भोजपुर घटनाबारे यसो भन्छन् : आइजीपी खनाल
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा भएको गोलीकान्डबारे प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानकारी गराएका छन् ।
बुधबार बसेको बैठकमा कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र डिला संग्रौलाले घटनाबारे जानकारी गराउन माग गरेपछि महानिरीक्षक खनालले सो घटनाबारे जानकारी गराएका हुन् ।
उनका अनुसार भोजपुर नगरपालिका–७ स्थित हाटबजार लाग्ने स्थानमा सुरक्षाका लागि नेपाल प्रहरी खटिएको बेलामा अचानक ‘विप्लव’ समूहले गोली प्रहार गरेपछि घटना भएको हो ।
‘प्रहरीजवान सन्जीव राईको छातीमा गोली लाग्यो र उनीहरुलाई नियन्त्रण गर्ने सन्दर्भमा प्रहरीबाट जवाफी फायर हुँदा विप्लव समूहका ओखलढुंगा इन्चार्ज नीरकुमार राईलाई पनि गोली लाग्न पुग्यो’–उनले भने ।
गोली लागेका दुवैजनालाई उपचारका लागि अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
उक्त घटनामा प्रहरी जवान थमनाथ भट्टराईको काँधमा गोली लागेको समेत खनालले जानकारी दिए ।
सोक्रममा ठूलो चाइनिज पेस्तोल एकथान, त्यसको म्याग्जिन एकथान र उक्त पेस्तोलमा लाग्ने ६ राउन्ड गोली बरामद भएको पनि उनले बताए ।
प्रहरी प्रधान कार्यालयले हतियारसहित केही व्यक्ति लुकिछिपी बसेको सूचनाका आधारमा बुधबार ड्युटीमा खटिएको प्रहरीमाथि हतियारधारी समूहले एक्कासि ‘फायर’ गरेपछि प्रहरीले जवाफी फायर गर्दा उक्त घटना भएको र घटनामा अन्य दुईजना प्रहरीजवानसमेत घाइते भएको जनाएको छ ।
उनीहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ ।
उक्त समूहका अन्य चार/पाँचजना फरार रहेकाले खोजतलास जारी रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस