काठमाडौंमा ‘सुइरो’ आतंक : यस्ता छन् अनौठा घटना
काठमाडौं । काठमाडौं उपत्यकामा ‘सुइरो आतंक’ मच्चाएको भन्दै मंगलबार प्रहरीले एकजनालाई पक्रियो । उनी एक गायकका छोरा रहेछन् । तर, वयान लिन थालेपछि र पृष्ठभूमि बुझेपछि प्रहरी निरास भयो । किनभने सुइरो आतंक मच्चाउने उनी थिएनन् ।
उपत्यकामा सातजना महिलालाई अचानक सुइरोजस्तै वस्तुले घोपेर भाग्ने को हो ? प्रहरीको निष्कर्ष छ– त्यसरी आतंक फैलाउने एक जोडि युवा हुन् । उनीहरुले सुइरोले घोपेर गरेको आक्रमणका सिसी टिभी फुटेज हेरपछि प्रहरीको निष्कर्ष छ– यो जोडिमध्ये एकजनाले ६ ठाउँमा सुइरो आक्रमण गरेको छ । एक ठाउँमा मात्र दुईजना भएर आक्रमण गरेका छन् ।
सर्वसाधारणमा ‘सिरिन्ज आक्रमण’ नामले चर्चित यो घटनामा सिरिन्ज प्रयोग नभएको दाबी गरेका छन् डा. राजेश शाहले । शुक्रराज ट्रपिकल अस्पताल टेकुमा कार्यरत डा. राजेशले यो प्रकरणका पीडितहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।
महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापा भन्छन्– ‘पीडितहरुलाई लागेको घाउमा सिरिन्जको भन्दा ठूलो डोब देखिएको छ । सिरिन्ज नै हो भन्ने यकिन छैन ।’
त्यसैले प्रहरीले यो अनौठो अपराधलाई ‘सिरिन्ज आक्रमण’ नभनेर ‘सुइरो आक्रमण’ भन्ने गरेको छ ।
सुइरो आक्रमणकारीका विशेषता
– महिलालाई मात्र आक्रमण गर्ने
– साँझपख आक्रमण गर्ने
– काठमाडौं सहरको निश्चित ठाउँमा मात्र आक्रमण गर्ने
– अचानक आक्रमण गरेर तत्काल भाग्ने
– धारिलो र चुच्चो वस्तुले घोच्ने
– मोटरसाइकलमा बसेर आक्रमण गर्ने
सुइरो आक्रमणको पहिलो घटना ०७५ चैतको अन्तिम साता भएको थियो । त्यसपछि ०७६ वैशाख १५, वैशाख २९, जेठ १८, जेठ २०, जेठ ३० र जेठ ३२ गते भएको थियो ।
अहिलेसम्म ‘सुइरो आक्रमण’बाट पीडित महिला मात्र छन् । महानगरीय अपराध महाशाखाका अनुसार अहिलेसम्म सात जना माथि सुइरो आक्रमण भएको छ ।
अपराध महाशाखा र काठमाडौं प्रहरीका लागि ‘सुइरो आक्रमण’ प्रकरण टाउको दुखाइको विषय बनेको छ । प्रहरीले यो विषयमा गहिरो अनुसन्धान गरिरहेको छ तर आक्रमणकारीको पहिचान खुल्न सकेको छैन् ।
प्रहरीसँग अपराधीका बारे कुनै सुराक छैन । पीडितहरु कसैले पनि आक्रमणकारीको हुलिया बताउन सकेका छैनन् । तर, प्रहरीसँग सडकमा राखिएको सिसिटिभी फुटेजमा कैद भएको अपराधीको हर्कत भने छ । तर, त्यसबाट न अपराधीको हुलिया पहिचान हुन्छ, न बाइकको नम्बर नै चिनिन्छ ।
भिडियोमा हेर्दा
घटना नम्बर १ :-
प्रहरीको साथमा रहेको सिसी टिभी फुटेजमा डल्लु स्थित भित्री सडकमा एक किशोरी साँझपख कुकुर डुलाउँदै हिँडिरहेकी हुन्छिन् ।
एकसुरमा कुकुर डो¥याएर हिँडिरहेकी उनलाई विपरित दिशाबाट मोटरसाइकलमा आएका एक युवाले केही तीखो बस्तुले दाहिने पाखुरामा घोप्छन् । उनी तर्सन्छिन् । ती युवाले देब्रे हातले मोटरसाइकलको ह्याण्डिल समातेर दायाँ हातले युवतीको नांगो पाखुरामा घोपेको सिसीटिभी फुटेजमा देखिन्छ ।
आत्तिएकी ती किशोरीले आक्रमणकारीको मोटरसाइकल नम्बर टिप्न भ्याउँदिनन् । सिसीटिभीमा पनि मोटरसाइकलको नम्बर चिनिँदैन ।
घटना नम्बर २ :-
०७५ चैतको अन्तिम दिन थियो, पकनाजोल स्थित भित्री सड्कमा उभिइरहेकी एक युवतीको हिपमा एक अपरिचित युवाले तीखो बस्तुले घोप्छन् । युवतीले जिन्स पाइन्ट लगाएकी हुन्छिन्, कपडा छेडेर उनको शरीरमा तीखो बस्तुले घाउ लगाउँछ ।
०७६ जेठ २० मा तिनै युवतीलाई सोही ठाउँमा दोस्रोपटक तीखो बस्तुले घोपेर भागे । तर, त्यसरी तीखो बस्तुले आक्रमण गर्नेको हुलिया र बाइक नम्बर पीडीत युवतीले खुट्याउन सकिनन् ।
एकैजनामाथि दोस्रो पटक आक्रमण हुनुलाई प्रहरीले अनौठो मानेको छ । उनीमाथिको आक्रमणलाई ध्यानमा राखेर प्रहरीले अपराधी पत्ता लगाउने सूत्र खोजिरहेको छ ।
उनीबाहेक अरुमाथि दोहोराएर आक्रमण भएको छैन ।
चैतमै पहिलो आक्रमण
सुइरो आक्रमणको पहिलो घटना ०७५ चैतको अन्तिम साता भएको थियो । आक्रमणबाट पीडित महिलाले महानगरीय प्रहरी वृत स्वयम्भुलाई घटनाबारे जानकारी दिइन् । तर, स्वयम्भु प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएन । त्यसबेलै स्वयम्भु प्रहरी हर्कतमा आएको थियो भने अभियुक्तको मनोबल बढ्ने थिएन । त्यसबेलै आक्रमणकारीको पहिचान हुन सम्भव थियो ।
‘सिरिन्ज आक्रमण’को सिकार एक गर्भवतीसमेत भएकी छिन् । साँझपख टहलिन घर नजिकै सडकमा हिँडिरहेकी उनलाई कालो ज्याकेट लगाएर बाइकमा आएका पुरुषले घोपेर भागेका थिए ।
सुइरो आक्रमणबाट एक प्रहरी अधिकारीकी पत्नी समेत पीडित भएकी छिन् ।
दिदिबहिनी नै पीडित
आक्रमणकारी उच्च मनोबलका अपराधी हुन् भन्ने पकनाजोलमा भएको आक्रमणबाट झल्कन्छ । त्यहाँ दिदीबहिनी हिँडिरहेका थिए । बहिनी केही पछाडि र दिदी केही अगाडि हिँडिरहेका थिए । आक्रमणकारी बाइकमा आउँछ, बहिनीलाई तीखो बस्तुले घोपेर अगाडि बढ्छ । बहिनी चिच्याउँछिन् । दिदी आत्तिँदै बहिनी भए ठाउँ पुग्छिन् । अलि पर पुगेको आक्रमणकारीले बाइक फर्काएर ल्याउँछ । दिदीलाई पनि तीखो बस्तुले घोपेर भाग्छ ।
यो घटना यति चाँडो भयो कि ती दिदीबहिनीले बाइकको नम्बर टिप्नसमेत भ्याएनन् ।
गत २३ जेठमा एउटा कारमा श्रीमान–श्रीमती डल्लु पुग्छन् । श्रीमान कार पार्किङ गर्न जान्छन्, श्रीमती पार्किङ बाहिर उभिएकी हुन्छिन् । एक युवा ती महिलालाई तीखो वस्तुले घोपेर भाग्छ ।
तीन बाइक
सिरिन्ज आक्रमणकारी धेरैजसो एउटा बाइकमा एकजना मात्रै हिँड्ने गरेको प्रहरीको ठहर छ ।
‘एकपटक मात्र दुईजना हिँडेको खुलेको छ’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, ‘प्रायजसो आक्रमणमा एकजना मात्रै संलग्न भएको सिसिटिभी फुटेजमा देखिन्छ ।’
आक्रमणमा तीनवटा बाइक प्रयोग भएको र दुईजना युवाहरु यसमा संलग्न रहेको प्रहरी स्रोतको भनाई छ ।
‘सिरिन्ज आक्रमण’मा २५–२६ बर्षका युवा संलग्न भएको आशंका महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको छ ।
त्यो ‘छुरी आक्रमण’
पञ्चायतकालको अन्तिम दिनतिर ०४६ सालमा काठमाडौं उपत्यकामा छुरी आतंक फैलिएको थियो । साँझपख अँध्यारोमा ठाउँठाउँमा वटुवामाथि छुरी आक्रमण भएको हल्ला फैलियो । त्यसबेलाको स्मरण गर्दै वरिष्ठ पत्रकार पद्मसिंह कार्की भन्छन्– ‘त्यसबेला अहिलेजस्तो इन्टरनेट आधारित सामाजिक सञ्जाल थिएन । हल्ला फैलन सजिलो हुँदैनथ्यो । तैपनि छुरी आक्रमणको हल्ला यसरी फैलियो कि साँझपख नै काठमाडौं सुनसान हुन थालेको थियो ।’
छुरी आक्रमण भएको पुष्टि चाहिँ भएन । सिर्फ हल्लाका भरमा आतंक फैलियो । कतिपयले त्यसबेला पञ्चायती व्यवस्था विरोधीहरुले फैलाएको हल्ला पनि भने ।
अहिले त्यसबेलाकै शैलीमा ‘सिरिन्ज आक्रमण’को हल्ला फैलिएको छ । त्यसबेला बिना उद्देश्य आक्रमण गरिन्छ भन्दै हल्ला फैलिएको थियो । अहिलेको आक्रमण पनि ठोस कुनै कारणबिना भएको आशंका गरिएको छ । ‘आक्रमणमा यदि कुनै कारण छ भने अपराधीको मानसिक कारण हुनसक्छ, यो कुनै उद्देश्य राखेर गरिएको आक्रमण जस्तो देखिँदैन’– एक प्रहरी अधिकारीले दाबी गरे ।
तर, गत ११ दिनयता सुइरो आक्रमण भएको छैन ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस