान्छेलाई केही गर्न सक्दैन त्यसकारण गएर खाँबो चिथोरेको देखिन्छ । केही केहीले खाँबो चिथोरेका छन् किन थाहा छैन।’शंका, षड्यन्त्र, धोका जस्ता कुरामा आफ्नो विश्वास नभएको ओलीको भनाइ थियो ।

प्रतिकृया दिनुहोस