भारत–पाकिस्तानको तनावमा नेपाल बोल्यो
काठमाडौं । युद्धको सम्मुख पुगेका भारत र पाकिस्तानलाई संयमित हुन नेपालले आग्रह गरेको छ । सार्कको अध्यक्षको हैसियतले नेपालले त्यस्तो आग्रह गरेको हो ।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरेर भारत र पाकिस्तानलाई संयमित हुन आग्रह गरेको हो ।
नेपाल सरकारले भारत र पाकिस्तान दुवैसँग संयमता अपनाउन र यस क्षेत्रको शान्ति र सुरक्षामा खतरा पुराउने कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको छ ।
विज्ञप्तिमा भारतको कश्मिरमा भएको आतंकवादी हमलाको नेपालले तत्कालै विरोध गरेको पनि स्मरण गराइएको छ ।
भारतको कश्मिर राज्यको पुलुवामा १४ फेव्रवरीमा भएको आतंकवादी आक्रमणमा ४० भन्दा धेरै भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसपछि दुई देशबीच सामरिक मुठभेड बढ्दै गएको छ ।
नेपालले दुवै पक्षसँग वार्ता तथा शान्तिपूर्ण तरिकाबाट तनाव घटाउन, परिस्थितिलाई सामान्य बनाउन र वार्ताबाट समाधान खोज्न आग्रह गरेको हो ।
कश्मिरमा भएको आतंकवादी हमलाको १२ दिनपछि मंगलबार भारतीय वायुसेनाका १२ वटा विमानले ‘लाइन अफ कन्ट्रोल’ पार गरेर एक सय २० किलोमिटरभित्र पाकिस्तानमा वम खसाएको थियो । बुधबार पास्तिानले भारतीय वायुसेनाका दुई विमान खसाएको दावी गरेको छ ।


प्रतिकृया दिनुहोस