• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

भरतमोहन अधिकारी रहेनन्

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाली राजनीतिका अग्ला व्यक्तित्व भरतमोहन अधिकारी अब रहेनन् । काठमाडौंको ह्याम्स अस्पतालमा उपचारको क्रममा उनको निधन भएको नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी गराएका छन् । 

अधिकारीको पार्थिव शरीर भोलि ९ देखि १२ बजेसम्म पार्टी केन्द्रिय कार्यालय धुम्वाराहीमा राखिने पनि उनले जनाएका छन् । 
 
अधिकारी पूर्व उपप्रधानमन्त्री थिए, अर्थमन्त्री थिए, ०४७ सालको संविधान निर्माता थिए । समकालीन नेपाली राजनीतिमा अग्रणी पुस्ता थिए भरतमोहन । उनी ०८ सालबाट राजनीतिमा लागेका थिए नेकपाको सदस्य बनेर । 

उनका दाजु हुन् मनमोहन अधिकारी, जो नेपालका प्रधानमन्त्री बने । भाइ जगतमोहन अधिकारी त्रिभुवन विश्वविद्यालयका उपकूलपति बनेका थिए । महोत्तरीमा जन्मिएका भरतमोहनको कार्यथलो चाहिँ विराटनगर बन्यो । 

अनौठो थियो भरतमोहनको पेसागत जीवन । उनी कानुन व्यवसायी थिए । त्यसैले ०४७ सालको संविधान बनाउने समितिका सदस्य बने । त्यसपछि भरतमोहनको व्यक्तिगत परिचय फेरिँदै गयो । उनी अर्थमन्त्री बने । उनको संविधान निर्माता तथा कानुन व्यवसायी व्यक्तित्व ओझेल पर्दै गयो, अर्थविद्का रुपमा चिनिन थाले । 

०५१ सालमा एमालेले अल्पमतको सरकार बनायो । सो सरकारका अर्थमन्त्री थिए भरतमोहन । उनले अत्यन्तै लोकप्रिय बजेट ल्याएका थिए । वृद्ध भत्ता, आफ्नो गाउँ आफै बनाऔं जस्ता युगान्तकारी कार्यक्रम उनले ल्याएको वार्षिक बजेटमा थियो । 

अधिकारीकी पत्नी र तीन छोरी छन् । 

प्रतिकृया दिनुहोस