• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

टी-ट्वान्टी विश्वकप एसिया छनोट खेल्न जाने टोलीको बिदाइ

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । आइसीसी टी ट्वान्टी विश्वकप एसिया छनोट फाइनल खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मंगलबार बिदाइ गरिएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव रमेश सिलवालले टोलीलाई बिदाइ गरेका हुन् । उनले नेपाली टोलीलाई सफलताको शुभकामना दिए ।

आइसिसी टी ट्वान्टी विश्वकप एसिया छनोटको फाइनल खेल सिङ्गापुरमा आयोजना हुँदै छ ।

फाइनल प्रतियोगिता तयारीका लागि नेपाली टोली सिङ्गापुर जानुअघि मलेसिया जाने छ  । नेपाली टोली अहिले केहिबेरमा मलेसिया जान लागेको हो ।

मलेसियामा नेपालले घरेलु टोलीसँग दुई खेलको टी ट्वान्टी सिरिज खेल्ने छ । नेपाल र मलेसियाबीचको सिरिज यही असार २८ र २९ गते हुने छ ।

टी ट्वान्टी सिरिज सकिएपछि त्यतैबाट नेपाली टोली सिङ्गापुर जाने छ । प्रतियोगितामा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत सहभागी हुने छन् । नेपालले आफ्नो पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्ने छ ।

त्यस्तै साउन ८ गते मलेसिया, ११ गते कुवेत र १२ गते सिङ्गापुरसँग खेल्ने छ । शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउने छन् । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदै छ ।
 

प्रतिकृया दिनुहोस