• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

लेलेमा चिस्यान भण्डारण केन्द्र बन्दै

रासस

रासस

ललितपुर । गोदावरी नगरपालिका–५ लेले भञ्ज्याङमा चिस्यान भण्डारण केन्द्र निर्माण हुँदै छ । डेढ करोड रुपैयाँकाे लागतमा निर्माण हुँदै गरेको सो चिस्यान केन्द्र दक्षिण ललितपुरको मुख्य केन्द्रबिन्दु लेलेमा निर्माण गरी ललितपुरका किसानलाई सुविधा दिन लागिएको हो ।
 
ललितपुरका तीन गाउँपालिकाबाट दैनिक उत्पादन भएर आउने पाँचदेखि आठ गाडी तरकारी आपत्कालीन अवस्थमा भण्डारण गर्न सहयोग मिलोस् भनी सो केन्द्र निर्माण गर्न लागिएको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए ।
 
'यस चिस्यान केन्द्रमा मौसमी तथा बेमौसमी तरकारी भण्डारण गर्न कृषकलाई सहयोग पुग्ने छ', महर्जनले भने, 'गोदावरीमा हालसम्म व्यवस्थित चिस्यान केन्द्रको अभाव रहँदा यहाँ उत्पादन हुने कयौँ तरकारी, फलफूल र बीउ बिजन कुहिएर खेर जाने गर्थे ।' सो केन्द्र दुई तलाको निर्माण गरिने बताइएको छ । 

गोदावरी–४ बडिखेल, वडा ५ र ६ लेलेलगायत दक्षिण ललितपुरका ५० प्रतिशत मानिस कृषिमा आधारित छन् । यी गाउँपालिका र वडामा खेतीपाती गर्नका लागि अन्य वडामा भन्दा बढी नै जग्गा रहेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिए ।
 
'लेलेबाट मात्र दिनको तीनदेखि चार गाडी तरकारी बिक्री वितरणका लागि लगनखेल बजार पुग्ने गर्छन्न्', सिलवालले भने, 'बाढीपहिरो, असिनापानी परी  सडक अवरुद्ध भएको समय तरकारी भण्डारण गर्न सो केन्द्रले किसानलाई धेरै नै सहयोग पुर्याउने छ ।' गोदावरी हरियो खुसार्नी, रायो, मुला, काउली, बन्दा, गोडभेँडा, काँक्रो, फर्सी र लप्सी बढी उत्पादन हुने क्षेत्र हो ।

नगपालिका उपप्रमुख मुना अधिकारीले कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुलाई खेर जान नदिन, स्थानीय कृषि उत्पादनलाई प्रोत्साहन गर्न गोदावरीभित्र नमुना चिस्यान केन्द्र निर्माण गरिँदै गरेको बताइन् । चिस्यान केन्द्रमा आवश्यक उपकरण खरिदका लागि थप एकदेखि डेढ करोड रुपैयाँ खर्च लाग्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस