• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

अनलाइनबाट सामान किन्ने गर्नुभएको छ ? ठगिनुहोला

राजेश भण्डारी

राजेश भण्डारी

काठमाडौं । तपाईंले अनलाइनमार्फत सामान किन्ने गर्नुभएको छ ? यदि छ भने होसियार ! तपाईं ठगिन पनि सक्नुहुन्छ ।

नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले आज अनलाइन बिजनेसमार्फत सर्वसाधारणलाई ठगी गर्दै आएको समूहलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको कानपुर घर भई काठमाडौं खुसिबु बस्दै आएका ३० वर्षीय आकिब जावेद, क्षेत्रपाटी बस्ने महोत्तरीका २० वर्षीय एम.डी. सगिर सेख र खुसिबु बस्ने महोत्तरीकै २२ वर्षीय यमदादुल मोमिन छन् । 

यिनीहरुमध्ये आकिब तारा ग्याजेटका सञ्चालक हुन भने सगिर विद्यार्थी र यमदादुल कामदार रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

फेसबुक, भाइबर, इमो र ह्वाट्सएप जस्ता सामाजिक सञ्जालमा तारा ग्याजेट नामक पेज बनाएर यो समूहले विदेशबाट ब्रान्डेड ल्यापटप, मोबाइल, क्यामेरा, घडी र शृंगारका सामान पठाइदिने भन्दै आफू अनलाइन व्यापार गर्ने कम्पनी भएको विज्ञापन गर्ने गरेको थियो । 

उक्त विज्ञापनको भर परेर सर्वसाधारणले सामान अर्डर गरेर पैसा पठाइदिने गरेका थिए । तर पैसा पठाएपछि उक्त समूह सम्पर्कविहीन हुने गरेको थियो । 

यसरी धेरै जनाले पैसा पठाएपछि उक्त समूह सम्पर्कविहीन भएपछि आफूहरु ठगिएको पत्ता पाए । आफूहरु ठगिएको भनी प्रहरीमा गुनासो आएपछि प्रहरीले यसबारेमा अनुसन्धान सुरु गरेको थियो । 

पक्राउ परेका उनीहरुको साथबाट विभिन्न बैंकका आठ वटा खाली चेक, २१ वटा एटीएम र पाँच वटा मोबाइल बरामद भएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुलबहादुर थापाले जानकारी दिए ।  

यो समूहले एक महिनाको अवधिमा ८० लाख रुपैयाँभन्दा बढी ठगी गरेको महाशाखाले जनाएको छ । 

अनलाइनमार्फत् कसैले सामान मगाएर ठगिएको भए तुरुन्त सम्पर्क गर्न पनि महाशाखाले आग्रह गरेको छ । यस्ता घटना पुनः दोहोरिन सक्नेतर्फ सबैलाई सचेत हुन पनि एसएसपी थापाले अनुरोध गरेका छन् ।
 

प्रतिकृया दिनुहोस