देशले गुमायाे यी असल र प्रतिभाशाली मानिस
काठमाडौं । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा मुलुकले लोकप्रिय र क्षमतावान प्रतिभाहरु गुमाएको छ । मन्त्री रविन्द्र अधिकारीलाई पछिल्लो कालमा विवादमा तान्न खोजिए पनि उनी क्षमतावान र निष्कलंक मानिन्थे । लेखक समेत रहेका रविन्द्र केही गरेर देखाउँ भन्ने राजनीतिकर्मी थिए ।
‘मन्त्रिमण्डलमा सबैभन्दा धेरै खट्ने र आफ्नो विषय क्षेत्रको ज्ञान राख्ने रविन्द्रजी नै हुनुहुन्थ्यो’ मन्त्रिमण्डलका सदस्यहरु माझ दुःखी हुँदै प्रधामन्त्री केपी शर्मा ओलीले भने ।
दुर्घटनाको समाचार पाउँदा वालुवाटारमा प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा र नेकपाका महासचिव विष्णु पौडेल सँगै थिए । उनीहरु पार्टी र सरकारबारे छलफल गर्न भेला भएका थिए तर अप्रिय समाचार पाएर स्तब्ध भए ।
सत्य स्वीकार्नैपर्छ, रविन्द्र अधिकारी अब हामी माझ रहेनन् ।
दुर्घटनामा रविन्द्रको निधन भएको पुष्टि हुनासाथ प्रधानमन्त्री ओलीले रविन्द्रको आमाबुवालाई पोखराबाट ल्याउने विशेष व्यवस्था गर्न निर्देशन दिएका थिए । प्रधामन्त्री निकट एक नेताले दिएको जानकारी अनुसार दुर्घटनामा परेकाहरुको परिवारका निकट सदस्यहरु को कहाँ छन् तत्काल उनीहरुलाई सम्पर्क राखेर आवश्यक समन्वय गर्न ओलीले निर्देशन दिएका थिए ।
स्वर्गीय अधिकारी लोकप्रिय व्यक्तित्व थिए । पछिल्लो कालमा उनी नेपालको उड्डयन क्षेत्र सुधारका लागि दिलोज्यान दिएर लागिपरेका थिए ।
त्यसैगरी निधन भएका आङछिरिङ शेर्पा मूलत पर्यटन व्यवसायी थिए । नयाँ नयाँ आइडिया ल्याउने, नयाँनयाँ परियोजना चलाउने भनी उनी चर्चित थिए । उड्डयन क्षेत्रमा पनि हात हालेका आङछिरिङ रविन्द्रसँग पहिलेदेखि नै निकट थिए ।
प्रतिभाशाली मानिसहरुको अल्पायुमै दुर्घटनामा निधन हुँदा समाज स्तव्ध हुन्छ । दुर्घटनामा परी निधन भएका युवराज दाहाल विशिष्ट प्रतिभाका धनी थिए । उनको घुलमिल हुने स्वभावको कर्मचारीहरु मात्र नभएर सेवाग्राहीहरु पनि चर्चा गर्छन् । प्रधानमन्त्री कार्यालयमा रहेका दाहाल विगतमा स्थानीय निकायमा थिए ।
इलाम र दमक नगरपालिकाको कार्यकारी अधिकृत हुँदा उनले गरेका काम सबैले सम्झन्छन् । उनी नै हुन् इलाम नगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने । पछि इलामको सो कामको अनुकरण अन्य केही नगरपालिकाहरुले पनि गरेका थिए ।
नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक बीरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभया, हेलिकोप्टर क्याप्टेन विजय अधिकारी र सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनले मुलुकलाई अपूरणीय क्षति भएको छ ।


प्रतिकृया दिनुहोस