• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

सिके राउत प्रकरण- ‘चमत्कार अफ दि इयर’

सम्पादकीय टिम

सम्पादकीय टिम

सिके राउतको विखण्डनकारी समूहले नेपालको अखण्डता र सार्वभौमिकता स्वीकार गर्नुलाई ‘चमत्कार अफ दि इयर’ मान्न सकिन्छ । अनपेक्षित हो यो कदम । यो कदम ‘रहस्य अफ दि इयर’ पनि हो कि ? प्रश्न उठ्न थालेको छ । कुनै पनि चमत्कारिक राजनीतिक घटनाभित्र रहस्य अवश्य हुन्छ, तथापि रहस्यहरु इतिहासको गर्भमा कैद हुँदै जान्छन् र लिखतमा गरिएका प्रतिवद्धता नै अघि बढ्छन् । ठूला राजनीतिक घटनाको प्रतिक्रिया ठूलै हुनु स्वाभाविक हो । राउतको समूह नेपालको संविधान भित्रको राजनीतिक प्रक्रियामा प्रवेश गरेको छ । यसले राष्ट्रिय एकता र अखण्डतालाई झन बलियो बनाउने विश्वाश गर्न सकिन्छ ।

कुनै पनि मुलुकका लागि राष्ट्रिय एकता र अखण्डता सर्वाधिक महत्वको हुन्छ । झन नेपाल जस्तो ठूला देशहरुबीच रहेको मुलुकले एकता र अखण्डताप्रति झन धेरै सजग हुनुपर्छ । नेपालले द्धन्दकालीन कालखण्डमा राष्ट्रिय एकतामा ठूलो चुनौति व्यहोर्नुपरेको थियो । त्यसको अवशेष बाँकी नै छ । राष्ट्रिय एकतालाई आएको चुनौतिकै समानान्तर रुपमा अखण्डता विरुद्ध चुनौति उत्पन्न गराउने प्रयत्न हुँदै आएको थियो । राउत समूहको अवतरणसँगै त्यो चुनौति निस्तेज भएको मान्न सकिन्छ ।

नेपालमा विविध खालका द्धन्दलाई एकसाथ उठान गराइँदै आएको थियो । संविधान निर्माणको कालखण्डमा त्यस्ता द्धन्दहरुलाई संस्थागत बनाइदिने र नेपाललाई दिर्घकालीन रुपमा समस्यामा फसाइदिने यत्न भएकै हो । नयाँ संविधान बनाउनै नदिने, संविधान बनाउँदा पनि नेपाल कतिपय सन्दर्भमा दिर्घकालीन रुपमा फस्ने परिपञ्च मिलाइयो । अन्तत संविधान बन्यो, चुनाव भयो र राजनीति एउटा ट्रयाकमा अगाडि बढ्यो । संविधान निर्माण र चुनावले मुलुकको राष्ट्रिय आत्मविश्वाश बढ्यो, सामथर््य बढ्यो । राज्यको क्षमता बढ्यो । फलतः विगत संक्रमणकालका अनेक विकृति विसंगति निस्तेज हुँदै गयो । यही मेसोमा सिके राउत समूहले पनि राष्ट्रिय अखण्डतामा आँच आउन नदिने धरातलमा अवतरण गरेको छ ।

जसरी जुन भाषामा सहमति भएको छ त्यसमा प्रश्न उठाउने ठाउँ अवश्य छ । उठेका प्रश्नहरुको निरुपण आगामी दिनको राजनीतिक गतिविधिले मात्र गर्न सक्छ । सहमतिमा प्रयुक्त भाषालाई राउत समूहले जसरी व्याख्या गर्न थालेको देखिन्छ त्यसले झन धेरै प्रश्न उठाएको छ । राज्य र सरकारको उदारतालाई राउत समूहले दुरुपयोग गर्नु बेइमानी हुनेछ । अवतरणको संक्रमणमा राउत समूहले सार्वजनिक खपतका लागि अतिवादी कुरा केही समयका लागि जारी राखेको पनि हुन सक्छ ।  तर, सहमतिपछि पनि राउत समूहबाट जेजस्ता विचार आएको देखिन्छ, त्यो नै उनीहरुको बाटो हो भने बेइमानी हो । 

मुलुकका यावत समस्या समाधान गर्न सरकार उदार छ भन्ने देखियो, सरकारको चलकता स्वागतयोग्य छ तर लचकतालाई कसैले पनि कमजोरी ठान्न हुन्न । झन राष्ट्रिय अखण्डतालाई खेलाँचीको विषय बनाइनुहुन्न र राजनीति गर्ने साधन पनि बनाइनु हुन्न । राउत समूहले विखण्डन सम्भव छैन भन्ने देखेरै सहमति गर्न वाध्य भएको हो । राउत समूहले राष्ट्रिय अखण्डता स्वीकार गरिसकेको छ र आगामी दिनमा अखण्डताकै पक्षमा उभिएर उसले राजनीतिक गतिविधि अगाडि बढाउने विश्वाश गर्नुपर्छ । 

यो सहमतिले के प्रष्ट पारेको छ भने नेपालको राष्ट्रिय एकता र अखण्डतालाई कसैले चुनौति दिन सक्दैन । राउत समूहको अवतरणले पनि यो तथ्यलाई झन उजागर गरेको छ । तसर्थ, यो सहमति ठूलो उपलब्धी हो । 

प्रतिकृया दिनुहोस