• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नुवाकोटमा तरकारी खेतीको लहर

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–८ का रामप्रसाद पुडासैनीले तरकारी खेतिबाटै वर्षको १० लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । 
घरमा आयआर्जनको कुनै विकल्प नभएर विदेश जाने सोच बनाएर बसेका उनले पहिला आफ्नै ठाउँमा थोरै केही गरुँ, भएन भने मुग्लान भासिनु पर्ला भन्ने सोच बनाई काम शुरु गरेका थिए ।

उनले रु २० हजार ऋण लिएर २२ वर्ष पहिला दुईवटा टनेल बनाई तरकारी खेति गर्न शुरु गरेका थिए । उनले बारीमा गोलभँेडा, करेला, खुर्सानीलगायतका तरकारी लागाए । तरकारी लगाएको केही महीनापछि लगानीभन्दा बढी आम्दानी भयो । काम गर्ने जाँगर र सोच झन् बढेर गएको उनको भनाइ  छ । पैसा कमाउन विदेश नै जान पर्दो रहेनछ भन्ने विचार उनमा आएपछि तरकारी खेती गर्ने जग्गा थपेर अब तरकारी नै खेती गर्छु भन्ने आँट उनले गरेका थिए ।

“पहिला त अहिलेको जस्तो सेवा सुविधाहरु कहाँ थियो र । यातायातको असुविधाले बजारको समस्या थियो । अहिले खेतमै तरकारी बोक्न गाडी आउँछ । अहिले बजार पनि यही त्रिशूली, बटार नजीकै पाइन्छ । स्थानीय बजारमा दिएर पनि बाँकी भएको तरकारी काठमाडौँ लाने गरेको छु । तरकारी व्यापारीहरु आफैँ घरसम्म आउँछन् ।” 

पुडासैनीले अहिले ३० रोपनी जग्गामा ८३ वटा टनेलमा तरकारी व्यवसाय गरी रु एक करोडभन्दा माथि लगानी गरिरहेको उनले बताए  । पुडासैनीले भने, “मैले आफ्नो परिवारसँगै बसेर आनन्दले छोराछोरीलाई पढाएर लाउन खान व्यवसाय गर्न पुगेको छ । 

तरकारी मौसमअनुसारको जस्तै गोलभेँडा, आलु, प्याज, लसुन, धनियाँ, सिमी, बोडी, खोर्सानी, फर्सी, भ्यान्टालगायतका तरकारीहरु लगाउने गरेको छु ।” तरकारी खेतिबाटै राम्रो गरेको कारण मैले कृषि विकास मन्त्रालयबाट २०७३ सालमा रु २८ लाख अनुदानसमेत पाएको थिए । उनले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पनि २०७२ मा जिल्लामा प्राप्त गरेका थिए । 

पुडासैनी मात्र हैन नुवाकोट म्यागङ गाउँपालिका–३ का सोमबहादुर तामाङले पनि वैदेशिक रोजगारमा जाने सोच त्यागेर विगत १५ वर्षदेखि तरकारी खेतिमै आफनो जीवनको हरेक समय बिताइरहेका छन् । तामाङले शुरुमा रु ४० हजारको लगानीमा दुईवटा टडेलबाट तरकारी खेति गरेको उनले बताए ।

तामाङले भने, “मैले जीवनमा धेरै दुःख पाए म्यागङ गाउँ पहिला अति नै दुर्गम ठाउँ थियो । केही गरुँ भन्ने मनमा छ । हाम्रो गाउँमा पानीको सुविधा भएकाले तकारी खेति गर्ने विचार आयो । रु ४० हजार ऋण मागेर ल्याएँ । गाउँघरमा कसैले नपत्याएपछि ससुरालीबाट उनले ऋण लिएका थिए ।” 

उनले भने, “मैले त्यही ऋणबाट ल्याएको पैसाबाट दुईवटा टनेल बनाएर तरकारी खेति गर्न शुरु गरेँ । आफ्नो मिहिनेत, परिवारको राम्रो साथबाट आजसम्म आइपुग्दा सात रोपनी जग्गामा ५० वटा टनेल बनाई तरकारी खेति गरी जिल्लामा राम्रो तरकारी कृषकका रुपमा आफूलाई चिनाउन पाउँदा अति नै खुशी भएको छु ।” आफूसँग जाँगर र सीप छ भने खाडी मुलुक जान नपर्ने उनको भनाइ छ । काम गर्ने  मन र सोच भए यहीँ नै स्वर्ग छ ।

अहिले उनको बारीभरि मौसमअनुसारको तरकारीहरु फलिरहेका छन् । उनले यो वर्ष मात्रै खर्च कटाएर रु १३ लाख आम्दानी गरेको बताउछन् । तरकारी कृषक बनेर तरकारीमा राम्रो गरेकाले कृषि मन्त्रालयअन्र्तगत रु आठ लाख ३४ हजार अनुदान पाएको उनले बताए ।

सोही ठाउँका सेल्कर तामाङले पनि विदेशी जीवन त्यागेर आफ्नै ठाउँमै बसेर केही गर्ने सोचले ११ वर्ष विदेशमा बिताएर गाउँ फर्केका छन् । गाउँ फर्केर तामाङले पनि तरकारी खेतिगरेका छन् । तामाङका अनुसार उनी मलेसियामा आफनो ११ वर्ष बिताउँदा खान पनि नपुग्ने कमाई भएको र निराश हुँदै स्वदेश फर्केको उनी बताउछन् । 

उनले भने, “मैले आफनो बल, जोस, जाँगर र मिहिनेतहरु ११ वर्ष अर्काको देशमा बिताए । टाउकोभरि ऋणको थुप्रो बोकेर नेपाल आएँ । साथीभाइ र परिवारको सल्लाहसुझावले म तरकारी कृषक बने । शुरुमा मैले  पनि सात रोपनी जग्गामा तरकारी खेति गरे । पछि तरकारीबाट राम्रो फाइदा भएपछि पाँच रोपनी जग्गा किनेर १३ रोपनीमा १७ लाख लगानी गरी तरकारी खेति गरे । तरकारी खेतीबाट राम्रो आम्दानी हुन्छ । मैले यो वर्ष रु सात लाख आम्दानी गरेको छु ।”

तामाङले तरकारी खेतिमा आफूलाई राम्रो कृषकका रुपमा जिल्लामा चिनाएको र असर तरकारी व्यवसाय बनेकै कारण कृषि मन्त्रालयबाट रु आठ लाख अनुदानसमेत पाएको उनले जानकारी दिए । नुवाकोटका वरिष्ठ कृषि अधिकृत तरकारी क्षेत्र कमलराज गैरेका अनुसार नुवाकोटमा अहिले तरकारी खेतीमा कृषकहरुको आकर्षण बढिरहेको छ । करोडौँभन्दा माथिको लगानीमा कृषकहरुले तरकारी खेतिमा लगानी गरेको उनले रासस संग बताए । 

प्रतिकृया दिनुहोस