मनसुनले धानेको नेपालको कृषि प्रणाली
लुना थापा-
काठमाडौं । दक्षिण एसिया अर्थात् भारतीय उपमहाद्वीपको जीवन, संस्कृति र अर्थतन्त्रको आधार हो, मनसुन । करिब एक सय १० दिन चल्ने मनसुनले यो उपमहाद्वीपलाई प्राकृतिक रूपमा विश्वमै अद्वितीय भूक्षेत्र बनाइदिन्छ ।
जब मनसुन सुरु हुन्छ, यसले पानी मात्रै लिएर आउँदैन । कृषकको मुहारमा खुसी पनि लिएर आउँछ । हरेक वर्ष मनसुन सुरु हुँदा नेपालमा उल्लास छाउँछ । मनसुन सुरु हुनुअघि नेपालले दुई–तीन प्रकारको मौसमी अवस्था भोग्छ । यो अवधिमा देशले पूरै सुक्खा अवस्थाको सामना गर्नुपर्छ । पश्चिमी वायुको प्रभावले पानी परिहाल्यो भने पनि लगत्तै सुखा भइहाल्छ । धूलो उड्छ । मौसम उजाड हुन्छ । लगत्तै मनसुन सुरु हुन्छ र प्रकृतिको विलक्षण रूप प्रकट हुन्छ ।
मनसुन सुरु भएपछि नेपालको कृषि प्रणाली चलायमान हुन्छ । नेपालको अर्थतन्त्रको आधार नै मनसुन आधारित कृषि प्रणाली हो । नेपालको कृषि प्रणाली मनसुनमा निर्भर रहँदै आएको छ । गत वर्षको आँकडा हेर्ने हो भने कुुल गार्हस्थ उत्पादनको करिब ३० प्रतिशत हिस्सा कृषिले ओगटेको छ ।
विगतमा गाउँ र किसानले मात्र मनसुनको प्रतीक्षा गर्थे, शहरलाई मनसुनको खासै वास्ता हुँदैनथ्यो । तर, युग फेरिएको छ । शहरी उकुसमुकुस र प्रदूषणबाट दिक्क भएका मानिसका लागि पनि मनसुनले उल्लास बोकेर आउँछ ।
मनसुन सुरु भएपछि नदीनाला र खोल्साखोल्सी अनि वनजंगल पूर्ण हराभरा र रमणीय देखिन्छ । पूरै भारतीय उपमहाद्वीपको जीवन, संस्कृति, चाडपर्व र रीतिरिवाजमा मनसुनको गहिरो छाप छ, प्रभाव छ ।
प्रिमनसुन कृषकका लागि आशाको किरण हो । जब प्रिमनसुन सुरु हुन्छ, कृषकहरूले आफ्नो भाग्य र भविष्य कल्पना गर्न थाल्छन् । बिहानीले दिनको संकेत गर्छ भनेझैं प्रिमनसुनले मनसुन कस्तो हुन्छ भन्ने जानकारी दिने भएकाले यो अवस्था कृषकहरूका लागि महत्त्तवपूर्ण हुने गर्छ ।
दक्षिण पूूर्वी एसियाको कृषि पूर्णतः मनसुनमा आश्रित हुन्छ । मुुसलधारे पानी नेपालका लागि वरदान हो । खेतीपातीका लागि पानी एकदम आवश्यक पर्छ । नेपालमा सिँचाइको व्यवस्था पर्याप्त र अनुकुल नहुँदा कृषि मनसुनमा निर्भर हुनुपर्ने बाध्यता छ ।
तर मनसुन ढिलो हुन गयो अथवा ढाँचा परिवर्तन भयो भने कृषि, विशेषतः धान खेतीमा ठूूलो असर पुग्छ । मनसुन अवधिमा पर्ने पानीको मात्राले पनि नेपालको कृषि क्षेत्र प्रभावित हुन्छ । आकाशे पानीको भरमा हुने खेतीका लागि कति पानी पर्यो र कहिले पर्यो भन्ने कुराले महत्त्वपूर्ण स्थान राख्छ । कम पानी भयो भने पनि खेती राम्रो हुँदैन र बढी पानी पनि खेतीका लागि हानिकारक हुन सक्छ ।
यदि मनसुुन समयमै भित्रियो भने यसले खेतीपाती लगायत अन्य काममा पनि सहयोग पुुर्याउँछ । तर ढिलो अथवा चाँडो मनसुन भित्रिएमा कि त यसले खडेरी निम्त्याउँछ, कि त बाढी आउने सम्भावना हुन्छ । जब मनसुनको ढाँचा परिवर्तन हुन्छ, यसले खाद्य उत्पादनमा त प्रभाव पार्छ नै । कतिपय अवस्थामा विपत्तिसमेत निम्त्याउँछ ।
नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपणमा पाँच प्रतिशत कृषि क्षेत्रको योगदान रहने अनुमान छ ।
किन ढिलो आयो यस वर्ष मनसुन ?
यस वर्ष नेपालमा मनसुन भित्रिसकेको छ । सधैंभन्दा एक साता ढिलो मनसुन भित्रिए पनि सक्रिय हुन भने समय लाग्ने मौसमविद्को भनाइ छ ।
मनसुन सुरु हुनुअघि प्रिमनसुनले नेपालमा वर्षा गराउँछ । यो वर्षको प्रि–मनसुुनमा धेरै नै पानी पर्यो, यसकारण मनसुन ढिलो भएको र मनसुन अवधिमा भने कम पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान माहाशाखाको अनुुमान छ ।
यसपटक मनसुन ढिलो हुनुको कारण हो अरब सागरमा बनेको आँधी । सो आँधीलाई मौसमविद्हरूले ‘वायु चक्रवात’ नाम दिएका छन् ।
‘वायु’ अप्रत्यासित रूपमा भारतको तटीय क्षेत्रतर्फ बढेकाले नेपालमा पनि मौसम प्रभावित भएको हो ।
यस वर्ष मनसुुनमा पूर्वी पहाड र सुुदूूरपुश्चिममा औसतभन्दा थोरै पानी पर्न सक्ने आँकलन छ । मौसम प्रकियामा देखिने ‘एलनिनो’ले सतहको पानी औसतभन्दा तातो हुन्छ । यसले दक्षिण एसियाको मनसुनलाई कमजोर बनाउँछ ।
अहिले मौसमी प्रणाली बंगालको खाडी आसपासमा रोकिएपछि नेपालतिर आउने मनसुनी प्रणाली अवरुद्ध भएको छ । सोही कारण मनसुन सुरु भइसक्दा पनि नेपालमा यथेष्ट पानी पर्न सकेको छैन ।
नेपालमा मनसुन कसरी विकसित हुन्छ ?
मनसुन शब्द अरबी भाषाको ‘मौसम’ शब्दबाट लिइएको हो । अरबी भाषामा मौसमको अर्थ हुन्छ– पानी पर्ने समय ।
मनसुुन हावाको एक प्रणाली हो । यो प्रणाली हरेक वर्ष जुन महिनाबाट सक्रिय हुन्छ । हिन्द महासागरमा उच्च तापक्रमका कारण समुद्रको पानी बाफ बन्छ । त्यो बाफ हावाले यस क्षेत्रमा ल्याउँछ र वर्षा गराउँछ । ऋतुहरूको मौसमी दिशा परिवर्तन हुँदा, मनसुनी हावा प्रवाह हुन्छ । यसले नै वर्षा गराउँछ ।
तातो र ओसिलो हावाले दक्षिण पश्चिम, हिन्द महासागरबाट भारत, म्यानमार, बंगलादेश, भुटान, बंगलादेश र नेपालमा पानी पार्छ ।
बंगालको खाडी हुँदै पूर्वी क्षेत्रबाट आउने जलवाष्पयुक्त बादल पूर्वी भागबाट नेपालमा प्रवेश गर्छ र वर्षा गराउँछ । सो बादल विस्तारै पश्चिमतर्फ विस्तार हुन्छ ।
नेपालमा साधारणतया जुनदेखि सेप्टेम्बरसम्मको चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि मानिन्छ ।
नेपालमा एक वर्षमा औसत एक हजार पाँच सयदेखि दुई हजार पाँच सय मिलिलिटर पानी पर्छ । यसमध्ये ८० प्रतिशत वर्षा मनसुनले गराउँछ ।


प्रतिकृया दिनुहोस