• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

देउवाकाे अडान- प्रदेश दुईको नाम मिथिला, भाषा मैथिली, राजधानी जनकपुर

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

जनकपुरधाम । प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाले दुई नम्बर प्रदेशको नाम मिथिला हुनुपर्ने बताएका छन् । मिथिला नामको विकल्पमा उनले ‘मिथिला–भोजपुरा’ नाम पनि सुझाएका छन् । 

दुई नम्बर प्रदेशमा नाम र राजधानी सम्वन्धमा चर्काे विवाद भइरहेको बेला देउवाले त्यस्तो अभिव्यक्ति दिएका हुन् । जनकपुरमा प्रेस युनियनद्धारा आयोजित कार्यक्रममा देउवाले मिथिला नाम सम्बन्धी विचार राखेका हुन् । उनले दुई नम्बर प्रदेशको राजधानी पनि जनकपुरधाम नै हुनुपर्ने अडान राखेका छन् । 

‘यो हाम्रो पार्टीको धारणा हो, यसमा पार्टीभित्र दुईमत छैन’– देउवाले भने । 

सरकारले एक वर्षको अवधिमा कुनै पनि महत्वपूर्ण कार्य गर्न भन्दै देउवाले सरकार कार्यमुखीभन्दा पनि प्रचारमुखी भएको आरोप लगाए । कांग्रेसले  सशक्त ढङ्गले प्रतिपक्षको भूमिका निर्वाह गरेको दावी गर्दै उनले भने–  ‘यो सरकार सङघीयतालाई कमजोर बनाउने क्रियाकलापमा लागेको छ । संघीयता नेपालको जीवन पद्धति बनिसकेको छ । त्यसैलाई संघीयतालाई कमजोर पार्ने काम कांग्रेसका लागि मान्य हुन सक्दैन।’

सरकारले स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्न खोजिरहेको दावी गर्दै देउवाले प्रेस स्वतन्त्रतालाई कुनै पनि हालतमा कुण्ठित हुन नदिने बताए । ‘अनलाइन, फेसबुक, ट्वीटरलगायत सूचनाको हक, लेख, वाक स्वतन्त्रता हनन गर्न खोज्ने सरकारको क्रियाकलाप कांग्रेसलाई मान्य हुँदैन । नियन्त्रण गर्नको लागि ल्याइएको साइबर ल लाई हामी अस्वीकार गर्छाैं ।’

देउवाले वाइडबडी विमान खरीद प्रकरणको वास्तविकता बाहिर आउनुपर्दछ भने । 

उनले मैथिली भाषा उत्कृष्ट, विकसित र समृद्ध भएकाले प्रदेश नं २ को कामकाजको भाषा मैथिली नै हुनुपर्ने पनि बताए ।
 

प्रतिकृया दिनुहोस