डा. गोविन्द केसीको नयाँ अवतार
काठमाडौं । बारम्बार अनसन बसेर चर्चामा आएका डा. गोविन्द केसीले डरलाग्दो माग तेर्साएका छन् । उनले द्धन्दकालका अपराधका घटनाका दोषीहरुलाई ‘अन्तराष्ट्रिय कानून अनुसार’ दण्डित गर्नुपर्ने माग राखेका छन् ।
द्धन्दकालका जघन्य तथा मानवताविरोधी अपराधमा अन्तराष्ट्रिय कानुन आकर्षित हुनुपर्ने मागलाई अनौठो मानिएको छ ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर डा. केसीले विभिन्न माग राखेका हुन् ।
विगतमा द्धन्द निरुपणका लागि अन्तराष्ट्रिय मिसन अनमिन नेपाल भित्रिएको थियो । त्यसलाई नेपालले फिर्ता पठाएको थियो । नेपाली मामिलामा विदेशीलाई संलग्न नगराउने प्रयास हुनुपर्नेमा डा. केसीले अन्तराष्ट्रिय कानुन अनुसार दण्ड दिनुपर्ने माग गरेका हुन् ।
विगतमा डा. केसीले आफूले चाहेकै मानिस त्रिविका खासखास पदमा नियुक्त हुनुपर्छ भनेर अनशन थालेका थिए । पछि उनले चिकित्सा शिक्षा ऐन संशोधन आफूले भने अनुसार हुनुपर्ने माग राखेर अनसन गरेका थिए । अहिले डा. केसीको ध्यान सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगतर्फ गएको छ ।
डा. केसीले पछिल्लो अनसनमा पनि द्धन्दकालीन घटनामा उन्मुक्ति दिन नहुने माग अगाडि सारेका थिए ।
बिहिबार पत्रकार सम्मेलन गरेर राखिएको मागमा डा. केसीले दुई आयोगमा पीडितहरुको विश्वाश जितेका, योग्य र सक्षमलाई नियुक्त गर्नुपर्ने माग राखेका छन् । अर्थात्, सरकार र राजनीतिक दलले आयागका पदाधिकारी नियुक्त नगरेर पीडितहरुको संस्थाले छानेका मानिस आयोगमा राखिनुपर्छ भन्ने डा. केसीको माग रहेको छ ।
नयाँ अवतार
डा. केसीको छवी चिकित्सा शिक्षा सुधारक अनसनकारीको रुपमा रहँदै आएको थियो । उनले पछिल्लो अनसनबाट शान्ति प्रकृयामा पनि हात हाले । चिकित्सा शिक्षा सँग शान्ति प्रकृया कसरी जोडियो भन्नेमा धेरै मानिस रनभुल्लमा परे ।
डा. केसीले बिहिबारको पत्रकार सम्मेलनमा अनसनको धम्की दिएनन्, माग मात्र राखे । कुनै आन्दोलनको कुरा पनि गरेनन् । डा. केसी बोल्नुमात्रको पनि अर्थ छ । किनभने समर्थन गरेर होस् या विरोध गरेर होस्, धेरैले उनको कुरामा ध्यान दिन्छन् । उनी सुनिने व्यक्तित्वमा पर्छन् ।
डा. केसीले चिकित्सा शिक्षा विधेयक आफूले भने अनुसार संशोधन गर्नुपर्ने माग दोहोराएका छन् तर उनको मुख्य फोकस भने शान्ति प्रकृयामै देखिएको छ । कतिपयले के आकलन गरेका छन् भने डा. केसीले आगामी दिनमा चिकित्सा शिक्षा सुधारलाई भन्दा राजनीतिक मुद्दाहरु, खासगरी शान्ति प्रकृयाका विषयहरुलाई ध्यान दिने लक्षण देखिएको छ ।


प्रतिकृया दिनुहोस