• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

शव उठाउन सुरु : दुर्घटनाकाे कारण माैसमकाे खराबी

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव फेला परेको प्रहरीले जनाएको छ । नेपाली सेनाले पर्यटन मन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी निधन भएका सात जनाको शव उठाउन शुरु गरेको छ । 

काठमाडौँबाट गएको सेनाको हेलिकप्टर घटनास्थलमा अवतरण गर्नसक्ने अवस्था नभए पनि सेनाको हेलिकप्टरले डोरीमा अड्काएर (पोको पारिएका) दुई वटा शव ताप्लेजुङस्थित सुकेटार विमानस्थलसम्म ल्याई अन्य शव लिन घटनास्थलतर्फ गएको छ । सबै शव सुकेटार ल्याइएपछि सो हेलिकप्टर काठमाडौँ फर्कनेछ । 

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर काठमाडौँ फर्किने क्रममा ताप्लेजुङको दारेभिरमा दुर्घटनामा परेको थियो । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाका अनुसार फुङलिङ नगरपालिका–१० स्थित सिस्नेमा शवहरु फेला परेको हो । “हेलिकप्टर भिरमा ठोकिएको रहेछ”, प्रहरी नायब उपरीक्षक भण्डारीले रासससँगको फोन सम्पर्कमा भने, “छरपस्ट अवस्थामा सात वटा शव डढेको अवस्थामा प्रहरी टोलीले फेला पारेको छ ।” 

बिहान काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको उच्च तहको टोली गएको थियो । चुहानडाँडामा कार्यक्रम सकेर काठमाडौँ फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो । ताप्लेजुङ सदरमुकामबाट तीन घण्टाको पैदल दूरीमा रहेको भिरमा हेलिकप्टर दुर्घटनामा परेको हो । 

दुर्घटनाको खबरसँगै स्तब्ध भएका कास्कीका बासिन्दा पोखरा महानगरपालिका– ५ मालेपाटनस्थित अधिकारीको निवासमा पुगेका छन् । शोकाकूल अवस्थामा रहेका अधिकारीका आमाबुबा एवं परिवारजनलाई सर्वसाधारण, विभिन्न दलका नेता तथा कार्यकर्ताले सान्त्वना दिएका थिए । दुर्घटनाको खबरसँगै अधिकारीका बुबा इन्द्रप्रसाद र आमा लक्ष्मीदेवीलाई यति एयरको विमानबाट काठमाडौँ ल्याइएकाे छ । 

एयर डाइनेष्टीको साे हेलिकप्टर ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना हुनाको कारण मौसम खराबी भएको देखिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले हेलिकप्टर दुर्घटना हुनाको प्रारम्भिक कारण मौसमको खराबी भएको जानकारी दिए । 

अपराह्न करीब १ः३० बजे दुर्घटना भएको बताइएकाे छ। हेलिकप्टर दुर्घटनामा परी मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेकाे निधन भएकाे छ ।

प्रतिकृया दिनुहोस