काने तानाका विश्वकै सबैभन्दा जेठी
टोकियो । जापानकी काने तानाकाले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा मान्यता पाएको गिनिज वर्ल्ड रेकर्डस्ले शनिबार जनाएको छ ।
विश्वकै पहिलो विमान उडाउने राइट्स ब्रदर्स जन्मेको बर्ष सन् १९०३ को जनवरीमा २ मा जन्मिएकी तानाका चार सन्तानकी आमा हुन् । पछि एक सन्तानलाई धर्मसन्तानका रूपमा संरक्षण दिएकी छिन् ।
उनी याे उमेरमा पनि गणित सिक्न र घरमै बसेर खेल खेल्न सौखिन छिन् ।
तानाकालाई विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा मान्यता दिएपछि उनी बस्दै आएकी जापानको पश्चिमी फुकुओमा शहरमा नगर प्रमुख सोइचिरो ताकाशिमा तथा दर्जनौँ शुभेच्छुक भेला भै उनको सम्मानमा एक कार्यक्रम गरी खुशियाली मनाइएको छ । उनलाई एक नर्सिङ होममा राखी रेखदेख गरिँदै आएको छ ।
उनका लागि जीवनमा सबैभन्दा सुखद् क्षण कुन रह्यो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले संक्षिप्त तर प्रष्ट स्वरमा भनिन्, “अहिले ।”
सामान्यतया हरेक विहान ६ बजे उठ्ने तानाका अहिले पनि दिनभर गणितका कुरा तथा सुन्दर हस्तलेखनका लागि अभ्यास गर्छिन् । उनले बसेर खेल्न सक्ने खेलहरू खेल्न मन पराउने, गिनिज वल्र्ड रेकर्डसले जनाएको छ ।
विश्वमा जापानीहरुकाे औसत आयु सर्वाधिक छ । जापानी जिरोएमोन किमुरा कानूनी रूपमा रेकर्ड गरिएका व्यक्तिमध्ये विश्वकै सवैभन्दा बढी बाँच्ने पुरूष थिए जसको मृत्यु ११६ बर्षको उमेरमा सन् २०१३ को जुनमा भएको थियो ।
गिनिज बुकका अनुसार विश्वकै सबैभन्दा बढी बाँच्ने व्यक्तिका रूपमा भने फ्रान्सकी जेन लुईस केल्मेन्ट हुन् जसको मृत्यु सन् १९९७ मा १२२ बर्षको उमेरमा भएको थियो ।


प्रतिकृया दिनुहोस