• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

सधैं गुप्तचरको घेरामा हुन्थे सिके राउत

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

सिके राउत काठमाडौं आइरहन्थे, विराटनगर, जनकपुर र भरतपुरको विमानस्थलबाट उनी सकभर भेष बदलेर त्रिभुवन विमानस्थलमा ओर्लन्थे । त्यहाँबाट ट्याक्सी चढेर तीनकुनेसम्म पुग्थे । तीनकुनेबाट अर्काे ट्याक्सी समात्थे । त्यसपछि ललिपुरको ग्वार्खु इमाडोल तिर जान्थे । 

गुप्तचरको नजरबाट छुप्न उनी यसरी ट्याक्सी बदल्थे ।

इमाडोल र ग्वार्खुमा उनी कसकोमा बस्थे भन्ने पनि प्रशासनलाई एकएक जानकारी थियो ।

चार वर्षदेखि राउतको गतिविधि यही थियो । राष्ट्रिय अनुसन्धान विभागले उनलाई निरन्तर फलो गरिरहेको थियो । 

काठमाडौंबाट फर्कंदा चाहिँ उनी प्रयाजसो विराटनगर नै जान्थे । विराटनगरमा पनि उनी विमानस्थलबाट ट्याक्सी रिजर्भ गरेर बरगाछी तिर जान्थे । त्यसपछि अर्काे ट्याक्सी समातेर इनरुवा या दुहवी जान्थे । 

राउतलाई गुप्तचरले निरन्तर पिछा गरिरहन्थे । हरदम गुप्तचरको निगरानीमा हुन्थे । 

त्रिभुवन विमानस्थलबाट प्लेन चढ्नासाथ विराटनगरमा उनलाई अर्काे गुप्तचर टोलीले पर्खिरहेको हुन्थ्यो । गुप्तचरको नजरमा परिएला कि भनेर उनी प्लेनभित्रै लुगा फेर्थे । काठमाडौंमा विमान चढ्दा एउटा लुगामा देखिने राउत विराटनगरमा चाहिँ अर्कै लुगामा उत्रन्थे । 

अर्काे एक स्रोत अनुसार राउतलाई सैनिक गुप्तचरले पनि निरन्तर पिछा गरिरहेको हुन्थ्यो । राउतका कुनै पनि गतिविधि सरकारबाट छिपेको थिएन । 

दुई वर्ष अघि जनकपुरमा पक्राउ पर्दा उनी राति १२ बजेतिर डेरामा पुगेका थिए । बसपार्क छेउमा उनको लामो समयदेखि अखडा थियो, त्यहि क्षेत्रमा दुई दिन अघि मात्रै अखडा फेरिएको थियो र नयाँ डेरामा पहिलो पटक पुगेका थिए । माथिबाट पक्रनु भन्ने आदेश आयो । प्रहरीले बिहान सखारै पक्राउ गरेको थियो । 

आफू निरन्तर निगरानीमा छु भन्ने राउतले बुझिसकेका थिए । त्यसैले उनको राजनीतिक गतिविधि संकुचित हुँदै गएको थियो । ‘गुप्तचर संयन्त्रले राउतलाई लगभग आइशोलेसनमा राखेको थियो’, एक पूर्व प्रहरी अधिकारी भन्छन् । 

राउत कसैलाई विश्वाश गर्दैनथे, न त उनलाई कसैले विश्वाश गर्न सक्ने अवस्था थियो । 

पछिल्लो कालमा जेल बसिरहेका राउतले अन्तत विखण्डनकारी गतिविधि त्याग्ने निर्णय गरे । जेल भित्रैबाट सरकारसँग संवाद गरे । अब राउत खुला गतिविधिमा देखिने छन् । 


 

प्रतिकृया दिनुहोस