• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

ठगी अभियोगमा ‘डन’ सत्यमान लामा पक्राउ

.

.


राजेश भण्डारी -

काठमाडौं– डन भनेर कहलिएका सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई काठमाडौंको जडिबुटीबाट पक्रेको हो । 

काभ्रे घर भएका सत्यमानले पछिल्लो समय प्रहरीको ‘क’ बर्गको सूचीमा रहेका डन दावा लामाको उत्तराधिकारीका रुपमा काम गर्दै आएका थिए । 

काभ्रेको तिमाल गाउँपालिका–५ नारायणस्थानमा ‘भूकम्प पीडितको नाममा अस्पताल बनाउँछु’ भन्दै उनले एक करोड ७५ लाख रुपैयाँ ठगी गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरिएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । 

०७२ सालको भूकम्पपछि ताइवानको एक संस्थाबाट उनले भूकम्प प्रभावितका लागी २५ शैय्याको अस्पताल बनाउने भन्दै रकम लिएर डोजर मात्रै लगाएर छाडेका थिए । 
काभ्रे र रामेछापमा पाइने बुद्धचित्त मालाको तस्करीमा संलग्न सत्यमानले गत बर्ष काभ्रेको सिपालीका किसानको माला लुटेका थिए । यसअघि रक्तचन्दन तस्करीमा पनि प्रहरीले उनलाई पक्राउ गरेर कारावाही गरेको थियो । 


सत्यमानले बुढानिलकण्ठका दिलीप लामाको २५ लाख रुपैयाँको चेक धाकधम्की दिएर लुटेको आरोप पनि छ । ‘अहिले उनलाई ठगी गरेको अभियोगमा नियन्त्रणमा लिएका हौं’ अपराध महाशाखाका एसएसपी थापाले भने, ‘उनीबारे थप अनुसन्धान हुँदैछ ।’ 
 

प्रतिकृया दिनुहोस