राजनीतिले बर्बाद भयो स्वास्थ्य क्षेत्र
चितवन । स्वास्थ्य क्षेत्र राजनीतिक कारणले प्रभावित भएको उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले बताएका छन् ।
आज यहाँ आयोजित अन्तर्क्रिय कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिले स्वास्थ्य क्षेत्र बर्बाद भएको बताए । देशका धेरै अस्पताललाई नेताले बिगार्ने काम गरेको भन्दै उनले भने- “अस्पताल बर्बाद गर्ने हो भने राजनीति गरौँ ।”
सेवा क्षेत्रलाई सेवाकै रुपमा अघि बढाउन आग्रह गर्दै उनले स्वास्थ्य क्षेत्रको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले सरकारी अस्पतालबाट अहिले पनि ९० प्रतिशत नेपालीले सेवा लिइरहेकाले गुणस्तर विकासमा सरकार लागेको बताए ।
सबै प्रदेशमा विशिष्ट सेवासहितका अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सरकार लागि परेको उल्लेख गर्दै उनले पूरै नेपालमा गुणस्तरसहितको स्वास्थ्य क्षेत्रको पहुँच पुराइने जानकारी गराए । चितवनको भरतपुरलाई देशकै सबैभन्दा ठूलो मेडिकल हवको रुपमा विकास गर्ने भन्दै उनले त्यसका लागि यहाँको भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको बीचमा मित्रता आवश्यक रहेको औँल्याए ।
कार्यक्रममा अस्पतालका अध्यक्ष खेम भण्डारी र मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले अस्पतालका समस्याका बारेमा जानकारी गराएका थिए । १५० श्यया अनुमति पाएको भरतपुर अस्पतालमा हाल ४५० श्यया विकास समितिले सञ्चालन गर्दै आएको छ । हालै मात्र ५०० श्ययासहितको केन्द्रीय अस्पताल स्वीकृत पाएको भए पनि बजेट र जनशक्ति प्राप्त भइसकेको छैन ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता यमबहादुर परियार, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ र सङ्घीय समाजवादी फोरम चितवनका अध्यक्ष प्रेम भुजेलले भरतपुर अस्पतालको विकासमा साथ र सहयोग रहने बताएका थिए ।


प्रतिकृया दिनुहोस