दुग्ध उत्पादक किसानलाई २५ हजार
महोत्तरी । नगरपालिकाले दैनिक आठ लिटर दूध दिने गाईभैंसी पाल्ने किसानलाई वर्षिक २५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेपछि औरही नगरपालिकाका किसान उत्साहित भएका छन् ।
यो कार्यक्रम आउने नयाँ आर्थिक वर्ष ०७६/७७ मै सुरु गरिने नगरप्रमुख सुनिलकुमार यादवले बताए । नगरसभाले उन्नतजातका दुधालु गाई, भैँसी पाल्ने किसानलाई थप प्रोत्साहन गर्ने निर्णयसमेत गरेको नगरप्रमुख यादवले बताए । 'समृद्धिको मुख्य आधार हाम्रो परिवेशमा कृषि नै हो', प्रमुख यादवले भने, 'त्यसैले भर्खरै सम्पन्न नगरसभाले आफ्ना योजनामा कृषिलाई मुख्य प्राथमिकतामा राखेको छ ।'
नगरपालिकाले दैनिक कम्तीमा आठ लिटर दूध आफ्नै घरमा उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्ने निर्णय गरेपछि किसान उत्साहित बनेका छन् । 'यी गाई÷भैँसी पाल्ने, गोबर सोहोर्ने हामी नगरपालिकाको नजरमा के पथ्र्यो भन्ने लाग्थ्यो', औरही नगरपालिकाको सोनामाइ टिम्कीयाका जगदीश दासले भने, 'तर, यसपालि नगरपालिकाले हामीलाई पनि हेरेछ, दुग्ध उत्पादन बढाउन यो निर्णयले उत्साह थपेको छ ।'
नगरपालिका क्षेत्रभित्र अहिले कम्तीमा आठ लिटर दूध दैनिक उत्पादन गर्ने किसानको सङ्ख्या एक सयकोे हाराहारीमा रहेको प्रारम्भिक लगत आएको नगरप्रमुख यादवले बताए ।
'पहिलो चरणमा पुरस्कृत गर्न सँगै दुग्ध उत्पादक किसानलाई थप सहयोगका प्याकेज ल्याइनेछ', प्रमुख यादवले भने, 'उन्नतजातका दुधालु गाईभैँसी पाल्ने किसानलाई त्यस्ता पशुको खरिद र स्याहारसम्भारलाई सजिलो बनाउन आउने आर्थिक वर्षभित्रै थप योजना ल्याइनेछ ।'
दुधालु पशुवस्तुको प्रजननका लागि कृत्रिम गर्भाधानको व्यवस्था गरिनुका साथै उन्नतजातका साँढे र राँगा पाल्न किसानलाई प्रोत्साहन दिइने प्रमुख यादवको भनाइ छ ।
आउने नयाँ आर्थिक वर्षका योजनामा दुग्ध उत्पादन प्रयोजनको पशुपालन, मासु उत्पादन प्रयोजनको पशुपालन मात्र नभएर तरकारी खेती, फलफुल खेती र अन्नबाली उत्पादनमा पनि जोड दिइने नगरसभाको निर्णय छ ।
यस प्रयोजनका लागि नगरका सबै वडामा सिँचाइ व्यवस्था प्रबन्ध गर्न कृषि विद्युतीकरण, नयाँ ट्रान्सफर्मर जडान र डिपबोरिङ जडान गरिने निर्णय भएको प्रमुख यादवको भनाइ छ ।
नगरसभाले कृषिलाई महत्व दिएर योजना सञ्चालन गर्ने भएपछि यहाँका किसानमा उत्साह छाएको छ । स्थानीय तहले सञ्चालन गर्ने योजनामा किसानका कुरा पर्नु उत्साहप्रद भएको औरही–२ का युवा किसान २९ वर्षीय रामबली यादवले बताए ।
नगरपालिकाको चौथो नगरसभाले आउने आर्थिक वर्ष २०७६/७७ का लागि ३९ करोड ३९ लाख ३५ हजारको आयव्ययको अनुमानित बजेट पारित गरेको छ ।
यो बजेटमा चालू आव २०७५/७६ को अन्त्यमा अल्या (अघिल्लो आर्थिक वर्षबाट ल्याइने) बाट दुई/तीन करोड रुपैयाँ थप हुनसक्ने प्रमुख यादवको भनाइ छ ।
कृषिपछि शिक्षा, स्वास्थ्य र सडक सञ्जाल विस्तार आउने आर्थिक वर्षका प्राथमिकतामा परेका छन् । महिला सशक्तीकरणभित्र सीप विकास र आयआर्जनका प्रस्तावहरू आउने आवमा सञ्चालन हुने प्रमुख यादवले जनाए ।


प्रतिकृया दिनुहोस